चीनसित सीमा विवाद छैन : परराष्ट्र मन्त्रालय

maitrinews

काठमाडौं । सरकारले चीनसँग कुनै प्रकारको सीमा विवाद नरहेको स्पष्ट बताएको छ। परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तीमा नेपाल र चीनबीच सीमा विभिन्न स्थानमा विवाद रहेको भन्ने समाचारलाई निराधार बताउँदै चीनसँग नेपालको सीमा विवाद नरहेको बताएको हो।

मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको रिपोर्टको आधारमा दुई देशबीच सीमा विवाद रहेको समाचार प्रकाशन भएको भन्दै कृषि मन्त्रालयले त्यस्तो प्रतिवेदन नै अस्तित्वमा नरहेको बताइसकेको जनाएको छ।

यस्तै, कृषि मन्त्रालयले सीमासम्बन्धी विषय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने समेत उल्लेख गरेको परराष्ट्रले जनाएको छ।

समाचारहरुमा ‘हराएको’ भनिएको ३७ र ३८ नम्बरको सीमा स्तम्भ अस्तित्वमै नरहेको मन्त्रालयले बताएको छ।

‘प्राकृतिक कारणले दुई देशबीचको सहमतिमा ती सीमा स्तम्भहरु राखिएको थिएन,’ मन्त्रालयलको विज्ञप्तीमा उल्लेख छ।

परराष्ट्र मन्त्रालयले नेपाल र चीनबीचको सीमा सन् १९६१ अक्टोबर ५ मा भएको सीमा सम्झौताले निर्धारण गरे बमोजिम नै रहेको जनाएको छ। यदि सीमा सम्बन्धी कुनै समस्या देखिए दुवै देशले आपसी सम्झदारीमा समाधान गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ।

केहीदिन अघि कृषि मन्त्रालयको रिपोर्टको आधारमा केही संचारमाध्यममा चीनले नेपाली भूमि कब्जा गरेको समाचार प्रकाशन भएको थियो। मन्त्रालयले दुई देशबीचको सम्बन्धमा असर पर्ने सक्ने हुँदा यस्ता विषयहरुको बारेमा पहिला सत्यतथ्य बुझेर मात्रै प्रकाशन गर्न आग्रह गरेको छ।