आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको परीक्षाफल प्रकाशित

maitrinews

 

काठमाडौँ । विद्यालयहरूले विगतका आन्तरिक परीक्षाका आधारमा पठाएको विद्यार्थीहरूको आन्तरिक मुल्याङ्कनलाई प्रमाणिकरण गर्दै राष्ट्रिय परीक्षा बोर्डले कोरोनाभाइरस महामारीका कारण हुननसकेको यो वर्षको एसईई परीक्षाको नतिजा प्रकाशन गरेको छ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले विद्यालयहरूले आन्तरिक मुल्याङ्कनका आधारमा पठाएका प्राप्ताङ्कलाई प्रत्येक जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय इकाइले बोर्डमा पठाएको र त्यसलाई प्रमाणिकरण गरेर परीक्षाफल प्रकाशित भएको बताउनुभयो।

परीक्षा बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अर्यालले ग्रेडीङमा नै नतिजा आए पनि विगतमा जस्तै एउटै मापदण्डका प्रश्नपत्र सहित परीक्षा नगरिएकाले कुन ग्रेड ल्याउनेको सङ्ख्या कति छ भनेर प्रकाशन नगरिएको बताउनुभयो ।

यसअघि चैत ६ गतेका लागि तय भएको एसईई परीक्षा कोरोनाभाइरसको महामारीका कारण जाँच हुनुभन्दा एक दिन अघि स्थगित गरिएको थियो।

उक्त परीक्षामा ४ लाख ८२ हजार भन्दा बढी विद्यार्थी सहभागी हुन लागेका थिए।