त्रिभुवन राजपथमा पहिरो, एक जना बेपत्ता, चार सवारी साधन पुरिए

maitrinews

 

टिस्टुङ । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका(१२ स्थित गैरीगाउँमा पहिरो खस्दा एक जना बेपत्ता भएका छन्।

पहिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएका इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए।

बिहीबार बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि पहिरो खस्दा उनी बेपत्ता भएका हुन्।

पहिरोमा एउटा स्काभेटर र तीनवटा टिप्पर पुरिएका छन्। खानीबाट ढुङ्गा निकाल्ने एक्साभेटर र ढुङ्गा बोक्ने टिप्पर सडकमा रोकिराखेको अवस्थामा पहिरोमा परेका हुन्। ती गाडीमा रहेका व्यक्ति भने गाडीको सिसा फुटाएर बाहिर निस्किएको प्रत्यक्षदर्शीले बताएका छन्।

पहिरोपछि सम्पर्कमा नरहेका काले मोक्तान ढुङ्गाखानी रेखदेखको काम गर्दै आएका कर्मचारी हुन्। पपति सम्पर्कविहीन भएपछि बेहोस भएकी मोक्तानकी पत्नीलाई राति नै नौखण्डैस्थित स्वास्थ्यचौकी पुर्‍याइएको छ।

पहिरोले सडक पुरिएपछि त्रिभुवन राजपथ अवरुद्ध भएको छ। घटनाको खबर पाउने बित्तिकै इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी टोली घटनास्थल पुगेको भए पनि उद्धार गर्न नसकेपछि राति अबेर फर्किएको थियो। शुक्रबार बिहान प्रहरी पुनः घटनास्थल पुगिसकेको छ।