ईजरायल र साईप्रसबाट १ सय २७ नेपाली स्वदेश फर्किए, विदाइका लागि राजदूत शाक्य विमानस्थलमा

Mohan Bastola

काठमाडौँ । कोरोना भाइरसको संक्रमणपछि ईजरायल र साईप्रसमा अलपत्र परेका नेपालीलाई घर फर्काउने प्रक्रिया सुरु भएको छ । नेपाली राजदूतावास, इजरायलले आज विहान १०ः१५ बजे ईजरायलबाट साईप्रसका लागि भएको इजरायल एयरलाइन्सको उडानबाट ३९ नेपाली साईप्रस पुगेका थिए ।

इजरायलका ३९ र साईप्रसबाट ८८ नेपाली लिएर कतार एअरवेजको चार्टर्ड विमान आजै दिउँसो २ बजे साईप्रसको अन्तराष्ट्रिय विमानस्थलबाट दोहा हुँदै काठमाडौंका लागि उडेको दूतावासले जानकारी दिएको छ ।

‘यस अघि जुन ३० का लागि तय भएका नेपाल एअरलाइन्सका उडानहरू रद्द भएपछि विभिन्न पक्ष–निकायहरुसँगको निरन्तरको छलफल तथा प्रयासपछि ईजरायल र साईप्रसबाट नेपालीहरुलाई स्वदेश फर्काउने हाम्रो साझा प्रयासले सफलता प्राप्त गरेको छ,’ इजरायलको नेपाली दूतावाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ ‘हामी यस उडानमार्फत् ईजरायल र साईप्रसबाट स्वदेश फर्कनुहुने सम्पूर्ण नेपालीहरुको सुरक्षित–सुखद यात्राको कामना गर्दछौं। साथै, यस फिर्ती प्रक्रियामा सघाउनुहुने सम्पूर्ण व्यक्ति संघ–संस्था तथा निकायहरुमा हार्दिक आभार व्यक्त गर्न चाहन्छौं।’ स्वदेश फर्किने नेपालीलाई विदाई गर्न इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यलगायत विमानस्थल पुग्नुभएको थियो ।