नेपाल भारत परराष्ट्रसचिव स्तरीय बैठकको तयारी

maitrinews

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ३१ साउनमा भएको टेलिफोन संवादपछि दुई देशका परराष्ट्रसचिवस्तरीय संयन्त्रको बैठकको तयारी सुरु भएको छ । ओली–मोदी टेलिफोन संवादको भोलिपल्ट नेपालमा भारतीय लगानीका परियोजनाको स्थिति पुनरावलोकन गर्ने संयुक्त अनुगमन संयन्त्रको बैठक बसेको छ । त्यसलगत्तै दुई देशका कूटनीतिक संयन्त्रहरू परराष्ट्रसचिवस्तरीय बैठकको तयारीमा जुटेका छन् । भारतीय राजदूत विनयमोहन क्वात्रा भने विदेश मन्त्रालयसँग आन्तरिक परामर्शका लागि नयाँ दिल्ली जानु भएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भने राजदूत क्वात्राले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेपछि विदेशसचिव हर्षबर्धन श्रृंगलासँग परामर्शका लागि दिल्ली जानुभएको हो । भारतका विदेशसचिव श्रृंगला बंगलादेश भ्रमणबाट दिल्ली फर्कनु भएको छ । विदेशसचिव श्रृंगला परराष्ट्रसचिवस्तरीय संयन्त्रको बैठकमा भाग लिन नेपाल आउने विषयमा राजदूत क्वात्राले छलफल गर्ने बुझिएको छ ।