लकडाउनमा भारतबाट आए २ लाख ६२ हजार नेपाली

maitrinews

काठमाडौं । सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट ठूलो संख्यामा नेपाली फर्किएका छन्।

नेपालमा सबैभन्दा धेरै भारतबाटै फर्किएकामा कोरोना संक्रमण देखिएको छ। नेपालमा कोरोनाको बढी जोखिम भारतबाटै आउने नागरिकका कारण रहेको सरकारी अधिकारीहरुको आकलन छ।

तर लकडाउनकै बीचमा भारतबाट २ लाख ६२ हजार ९ सय ६ जना नेपाली घर फर्केका छन्। कोरोना जोखिम व्यवस्थापन समिति सीसीएमसी का अनुसार लकडाउन सुरु भएपछि वैशाखसम्ममा ७ हजार ४ सय ७८ जना नेपाल प्रवेश गरेका थिए। यो संख्या असार ७ गतेसम्ममा २ लाख ५५ हजार ४ सय २८ पुगेको छ।

जेठ र असारमा दैनिक कम्तीमा १३ सयदेखि १५ हजारसम्म फर्किएका छन्। आइतबार सबैभन्दा कम १३ सय ४६ जना फर्किएका छन्। जेठ १५ गते सबैभन्दा धेरै १५ हजार १ सय ४४ जना फर्किएका थिए।

यसरी फर्किनेमा प्रायः चार वटा प्रदेशका नागरिक रहेको पाइएको छ। सबैभन्दा धेरै सूदुरपश्चिम प्रदेशबाट र कम प्रदेश १ बाट आएका छन्। प्रदेश १ बाट जेठयता १२ हजार १ सय ५५ जना नेपाल प्रवेश गरेका छन्। तर सोही समयमा सूदुरपश्चिम प्रदेशका नाकाबाट १ लाख १९ हजार ९ सय जना नेपाल प्रवेश गरेको सरकारको तथ्यांक छ।

यस्तै प्रदेश २ बाट ३० हजार ७ सय ८९ जना र प्रदेश ५ बाट ९२ हजार ५ सय ८४ जना नेपाल प्रवेश गरेका छन्।

सरकारले जेठ एक गतेबाट नेपाल प्रवेश गर्न दिन थालेको हो। त्यसअघि विभिन्न माध्यमबाट जम्मा ७ हजार ४ सय ७८ जना मात्रै नेपाल प्रवेश गरेको पाइएको छ।