तेल र ग्यास सहयोगसम्बन्धी संयुक्त बैठक, नयाँ पेट्रोलियम पाइपलाइनबारे छलफल

maitrinews

 

काठमाडौं। तेल र ग्यास सहयोग सम्बन्धी नेपाल भारत संयुक्त कार्य समुहको दोस्रो बैठक भिडियो कन्फ्रेन्समार्फत सम्पन्न भएको छ। भारतका तर्फबाट पट्रोल तथा प्राकृतिक ग्यास मन्त्रालयका सहसचिव बी एन रेड्डी र नेपालकातर्फबाट वाणिज्य उद्योग तथा आपुर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठको संयुक्त अध्यक्षतामा बैठक भएको हो।

भिडियो कन्फ्रेन्समा भारतीय दुतावासका अधिकारीहरु, भारतीय सार्वजनिक ग्यास र तेल कम्पनीहरु आईओसीएल, जीएआईएल, एचपीसीएल र नेपाल भारतका वाणिज्य र विदेशमन्त्रालयका अधिकारीहरुको सहभागिता रहेको थियो। बैठकले सन् २०१९ को सेप्टेम्बरमा दुवै देशका प्रधानमन्त्रीहरुले उद्घाटन गरेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पदार्थ पाइपलाईनको कार्यमा सन्तुष्टि जनाएको छ ।

दक्षिण एसिया क्षेत्रकै पहिलो पेट्रोलियम पाइपलाईले नेपालको अधिकांश इन्धन आपुर्ति गरिरहेको छ । यसले भविष्यमा थप पेट्रोलियम र उर्जाका क्षेत्रमा सहकार्य गर्न प्रोत्साहन गराएको अधिकारीहरुले बताएका छन्। बैठकमा नयाँ पेट्रोलियम पाइपलाईनको सम्भावनाका विषयमा पनि कुरा भएको छ । त्यस्तै नेपाल भारतबीच इन्धनका क्षेत्रमा थप सहकार्य हुने कुरामा पनि छलफल भएको छ ।

इन्डियन आयल कर्पोरेसन र नेपाल आयल कर्पोरेसनबीच पूरानो सहकार्यलाई थप सुदृढ र बलियो बनाउनका लागि नेपाल भारत संयुक्त कार्य समुहको स्थापना २०१७ मा भएको थियो। समुहको पहिलो बैठक यसै वर्षको जनवरी ४ मा नयाँ दिल्लीमा भएको थियो । बैठकमा दुवै पक्षले पेट्रोलियम क्षेत्रको सहकार्यलाई अझैं सुदृढ पार्न आफ्नो आफ्नो क्षेत्रबाट योगदान दिन आग्रह गरिएको छ।