बनारसको भाइरल भिडिओमा देखिएका व्यक्ति भारतीय मतदाता, पैसा लिएर अभिनय गरेको स्वीकार

maitrinews

 

बनारस । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि रामको जन्म र जन्मभूमि अयोध्याबारे दिएको अभिव्यक्तिको विरोधमा भारतको बनारसमा एउटा धार्मिक समूहले गराएको घटनामा पीडितका रूपमा चित्रित नेपाली युवक वास्तवमा भारतीय मतदाता भएको र उनले पैसा लिएर भिडिओ बनाउन सहमति दिएको भारतीय प्रहरीले बताएको छ।

नेपालमा पनि निकै भाइरल भएको एउटा भिडिओ फुटेजमा विश्व हिन्दू सेना नामक सङ्गठनका कार्यकर्ताहरूले नेपालीका रूपमा प्रस्तुत गरिएका ती व्यक्तिको कपाल खौरिएर नेपाल र प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्न लगाएको देखिन्छ।

उक्त घटनाको भिडिओ खिची बिहीवार सामाजिक सञ्जालमा प्रसार गरेको आरोपमा प्रहरीले शुक्रवार चार जनालाई पक्राउ गरेको थियो। उनीहरूलाई शनिवार अदालतमा पेस गरिएको छ भने शनिवार थप दुई जना पक्राउ परेका छन्।
मुख्य आरोपित अरुण पाठक भने अझै फरार रहेको बनारस प्रहरीका एसपी अमित पाठकले जानकारी दिनुभयो ।

उक्त घटनाबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार अरुण पाठकले विश्व हिन्दू सेनाको फेसबुक पेज तथा आफ्नो फेसबुक र ट्विटरमा शुक्रवार बिहानसम्म प्रेषित गरिरहेका थिए।
ूनेपाली युवकका रूपमा चिनाइएका ती व्यक्तिको जन्म बनारसमै भएको र उनी त्यहीँका बासिन्दा भएको प्रहरीले बताएको छ।