बुवाको मृत्यु, आमा बेपत्ता भएपछि तीन बालकको विचल्ली

maitrinews

डोटी। लामो समयसम्म बिरामी रहेका बुवाको मृत्यु भएसँगै आमाले पनि छोडेर सम्पर्कविहीन भएपछि डोटीको सायल गाउँपालिका–६ नारा गाउँका तीनजना बालकको बिचल्ली भएको छ । ५५ वर्षीय बुवा बाजी खातीको करिब १५ महिनाअघि रोगका कारण मुत्यु भएको हो । बुवाको मृत्यु भएको छ महिनापछि नै आमासमेत सम्पर्कविहीन हुनुभएको हो ।

स्थानीय विद्यालयमा शिक्षकसमेत रहनुभएका दीपकबहादुर खातीका अनुसार दम र क्षयरोगले पीडित बाजी खातीको मृत्यु भएसँगै सात महिनादेखि आमाले समेत छोडेका कारण छोराहरू अलपत्र भएका छन् । उहाँले भन्नुभयो, ‘स्थानीयस्तरमा हामीले सकेजति गर्दैछौँ तर अभिभावक नै सम्पर्कविहीन भएपछि बालबालिकाको विचल्ली भएको छ ।’

श्रीमानको मृत्यु भएको केही महिनामा नै भारत को उडिसा माइती भएकी गोमा खातीसमेत नाबालक छोराहरु छोडेर सम्पर्क विहीन हुनुभयो । नौ वर्षका लक्ष्मणले आफ्ना दुईजना भाइहरू दुई वर्षका कृष्ण र चार वर्षका गणेशको रेखदेखको गरिरहेका छन् । घरमा खाना पकाएर दिने अभिभावकसमेत नहुदाँ बालबालिकाहरूलाई दैनिक छाक टार्नसमेत समस्या हुने गरेको छ । आफ्नो साथै भाइहरूको सरसफाइ गर्नेदेखि छाक टार्ने व्यवस्था गर्न लक्ष्मणलाई समस्या परेको छ । नयाँ मान्छे देखे राम्रोसँग कुरासमेत गर्न नसक्ने अवस्थाका लक्ष्मणले छिमेकीसँगै मागेर भए पनि छाक टार्नुपरेको छ ।

छिमेकीले दिएको खानेकुरा खाएर पेट पालिरहेका बालबालिकाहरूलाई छिमेकीले पनि सधैँभरि खाना दिएर पाल्नसक्ने अवस्था छैन । स्थानीय डबल साउदले भन्नुभयो, ‘स्थानीय बासिन्दाहरूले पनि आफ्नै छोराछोरीका लागि पनि सबैले पर्याप्त लालनपालन गर्ने अवस्था छैन, त्यसैमा पनि अलपत्र परेका तीन बालकलाई हेर्न धेरै गाह्रो भएको छ ।’ स्थानीय युवाहरूले बालकहरूको अवस्थाको बारेमा स्थानीय तहमा जानकारी गराइएको बताएका छन् ।