एमसीसी सम्झौतामा अमेरिकाले फेरि चासो देखायो

maitrinews

 

काठमाडौँ । विकास र सहयोगसम्बन्धी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सँगको सम्झौता अनुमोदनमा ढिलाइ र यही कारण राजनीतिक असमझदारी बढेका बेला अमेरिकाले एमसीसी सम्झौतामा नेपालको स्थितिबारे सरोकार राखेको छ ।

अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोले एमसीसी कार्यान्वयनमा नेपालमा भइरहेको ढिलाइबारे चासो राख्नुभएको हो ।

विदेशमन्त्री पोम्पियो र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच भएको फोनवार्तामा एमसीसी सम्झौताबारे अहिलेको स्थिति र भविष्यबारे कुराकानी भएको थियो । ‘विदेशमन्त्री पोम्पियोले एमसीसी सम्झौताको सन्दर्भमा अब के हुन्छ भनेर चासो राख्नुभएको थियो, मैले सरकारको अहिलेको पोजिसनबारे स्पष्ट पारें,’ परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, ‘सरकारले एमसीसी सम्झौताको प्रस्ताव संसद्मा पेस गरिसकेको र अहिले छलफलमै रहेको अवगत गराएँ ।’

मन्त्री ज्ञवालीले एमसीसी मामिलामा नियमित परामर्शमा रहे पनि यसलाई सकारात्मक ढंगले टुंग्याउन प्रयत्नशील रहेको जवाफ आफूले दिएको बताउनुभयो ।