कन्काई नदीको तटबन्ध भत्कियो, दुई हजार घर जोखिममा

 

बिर्तामोड । कन्काई नदीले झापा गाउँपालिका–७ राईगाउँस्थित तटबन्ध भत्काएको छ । बिहीबार राति तटबन्धको करिब ३ सय ५० मिटर क्षेत्र कटान गरी नदी बस्तीतर्फ मोडिएको हो । आइतबार राति झापा–२ को सडकबारीमा तटबन्ध भत्काएर बाढी बस्तीमा पस्दा सडकबारी र वडा नं। १ को मिलनबस्तीका १ सय ५ घर डुबानमा परेका थिए । बाढीले एक हजार बिघाभन्दा बढी धान खेत नष्ट भएको छ ।

‘डुबानमा परेका स्थानीयको आँगनको पानी सुक्न नपाउँदै बिहीबार राति राईगाउँको बाँध पनि भत्कियो,’ गाउँपालिकाका अध्यक्ष जयनारायण साहले भने, ‘गाउँपालिकाको आधाभन्दा बढी क्षेत्र कटान र डुबानको उच्च जोखिममा छ ।’ राईगाउँ उत्तरतर्फको सिरानमा पर्ने भएकाले त्यहाँबाट नदी बस्तीमा पसे गाउँपालिकाको १, २, ३ र ७ नम्बर वडा पूरै डुबानमा पार्ने उनले बताए । बाँध भत्किएका कारण झापा–७ टप्पु गाउँका ७० र चौधरी टोलका ४० घर डुबानको उच्च जोखिममा छन् । ‘अब कन्काईमा पानीको मात्रा थोरै बढ्यो भने यी दुई बस्तीका सबै घर डुबाउँछ,’ अध्यक्ष साहले भने ।

यस्तै, झापा–३ को सिमलबारीस्थित ८० घर, वडा नं। २ स्थित हवल्दार बस्तीका ६०, सुगाबथानका ७५, कुवाडीका ३ सय, सडकबारीका १ सय ५०, बालुवाटारका ५२ र सिर्जना बस्तीका ४० घर तथा वडा नं। १ को मिलनबस्तीका ८१, सालमाराका २ सय ५०, सितुमारीका १ सय ५० र लसुनगन्जका ३ सय गरी १६ सय ५० घर डुबानमा पर्ने साहले बताए । सो क्षेत्रको करिब ४ हजार बिघा धान खेत नष्ट हुने उनको आकलन छ । राईगाउँस्थित तटबन्ध जोगाउन एक सातादेखि निरन्तर प्रयास गरे पनि असफल भएको गैंडेस्थित जनताको तटबन्ध कार्यालयका प्रमुख कैलाश श्रेष्ठले बताए । ‘मुख्य बाँधको एक सय मिटर टाढादेखि नै बाँसको पाइलिङ गरेर नदीको धार पश्चिम फर्काउने प्रयास गरेका थियौं तर सफल भएनौं,’ उनले भने । उक्त क्षेत्रमा ४।२ किलोमिटर पुरानो कच्ची तटबन्ध रहेको छ । यस वर्ष कन्काईको मूल प्रवाह नै पूर्वतर्फ फर्किएकाले बाढी नआउँदा पनि कटान जारी रहेको कार्यालयका इन्जिनियर रिन्जे गुरुङले बताए ।

जिल्लाका पाँच ठूला नदीको बाढीले २३ स्थानका तटबन्धमा क्षति पुर्‍याएको छ । कन्काई, बिरिङ, रतुवा, मावा र कमल नदीले क्षति गरेका हुन् । झापा २ र ७ मा तटबन्ध भत्काएरै कन्काईको बाढी बस्ती पस्दा १ सय ५ घर डुबान र एक हजार बिघाभन्दा बढी धान खेत नष्ट भएको छ । सडकबारीमा असार अन्तिमदेखि नै कटान सुरु भएको थियो । रोकथामको प्रयास असफल हुँदा साउन ५ मा ३ सय ५० मिटर तटबन्ध भत्काएर बाढी बस्तीमा पसेको हो ।

कन्काईले झापा–७ कच्चुदहमा पनि ३ सय मिटर तटबन्ध क्षतिग्रस्त भएको छ । शिवसताक्षी नगरपालिका–५ भेलामुनीस्थित पश्चिम किनारको ६० मिटर तटबन्धमा आंशिक क्षति पुगेको छ । स्थानीय, सशस्त्र र सेना परिचालन गरी तटबन्ध जोगाउने प्रयास भइरहेको तटबन्ध कार्यालयका प्रमुख कैलाश श्रेष्ठले बताए । पुरानो शिवगन्ज बजारपूर्व कच्ची तटबन्धको करिब २ सय मिटर भाग पनि कटानमा परेको छ ।

त्यस्तै, रतुवा नदीको बाढीले कमल गाउँपालिका–६ खयरबारीको पूर्वी किनारस्थित तटबन्धको २ सय ५० मिटर भत्काएको छ । ८० प्रतिशत क्षतिग्रस्त तटबन्ध जोगाउन गाह्रो भइरहेको कार्यालयले जनाएको छ । रतुवाले टंगुआमा २ सय ५० मिटर र दमक नगरपालिका १ को बुद्धशान्ति टोल र खरायो कटेजस्थित तटबन्ध पनि कटान गरेको छ । कन्काईपछि जिल्लाको अर्को ठूलो नदी बिरिङले पनि तटबन्ध कटान जारी राख्दा स्थानीय त्रासमा छन् ।