नेपाल र चीनबीच सीमा विवाद छैन : यान्छी

maitrinews

 

काठमाडौँ । नेपालका लागि चीनका राजदूत होउ यान्छीले चीन र नेपालबीच सन् १९६१ मा विवादरहित ढङ्गले भएको सीमा सम्झौताको स्मरण गर्दै दुई देशबीच कुनै सीमा विवाद नरहेको बताउनुभएको छ ।

राजदूत होउले कालापानी क्षेत्र नेपाल र भारतबीचको विषय भएको र वर्तमान विषम परिस्थितिमा भइरहेको विवादलाई दुवै पक्षले सौहार्दपूर्ण संवाद तथा आपसी सहमतिका आधारमा टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

चीनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई संधै सम्मान गर्ने स्पष्ट पार्दै राजदूत होउले भन्नुभएको छ, ‘‘नेपालले हालै प्रकाशित गरेको अध्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा आफ्नो सार्वभौमिकता तथा भौगोलिक अखण्डताको रक्षाका लागि जनमतको आधारमा चालेको कदम हो ।’’

नेपालले चीनको इसारामा कदम चालेको भन्ने कुराहरु आधारहीन तथा स्वार्थ प्रेरित छ, यसमा कुनै सत्यता नभएको बताउँदै राजदूत होउले भन्नुभयो, ‘‘यस्तो आरोप एक स्वतन्त्र देश नेपाल र नेपाली जनताको स्वाभिमानप्रति अपमान मात्र होइन, नेपाल र चीनबीचको सम्बन्धमाथिको प्रहार पनि हो ।’’