कोरोना खोप परीक्षण गर्न वैज्ञानिकहरूले सुझाए नयाँ विधि

maitrinews

 

अमेरिका । कोरोना महामारी अन्त्य गर्न संसारभरका वैज्ञानिक खोप पत्ता लगाउने अनुसन्धानमा जुटेका छन्। तर, खोप पत्ता लगाउनु जत्तिकै गाह्रो र समय लाग्ने काम हो, त्यसले भाइरससँग लड्न सक्छ कि सक्दैन पुष्टि गर्न।

वैज्ञानिकहरू यसपालि जतिसक्दो समय छोट्टयाउन चाहन्छन्। त्यही भएर अनुसन्धान क्रममा रहेको खोपले काम गर्छ कि गर्दैन पुष्टि गर्न उनीहरूले नयाँ उपाय सुझाएका छन्।

त्यो उपाय हो– स्वस्थ व्यक्तिलाई कोरोनाविरुद्ध खोप लगाउने र त्यसपछि जानाजान भाइरसबाट संक्रमित पार्ने।

वैज्ञानिकहरूले यसलाई ‘मानवीय चुनौती परीक्षण’ भनेका छन्। यो नियमित प्रक्रियाभन्दा फरक हो।

नियमित प्रक्रियामा स्वस्थ व्यक्तिलाई जानाजान भाइरस सल्काइँदैन। खोप लगाएको व्यक्ति सामान्य रूपले जीवनयापन गर्न थाल्छ। यसबीच ऊ संक्रमित हुन्छ कि हुँदैन भनेर हेरिन्छ।

यो प्रक्रियाबाट खोप परीक्षण गर्दा धेरै समय लाग्ने हुँदा वैज्ञानिकहरूले छिटोभन्दा छिटो नतिजामा पुग्न नयाँ उपाय सुझाएका हुन्।

यसअघि टाइफाइड, हैजा, मलेरिया लगायत अन्य केही रोगको खोप परीक्षण गर्दा पनि यस्तै विधि अपनाइएको थियो। मलेरिया खोप परीक्षण गर्दा स्वयंसेवकहरूले लामखुट्टेको झुन्ड भएको प्वालमा हात घुसारेर आफूलाई टोकाएका थिए। तर, त्यति बेला संक्रमण भइहाल्यो भने रोग निको पार्ने वैकल्पिक उपचार थियो। कोभिड–१९ का हकमा भने उपचारको विकल्प छैन।

यही कारणले कोरोना खोप परीक्षणमा यो विधि प्रयोग गर्ने कि नगर्ने भनेर वैज्ञानिकहरू एकमत छैनन्।

विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले गत महिना प्रकाशित गरेको मस्यौदा प्रतिवेदनमा यो विधिबाट ‘झन् घातक परिणाम देखिनसक्ने’ भनी सचेत गराइएको छ।

‘यो विधिले कोभिड–१९ बारे महत्वपूर्ण सूचनाहरू दिन सक्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘तर यसले स्वस्थ व्यक्तिहरू अनाहकमै संक्रमित हुने र त्यसको असर झन् ठूलो हुनसक्ने सम्भावना छ।’

डब्लुएचओको १९ सदस्यीय परामर्श समितिले यो विधिबाट खोप परीक्षण गर्दा स्वयंसेवकहरूको सुरक्षाप्रति सतर्क रहन निर्देशन गरेको छ। यसनिम्ति विस्तृत सुरक्षा निर्देशिका तयार पारिएको छ, जसमा दुईवटा बुँदा महत्वपूर्ण छ।

पहिलो, १८ देखि २५ वर्ष उमेरका स्वस्थ व्यक्तिलाई मात्र परीक्षणमा सामेल गराउने। यो उमेर समूहका स्वस्थ व्यक्तिलाई भाइरस संक्रमण भइहाल्यो भने पनि गम्भीर बिरामी वा मृत्युको जोखिम कम हुन्छ।

दोस्रो, भाइरस सल्काउँदा त्यसको मात्रामा विशेष ध्यान दिने, ताकि संक्रमण त होस्, तर गम्भीर बिरामी नपरोस् वा मृत्युको मुखमा पुग्ने सम्भावना नहोस्। अहिलेसम्मको अध्ययनअनुसार मान्छेको शरीरभित्र एकचोटिमा जति बढी भाइरस छिर्यो, त्यसले पार्ने जोखिम उति बढी हुन्छ।

यसरी भाइरस संक्रमण गराउँदा नाकबाट छिराउन पनि सिफारिस गरिएको छ।

परामर्श समितिका झन्डै आधा सदस्यले खासगरी तीनवटा विषयमा आफ्नो फरक मत राखेका थिए।

एक, खोप लगाएको व्यक्ति संक्रमित भइहाल्यो भने उपचार गर्ने अर्को भरपर्दो उपाय हामीसँग छैन। वैकल्पिक उपाय पत्ता नलागेसम्म कुनै मान्छेलाई जानाजान खतराको भुंग्रोमा हाल्न नैतिक वा व्यवहारिक दृष्टिले उपयुक्त हो कि होइनरु

दुई, १८ देखि २५ वर्ष उमेरका स्वस्थ व्यक्तिमा मात्र खोप परीक्षण गर्दा वृद्धवृद्धामा काम गर्छ कि गर्दैन भनेर कसरी सुनिश्चित हुनेरु अध्ययनअनुसार युवाभन्दा वृद्धवृद्धा र अरू विभिन्न रोग लागेका वयस्कमा कोरोनाले गम्भीर असर पारेको पाइएको छ। बढी जोखिममा रहेको समूहलाई नै परीक्षणबाट टाढा राखेपछि खोपले काम गर्छ भन्ने के ग्यारेन्टीरु

तीन, यो परीक्षण विधिबाट वैज्ञानिकहरूले सोचेजस्तो कम समयमै निष्कर्ष निकाल्न सकिन्छ भन्ने पनि ग्यारेन्टी छैन। मान्छेको जीवन जोखिममा पारेर सोचेजस्तो नतिजा आएन भने त्यसको जिम्मेवार को हुनेरु

अमेरिकाका सरकारी अनुसन्धाताहरूले भने बढ्दो महामारीलाई हेरेर छिटोभन्दा छिटो खोप परीक्षण गर्न यो विधि अपनाउने सुर कसिसकेका छन्। एलर्जी तथा सरुवा रोगसम्बन्धी अमेरिकी राष्ट्रिय संस्थाले खोप लगाएका व्यक्तिलाई कस्तो किसिमको भाइरसबाट संक्रमित पार्ने भनी चयन गरिसकेको छ।

‘महामारीको अवस्था बढ्दै गयो भने हामीले यो उपाय अपनाउनुपर्ने हुनसक्छ,’ उक्त संस्थाका प्रमुख डा। एन्थोनी फोसीले भने, ‘प्राकृतिक रूपले संक्रमित गराउन बढी समय लाग्ने भयो भने पनि हामीले यो उपाय अपनाउनुपर्छ।’

तर, अहिले जसरी कोरोना बिरामी संख्या दिनदिनै बढ्दै गएको छ, त्यस आधारमा जुलाइ र अगष्ट महिनासम्म प्राकृतिक संक्रमण गराउन समस्या नहुने उनको भनाइ छ।

‘अनुसन्धानमा रहेका धेरैजसो खोपको क्लिनिकल परीक्षण जुलाइ र अगष्टबाट सुरू हुन्छ। त्यो बेलासम्म हामीकहाँ संक्रमित व्यक्तिको संख्या कम हुने देखिँदैन। त्यसैले, यो अवधिसम्म प्राकृतिक रूपमै संक्रमण हुने सम्भावना बढी नै छ,’ उनले भने।

पछिल्लो समय अमेरिकामा प्रतिदिन ५० हजार संख्यामा नयाँ बिरामी थपिएका छन्। यो अहिलेसम्मकै उच्च दर हो।

यस्ता अध्ययन संस्थाहरूको छाता संगठन नेसनल इन्स्टिच्यूट अफ हेल्थले भने ‘मानवीय चुनौती परीक्षण’ विधिलाई समर्थन गर्ने सरकारको कुनै योजना नरहेको जनाएको छ।

‘सन् २०२० को गृष्म यामभरि प्राकृतिक संक्रमणकै निम्ति पर्याप्त बिरामी हुनेछन्। यस्तो अवस्थामा खोप परीक्षणका लागि स्वस्थ व्यक्तिलाई जानाजान भाइरस संक्रमण गराउनुपर्ने आवश्यकता देखिँदैन,’ उक्त संस्थाका प्रवक्ता रिनेट मेल्सले आफ्नो इमेल जवाफमा भनिन्।

न्यूयोर्क विश्वविद्यालयका डा। आर्थर एल कप्लान भने यो परीक्षण विधिका प्रखर समर्थक हुन्। यस्तो परीक्षण गर्नु नैतिक रूपमा गलत हुन्छ भन्नेबारे कुनै विश्वासिलो तर्क नसुनेको उनी बताउँछन्।

डा। कप्लान र पेन्सिलभेनिया विश्वविद्यालयका खोप विशेषज्ञ डा। स्ट्यान्ली प्लोटकिनले हालै एक जर्नलमा लेखेका छन्, ‘१८ देखि २९ वर्ष उमेर समूहका संक्रमित व्यक्तिको मृत्युदर कम भएकाले प्रस्तावित परीक्षण विधिले यसबाट फाइदा लिनसक्छ।’

‘जोखिम त छ, तर हामी स्वयंसेवकहरूलाई यसबाट हुने लाभ र हानि बुझाएर परीक्षणमा सरिक हुन आह्वान गर्न सक्छौं,’ उनीहरूले लेखेका छन्।

अन्य केही अनुसन्धाता पनि यस्तै तर्क गर्छन्।

‘यो विधि जोखिमरहित छैन। तर, हामीले खोप परीक्षण भएर सार्वजनिक प्रयोगमा आउन ढिला हुँदा विश्वले के–कति मूल्य चुकाउनुपर्छ भनेर हेर्नुपर्छ,’ डा। नीर इयालले एक जर्नलमा लेखेका छन्, ‘खोप परीक्षण गर्न ढिला हुनु भनेको संसारभरि हजारौं मान्छे कोरोनाबाट मर्नु हो।’