बाढीपहिरोमा बेपत्ता २० जना भेटिएनन्

maitrinews

 

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका ५ जम्बुमा असार २५ गते राती भोटेकोशी नदी र एल्मो ठाडो खोलाको भीषण बाढीले बेपत्ता बनाएकाहरुको खोजी कार्य तीव्र बनाइएको छ । तर अहिलेसम्म बेपत्ता भएका मध्ये कोही भेटिएका छैनन् ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काप्लेले जम्बु बाढीपहिरोमा परेर १७ जना र भोटेकोशी गाउँपालिकाको बुलकुटेमा तीनजना अझै भेटाउन नसकिएको जानकारी दिनुभयो । विपद् ब्यवस्थापन महासंघका २७ जना तालिम प्राप्त उद्धारकर्मी, जिल्ला बिपद् ब्यवस्थापन समितिका उद्धारकर्मी, शसस्त्र प्रहरी, स्थानीय लगायतबाट बेपत्ताको खोजी कार्य निरन्तर भइरहेको उहाँले बताउनु भएकोछ ।

सोमबार बिहानदेखि नै खोजी कार्य शुरु गरिएको छ । स्काभेटर लगाएर निरन्तर खोजी गरेपनि बेपत्ता भेटिएका छैनन् । बेपत्ता भएका परिवारहरु दिनहुँ नदी किनारामा आएर बसिरहेका हुन्छन् । बाढी र पहिरोमा परिवारका सदस्य बेपत्ता भएका परिवारजनले पनि खोजी कार्यमा उद्धारकर्मीलाई सघाईरहेका छन् ।

२६ गते बिहान ६ बजे भोटेकोशी गाउँपालिका ३ लार्चामा बाढी र माटोको लेदोले बगाएका ५७ बर्षीय नाप्चे मगर भने १० घण्टा पछि स्थानीयले जीवित नै भेटाएका छन् । बुलकुटेबाट बगाएका ४ मध्ये एक बालक साहिल तामाङ सुकुटेमा मृत अवस्थामा भेटिएको जिल्ला पैहरी कार्यालयका सूचना अधिकृत समेत रहेका काफ्ले जानकारी दिनु भएको छ ।