अविरल वर्षा, पहिरोले नारायणगढ मुग्लिन सडक अवरुद्ध

maitrinews

 

चितवन । चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलोमा आज बिहानै पहिरो खस्दा नारायणगढ मुग्लिन सडक अवरुद्ध बनेको छ।

अविरल वर्षापछि सडकमा ठूलो पहिरो खसेकाले बिहान ५ बजेदेखि नै सडकमा गाडी चल्न नसकेका जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी सूर्यबहादुर थापाले जानकारी दिनुभयो।

‘पहिरो खसेको ठाउँमा डोजर र लोडर पुगिसकेका छन्,’ डिएसपी थापाले भन्नुभयो, ‘तर, पहिरो ठूलो छ, पहिरो झर्ने र पानी पर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउने क्रम अझै सुरु भएको छैन।’

पानी पर्न र पहिरो झर्न रोकिएपछि मात्रै पहिरो पन्छाउन सुरु गरिने जानकारी दिए। पहिरोले दुई वटा बिजुलीका पोलसमेत ढालेको छ। पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने थापाको भनाइ छ।

सडक अवरुद्ध हुँदा दुबैतर्फ सयौँ सबारी साधनको लाइन लागेको छ। सवारी साधनलाई धादिङ र नारायणगढतिरै रोकिएका छन्।