ओली पत्नी राधिकासँगै बामदेव निवासमा, नेपाल–प्रचण्ड समूहलाई झड्का

Mohan Bastola

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको राजनीतिमा आज दिनभरी नै नयाँ मोड देखियो । केही दिन अघि आजका लागि मिति तोक्दै स्थगन भएको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु गर्न हिडेका केही स्थायी कमिटी सदस्य बालुवाटारबाट बैठक स्थगन भएको सूचना पाउने वित्तिकै अलमलमा परे । केही सदस्य त बालुवाटार नै पुगे । त्यसको केही समयपछि उपाध्यक्ष वामदेव गौतमको ६ बुदेँ विज्ञप्तिले सबैको मथिङ्गल हल्लाई दियो ।

गौतमले पार्टी महाधिवेशनसम्म प्रधानमन्त्री तथा नेकपाका अध्यक्षको जिम्मेवारीमा केपीशर्मा ओली नै रहनु पर्ने सुझावसहितको प्रस्ताव समेटेको विज्ञप्ति सार्वजनिक गरेपछि गौतमको साथ पाएपछि निकै उत्साहित अर्का अध्यक्ष प्रचण्ड र नेपाल समूहको टाउको एकाएक चिसो पानी खन्याएको अनुभूति भयो । त्यति मात्रै होइन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओली जब साँझ भैंसेपाटीस्थित उपाध्यक्ष बामदेव गौतमको घरमा पुग्नुभयो । त्यसले थप तरंग पैदा भएको छ ।

उहाँ पत्नी राधिका शाक्यको साथमा गौतमको घरमा पुग्नुभएको हो । विल्कुलै पारिवारिक भेटघाट भनी ओली त्यहाँ पुगेपछि प्रचण्ड, नेपाल समूह थप अलमलमा परेको छ । उहाँ भेटपछि अहिले बालुवाटार फर्किनु भएको छ ।

पार्टी महासचिव विष्णु पौडेल पनि गौतमकै घरमा पुग्नु भएको थियो । यो भेटलाई नेकपाभित्र विवाद चर्किएका बेला अर्थपूर्ण रुपमा हेरिएको छ। थप कोर्स कसरी अघि बढ्ला भन्ने चाँहि हेर्न बाँकी नै छ ।