मोदी र सीलाई अवसर : आर शर्मा

maitrinews

विश्वका दुई सर्वाधिक ठूलो जनसङ्ख्या तथा आणविक शक्ति सम्पन्न छिमेकी भारत र चीनबीचको पछिल्लो हिंसात्मक सैन्य भिडन्तले राम्रो सन्देश दिएन । सीमा विवादको समाधान सैन्य भिडन्त होइन, सार्थक र सौहार्द कूटनीतिक वार्ता, संवाद र सहकार्य नै हो । एक्काइसौँ शताब्दीलाई एसियाली शताब्दी बनाउने महाअभियान सफल बनाउन भारत र चीनले फराकिलो छाती बनाई सबै छिमेकीसँगका सीमा विवादको वैज्ञानिक समाधान गरी असल छिमेकीको परिचय दिनुपर्छ । यो अवसर दुवैले गुमाउनु हुँदैन ।
यतिखेर सत्तामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्टपति सी चिनफिङ सर्वाधिक शक्तिशाली हुनुहुन्छ । प्रधानमन्त्री मोदीसँग पूर्ण बहुमतको सरकार छ । राष्ट्रपति सीले माओपछिकै शक्तिशाली नेताको हैसियतमा सरकारको नेतृत्व गर्नुभएको छ । दुवै नेताले हिम्मत र साहस गर्ने हो भने छिमेकीहरुसितका जुुनसुकै विवाद पनि समाधान गर्न सकिन्छ । यो ऐतिहासिक अवसरमा सबैखाले विवाद समाधान गरी विश्वलाई नै नयाँ सन्देश दिन उहाँहरु चुक्नु हुन्न । यदि चुक्नु भयो भने दुवै मुलुकका लागि ठूलो असफलता हात लाग्ने छ ।
मूलतः ठूला मुलुकले सही काम गरे भने साना छिमेकी मुलुकहरुले त्यसको अनुकरण गर्ने हो । ठूला मुलुक नै भिडन्तमा उत्रे भने त्यसको असर समग्र क्षेत्रमा पर्छ । भय,सन्त्रास, अशान्ति र अविश्वासले सुन्दर भविष्य सम्भव छैन । आन्तरिक, क्षेत्रीय र विश्व शान्तिका लागि युद्ध होइन सहकार्य,मेलमिलाप र एकताको विकल्प छैन ।
ठूलो आशा र भरोसा गरिएका एसियाका दुई ठूला मुलुक भारत चीनबीच सीमाक्षेत्रमा अविश्वास र द्वन्द्वको लामो इतिहास छ । पछिल्लो पटक लद्दाकमा सैन्य भिडन्तपछि भारत र चीनबीचको सम्बन्ध फेरि चिसिएको छ । सैन्य भिडन्तका लागि एकले अर्कामाथि दोषारोपण गरेका छन् । थप भिडन्त हुन नदिन उच्च सैन्य नेतृत्व र विदेशमन्त्रीबीच टेलिफोन संवाद भएको छ । तैपनि अविश्वास र आक्रोश साम्य भएको छैन ।
दुई देशका सेनाबीच लद्दाकमा भिडन्त हुँदा भारतका एक कर्णेलसहित २० सैनिकको मृत्यु भएको भोलिपल्ट भारतका विदेशमन्त्री एस जयशङ्कर र चिनियाँ समकक्षी वाङ यीबीच टेलिफोन संवाद भयो । सो कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री वाङले भारतीय सैनिक सीमा नाघेर चीनतर्फ आई भिडन्तका लागि उक्साएको दाबी गर्दै ती सैनिकलाई कारवाही गर्न माग गर्नुभयो । उहाँले सीमा विवादलाई न्यायोचितरुपमा सुल्झाउन र जतिसक्दो छिटो तनाव कम गर्नुपर्नेमा जोड दिनुभयो ।
भारतीय विदेशमन्त्री जयशङ्करले लद्दाखको गलवान उपत्यकास्थित वास्तविक नियन्त्रण रेखा (एलएसी) मा तनाव कम गर्नेबारे दुई पक्षका सैनिक कमाण्डरबीच जारी वार्ता सकारात्मक रुपमा अघि बढिरहेका बेला चिनियाँ सैनिकले भारततर्फ संरचना निर्माण गरेपछि तनाव बढेको दाबी गर्नुभयो ।
चिनियाँ पक्षले भने भारतीय सेनाले सीमा पार गरेर चीनतर्फ आएका कारण भिडन्त भएको बताएको छ । चीनले त्यसबारे भारतसँग कडा विरोध जनाइसकेको छ । ‘हामी भारतीय पक्षसँग यसबारे विस्तृत छानविन गरी यो घटना गराउन जिम्मेवारहरुलाई कारवाही गर्न र यस्ता उत्तेजनात्मक कदमहरु तुरुन्त रोक्न आग्रह गर्छौं,’ चीनको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
अविश्वास बढेपछि दुई देशका सेनाबीच फेरि सीमा क्षेत्रमा तनाव बढेको हो । रणनीति रुपले महत्वपूर्ण हिमालय क्षेत्रसहितको सीमानामा लाइन अफ एक्चुअल कन्ट्रोल अर्थात् नियन्त्रण रेखालाई लिएर दुई देशबीच लामो समयदेखि मतभेद छ । जसकारण विवाद निम्तिरहेको छ । यही विवादका कारण दुई देशबीच सन् १९६२ मा भीषण युद्ध नै भएको थियो ।
डेढ सय वर्ष भन्दा बढी उपनिवेश बनेको भारतले अङ्ग्रेज शासकबाटै सीमा विवादको उत्तराधिकार ग्रहण गरेको हो । सन् १९१४ मा अङ्ग्रेजले चीन सरकारसँग सीमाबारे सम्मेलन गरेका थिए । म्याकमहोन लाइन नाम दिइएको १९१४ को सीमानालाई चीनले कहिल्यै स्वीकारेको छैन । उसले ९० हजार वर्ग किलोमिटर क्षेत्रफलमा आफ्नो दाबी पेस गरेको छ ।
भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरु सन् १९५९ मा चीन भ्रमण गएका बेला सीमा विवादले चर्को रुप लियो । आधिकारिक चिनियाँ नक्सामा देखाइएको सीमाबारे नेहरुले प्रश्न गरेपछि जवाफमा चिनियाँ प्रधानमन्त्री झोउ इनलाईले आफ्नो सरकारलाई उपनिवेश कालको सीमा मान्य नहुने बताउनुभयो ।
त्यसपछि १९६२ मा विवादित सीमा क्षेत्रमा भारत र चीनबीच ३१ दिन युद्ध भयो । यस युद्धमा भारततर्फ एक हजार ३८३ र चीनतर्फ ७२२ सैनिकको मृत्यु भयो । चीनका ५४८ सैनिक घाइते भए । भारतका एक हजार ४७ सैनिक घाइते तथा एक हजार ६९६ सैनिक बेपत्ता भए । चीनले भारतका तीन हजार ९६८ जनालाई बन्दी बनायो । युद्धमा विजयी भएको चीनले अक्साई क्षेत्रमाथि नियन्त्रण कायम गर्यो । यो रणनीतिक कोरिडोरले तिब्बतलाई पश्चिम चीनसँग जोड्छ । भारतले अझै पनि सबै अक्साई चीन क्षेत्र र चीनको नियन्त्रण रहेको उत्तरी कश्मीरको साक्सजाम उपत्यका आफ्नो भएको दाबी गर्दै आएको छ ।
त्यस्तै भारत र चीनबीच सिक्किमको नथुला विवाद पनि बल्झिरहेको छ । यो सिक्किमस्थित भारतको उच्च हिमाली क्षेत्रमा पर्छ । यस विवादले पनि पटक पटक भिडन्तको अवस्था सिर्जना गरेको छ ।
अरुणाचल प्रदेशस्थित सीमा क्षेत्रमा पनि भारत र चीनबीच सीमा विवाद छ । त्यहाँ चार भारतीय सैनिक एम्बुसमा परेर मरे । नयाँ दिल्लीले भारतीय सीमा क्षेत्रमा छिरेर बेइजिङले आफ्ना सैनिकलाई निशाना बनाएको दाबी गर्यो तर चीनले यसलाई अस्वीकार गर्दै आएको छ ।
दोक्लाम क्षेत्रमा भारत र चीनका सैनिक आमने–सामने भए । महिनौँसम्म यो क्रम चल्यो । चीनले सडक बनाउँदा त्यसलाई रोक्नका लागि भारतले सेना पठाएको थियो । दोक्लामको विवादित भूभागलाई चीन र भारतक दुवैले दावी गर्दै आएका छन् ।
पछिल्लो पटक भारत र चीनका झन्डै दुई सय सैनिक पूर्वी लद्दाखमा आमने– सामने भएका थिए । रातभर टकरावको स्थिति बनेपछि भोलिपल्ट दुबै सैनिकबीच ढुङ्गा हानाहान भयो । दुबै तर्फका अफिसरहरुले वार्तामार्फत शान्तिपूर्ण अवस्था सिर्जना गरे । उत्तरी सिक्किमस्थित १६ हजार फिट उचाइमा रहेको नाकुला सेक्टरमा दुई देशका झन्डै १५० सैनिक आमने–सामने भए । त्यहाँ एक देशका सैनिकले अर्को देशका सैनिकमाथि मुक्का हानेका थिए । यस झडपमा १० सैनिक घाइते भए । यहाँ पनि असिफरस्तरमा वार्ता भएपछि झडप रोकियो । यही दिन चीनले लाइन अफ एक्चुअल कन्ट्रोलमा आफ्नो हेलिकोप्टर पठाएको थियो । जवाफमा भारतले पनि आफ्नो लडाकु विमान सीमा क्षेत्रमा पठाएको थियो ।
यही विवादबीच अघिल्लो सोमबार राति लद्दाखको गालवन उपत्यकामा दुवै देशका सैनिकबीच मुठभेड हुँदा भारतका एक कर्नेलसहित २० जना मारिए । चीनतर्फको क्षतिबारे केही बताइएको छैन ।
भारत र चीनले शक्ति प्रदर्शन होइन शान्ति प्रदर्शन गर्नुपर्छ । दुवै मुलुकले सबै छिमेकीसँगको सीमा विवादको स्थायी समाधान गरी विश्वसामु नै उदाहरण प्रस्तुत गर्ने बेला आएको छ । सीमा विवादलाई लिएर युद्ध गरी तेस्रो पक्षले मध्यस्थता गर्ने अवस्था आयो भने त्यो दुर्भाग्य हुने छ । उपनिवेशकालीन शासन शैली र व्यवहार परिवर्तन गरी असल व्यवहार प्रदर्शन गर्दै भारतीय प्रधानमन्त्री मोदीले अनुकरणीय नेता बन्ने अवसर गुमाउनु हुँदैन । सन्त नेता मोदीले भारतका सबै छिमेकीहरुसँग सार्थक वार्ता गरी सीमा विवादको स्थायी समाधान गर्न सक्नुभयो भने निश्चय नै यस क्षेत्र विश्वकै लागि शान्तिभूमि बन्नेछ ।