नेपालको पहिलो दलित सचिव मानबहादुर विश्वकर्मा

maitrinews

 

काठमाडौँ । यसै साता मन्त्रिपरिषद्ले सचिव पदमा बढुवा गरेका मानबहादुर विश्वकर्माले निजामती प्रशासनको उच्चपदमा पुगेर देश र दलित समुदायलाई समावेशीकरणको उदाहरण बन्न पाउँदा खुसी लागेको बताउनुभएको छ ।

प्रजातन्त्र आएको ३० वर्षसम्म कुनै पनि दलित उच्च पदमा नपुग्नुले निजामती प्रशासन सञ्चालनमा समस्या रहेको देखाएको र त्यसमा सुधार गर्नुपर्ने उहाँले बताउनुभयो ।

सन् २०११ को जनगणनाले नेपालमा कूल जनसङ्ख्याको १३ प्रतिशतभन्दा बढी दलित रहेको देखाएको छ।

तर निजामती सेवामा लगभग दुई प्रतिशतको हाराहारीमा मात्रै दलितहरूको प्रतिनिधित्व रहेको जानकारहरू बताउँछन्।

पाल्पाको तत्कालीन देउराली ८ घर भएका विश्वकर्मा दलित समुदायबाट निजामती सेवातर्फ सचिवको पदमा पुग्ने पहिलो व्यक्ति हुनुहुन्छ ।

मन्त्रिपरिषद्‌बाट नियुक्ति पाएपछि उहाँले भन्नुभयो, “निजामती सेवामा प्रवेश गर्ने सबैको सपना नेपाल सरकारको विशिष्ट श्रेणीको पदसम्म पुगौँ भन्ने हुन्छ।ू

ूपछाडि परेको उत्पीड‍ित समुदायबाट म यो पदमा पुगेर समुदाय र देशलाई समावेशीताको एउटा उदाहरण दिन सके भन्ने कुराले मलाई गौरवान्वित तुल्याएको छ।”

विसं २०६७ मा खुल्ला प्रतिस्पर्धाबाट सहसचिवमा नियुक्त भएका विश्वकर्मा बढुवा हुनुअघि युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँसँग श्रम विभागको महानिर्देशक, पाँच जिल्लाको प्रमुख जिल्ला अधिकारी, प्रदेश नम्बर पाँच र कर्णाली प्रदेशमा प्रदेश सचिवका रूपमा काम गरेको अनुभव छ।

विश्वकर्माका अनुसार उहाँका बुवा भिमबहादुर भारतको आगरामा चौकीदारी गर्थे भने उनकी आमा मायादेवी गाउँमा खेतीपाती र घरगृहस्थी गर्थिन्।

बुवाले रोजगारीका क्रममा शिक्षाको महत्व बुझेको हुनाले आफूले परिवारबाट पढ्नका लागि सहयोग पाएको उहाँ सम्झनुहुन्छ ।