जम्मू–कश्मीर र लद्दाखलाई समेटेर पाकिस्तानले जारी गऱ्यो नयाँ राजनीतिक नक्सा

maitrinews

 

इस्लामावाद । पाकिस्तानले जम्मू कश्मीर, लद्दाख र जूनागढलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ । पाकिस्तानी मन्त्रिपरिषद् बैठकले नयाँ राजनीतिक नक्सा जारी गर्न स्वीकृति प्रदान गरेको प्रधानमन्त्री इमरान खानले जानकारी दिनुभएको छ ।

पाकिस्तानका सबै विपक्षी पार्टी र पाकिस्तान प्रशासित कश्मीरका नेताहरुले यस निर्णयको स्वागत गरेका छन् । नयाँ नक्सा जारी भएको जानकारी दिँदै प्रधानमन्त्री खानले भन्नुभयो , ‘पाकिस्तानको नयाँ राजनैतिक नक्साले पाकिस्तानी नागरिकको खुसीलाई प्रतिनिधित्व गर्छ । यसले पाकिस्तान र कश्मीरी नागरिकको सैद्धान्तिक विचारधारालाई समर्थन गर्छ ।’

पाकिस्तानी प्रधानमन्त्री खानले यो नक्साले भारतले गत अगस्ट ५ मा जारी गरेको नयाँ नक्सालाई पनि खारेज गर्ने दाबी गरेका छन् । ‘भारतले गत वर्षको अगस्ट ५ मा कश्मीरमा जुन गैरकानुनी कदम उठाएको थियो, त्यसलाई यो राजनीतिक नक्साले खारेज गरिदिएको छ ।’ खानका अनुसार अब पाकिस्तानका सबै स्कुल, कलेज र कार्यालयहरुमा मंगलबार जारी गरिएकै नक्सा प्रचलनमा आउनेछ ।

पाकिस्तानले नक्सा जारी गरेको समाचार प्रकाशितरप्रसारित भएसँगै भारतले प्रतिक्रिया दिएको छ । भारतले पाकिस्तानद्वारा जारी नयाँ नक्साको कुनै कानुनी वैधता र अन्तर्राष्ट्रिय विश्वसनीयता नभएको प्रतिक्रिया दिएको छ । मंगलबार साँझ भारतीय विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘हामीले पाकिस्तानी प्रधानमन्त्रीले जारी गरेको तथाकथित राजनीतिक नक्सा हेऱ्यौं । यसमा भारतीय राज्य गुजरात र हाम्रो केन्द्र शासित प्रदेशहरु जम्मू–कश्मीर लद्दाखको भूमिमाथि आधारहीन दाबी गरिएको छ । जुन राजनीतिक मुर्खताले उठाइएको कदम हो ।’