सगरमाथाको वास्तविक उचाइ छिट्टै सार्वजनिक गरिने

maitrinews

 

काठमाडौँ । सरकारले छिट्टै सगरमाथाको वास्तविक उचाइ सार्वजनिक गर्ने तयारी गरेको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रियसभाको सोमबारको बैठकमा सरकारले सबै प्रक्रिया पूरा गरेर वास्तविक उचाइ सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो। उहाँले नेपालले आफैँले उचाई मापन नगरेकोले बीचमा उचाइमा अलमल भए पनि अहिले त्यो सुल्झिएको दाबी गर्नुभयो।

सगरमाथाको उचाइ स्नो लाइनलाई मान्ने कि रक वेसलाई मान्ने भन्ने विषयमा चीनसँग छलफल गरिरहेका उनको भनाइ थियो। ‘हामीले स्नो लाइनलाई पहिलेदेखि आधार मानेर ८ हजार ८ सय ४८ मिटर उचाइ मानेर आएका छौं, संसारभरले त्यही भनिराखेको छ तर बीचमा चीनले नापी गर्दा हिउँको रेखाभन्दा तल वास्तविक रक कति हो त ?भनेर हेर्दा ८ हजार ८ सय ४४ दशमलब ४३ भनेर किटान ग¥यो’, उहाँले भन्नुभयो, ‘सगरमाथाबाटै सीमाना जाने कारणले गर्दा त्यसको उचाइ दुबै देशको सहमतिबाट मात्र टुङ्ग्याउने अवस्था आएका कारण त्यो विषय टुंगिएको थिएन, त्यतिबेलासम्म नेपालले आफ्नो तर्फबाट नापी गरेको अबस्था थिएन।’

उहाँले नेपालले एक वर्षअघि नै सगरमाथाको उचाइ नापेको बताउनुभयो। ‘गतवर्ष नेपालले नापी विभागका कर्मचारीबाट जोखिम मोलेर सगरमाथाको उचाई नाप्नुभएको छ, डाटा प्रोसेसिङका काम करिव करिव सकिएका छन्, यसबीचमा चीनतिरबाट पनि आफ्नोतिरको पाटो नाप्नुभएको छ’, उहाँले भन्नुभयो, ‘दुबै देशका बीचमा सूचना आदानप्रदानको काम पनि भइसकेको छ र छिट्टै नेपालको तर्फबाट सगरमाथाको उचाई घोषणा गर्ने तयारी हुँदैछ।’

मन्त्री ज्ञवालीले नेपाल र चीनबीचमा कुनै सीमासम्बन्धि समस्या नरहेको पनि प्रष्ट पार्नुभयो।