अब के होला मालीमा ? : आर शर्मा

maitrinews

 

पश्चिम अफ्रिकी मुलुक मालीमा सैनिक विद्रोहपछि राजनीतिक सन्नाटा छाएको छ । सेनाको एक समूहले राष्ट्रपति,प्रधानमन्त्रीलगायत विशिष्ट पदाधिकारीलाई कब्जामा लिई विद्रोह गरेपछि परिस्थिति जटिल बनेको हो । विद्रोही सेनाको कब्जामा रहनुभएका राष्ट्रपति इब्राहिम बुबाकर केयटाले राजीनामा दिएको घोषणा गर्नु भएको छ । उहाँले आफूले रक्तपात नचाहेको बताउनुभयो । सेनाको दबाबमा राष्ट्रपतिले सरकार र संसद् भङ्ग गर्नुभएको छ ।
विद्रोही सेनाले परिस्थिति सहज भएपछि चुनाव गराएर नागरिक सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएको छ । तर चुनाव कहिले गराउने भन्ने सम्बन्धमा सेनाले स्पष्ट गरेको छैन ।
संयुक्त राष्ट्रसङ्घ,अमेरिका, फ्रान्स, अफ्रिकी सङ्घले सैनिक नियन्त्रणमा रहेका सबै अधिकारीलाई तत्काल मुक्त गरी संवैधानिक व्यवस्था पुनःस्थापना गर्न माग गरेका छन् । अफ्रिकी सङ्घले मालीको सदस्यता निलम्वन गरेको छ ।
राष्ट्रपति केयटा सन् २०१८ मा दोस्रो पटक चुनाव जितेर सत्तामा आउनु भएको हो । तर उहाँको शासनकालमा भ्रष्टाचार र साम्प्रदायिक हिंसा बढेको भनी आलोचित बन्यो । यही कारणले केही समययता त्यहाँ राष्ट्रपतिको राजीनामाको मागसहित विरोध प्रदर्शन हुँदै आएको थियो ।
त्यहाँका सेना विद्रोहीसँग चल्दै आएको सङ्घर्ष र आफ्नो तलव सुविधालाई लिएर लामो समयदेखि असन्तुष्ट छ । सेनाको असन्तुष्टिबीच रुढिवादी इमान महमुद डिकोको नेतृत्वमा नयाँ विपक्षी गठबन्धनको उदयसमेत भएको छ । यो गठबन्धनले नयाँ सुधार र मिलिजुली सरकारको माग गरेको छ ।

मूलत ः कमजोर राजनीतिक नेतृत्व , चरम गरिबी र जातीय नाराले जन्माएको विद्रोहले माली जटिल स्थितिमा छ । यो मुलुक तहसनहस अवस्थामा छ । निर्दोष जनता युद्धको जाँतोमा पिसिएका छन् । सार्वभौमिकतामाथि विदेशी हस्तक्षेप बढेको छ । केयटा सत्तामा आउनुपूर्व पनि चरम हिंसा र युद्ध भयो । गोला, बारुद, बम र बन्दुकले जनजीवन अस्तव्यस्त बन्यो । त्यहाँको सशस्त्र र शक्तिशाली टुरेग विद्रोही समूहले केन्द्रीय सत्ता नै कब्जा गर्न थालेपछि फ्रान्सेली सेनाको सहयोगमा त्यसलाई रोक्ने प्रयास गर्दा त्यहाँ भीषण युद्ध भयो । महिनौँ फ्रान्सेली सेनाको सहयोगमा विद्रोहीविरुद्ध भीषण कारबाही गरियो । तर पनि समस्या समाधान भएन । त्यहाँको जनजीवन आक्रान्त बनिरह्यो ।

सरकारी पक्षले विद्रोहीविरुद्धको कारबाही प्रभावकारी बन्दै गएको र विद्रोहीले कब्जा गरेको उत्तरी भूभागका महत्वपूर्ण स्थलहरु सरकारको नियन्त्रणमा आएको दावी गर्यो । तर विद्रोहीले भने उसले आफ्नो शक्ति कमजोर नभएको र सरकारसँग कुनै हालतमा पनि आत्मसमर्पण नगर्ने बतायो ।
मुलुकको अधिकांश उत्तरी भूभागमाथि कब्जा जमाई केन्द्रीय सत्ता नै कब्जा गर्न अगाडि बढेपछि त्यहाँको तत्कालीन अन्तरिम सरकारले फ्रान्सलाई सैन्य सहयोगका लागि आग्रह गर्यो । फ्रान्सेली सेना, मालीको सेना र अफ्रिकी शान्तिसेनाले राजधानी बामाकोसहित अन्तरिम सत्ता जोगाउने र विद्रोहीको नियन्त्रणमा रहेको उत्तरी भूभागलाई मुक्त गर्न भीषण सैन्य कारबाही गरे । टुरेग विद्रोही समूहले मुलुकको उत्तरी भूभाग आफ्नो नियन्त्रणमा लिई केन्द्रीय सत्ता नै कब्जा गर्न राजधानी बामाकोतर्फ अघि बढेपछि अत्तालिएका अन्तरिम राष्ट्रपति डाइओन्कोन्डा ट्राओरले फ्रान्स सरकारलाई सैन्य कारबाही गर्न अनुमति दिनुभयो ।
फ्रान्सको नेतृत्वमा पश्चिमी शक्ति केन्द्रहरुले मालीलाई विद्रोहीको कब्जाबाट मुक्त गराउन र विद्रोहीलाई समाप्त पार्न भीषण आक्रमण गरे । तर विद्रोही तुलनात्मक रुपमा कमजार भएन । जारी युद्ध लम्बिने देखियो । त्यहाँ चरम मानवीय संकट आउनसक्ने भन्दै अधिकारवादीहरुले चिन्ता व्यक्त गरे । । युद्धमा त्यहाँ ठूलो मानवीय र भौतिक क्षति भयो । हजारौँ मानिस मारिए भने हजारौँ घाइते भए । लाखौँ मानिस ज्यान जोगाउन विस्थापित हुनुपर्यो ।
मुलुकको उत्तरी भागमा शक्तिशाली बन्दै केन्द्रीय सत्ता नै कब्जा गर्ने अभियानमा लागेको टुरेग विद्रोहीलाई दबाउन असफल भएको भन्दै विद्रोही सेना आमादो सानागोको नेतृत्वमा सैनिक व्रिद्रोह गरी राष्ट्रपति अमादु दुरानी टोर नजरबन्द गरेपछि राजनीतिक संकट झन् गहिरियो । सेनाले सत्ता हातमा लिएलगत्तै उत्तरी भूभागलाई स्वतन्त्र राज्य अर्थात् अजवाद स्टेट घोषणा गर्दै टुरेग विद्रोहीले हिंसात्मक गतिविधि झन् तीव्र बनायो । सैनिक नेतृत्वले एक डेढ महिनाभित्रैमा डाइओनकोन्डा ट्राओरलाई अन्तरिम राष्ट्रपति बनाई अन्तरिक नागरिक सरकारलाई सत्ता हस्तान्तरण गर्यो । यो घटनाले सेनाले सत्ता चलाउन नखोजेको देखियो । तर पनि परिस्थिति सहज बन्न सकेन । वाध्यात्मक स्थिति भन्दै विदेशी सेना मगाएर मुलुकको आन्तरिक विद्रोह दबाउनुपर्ने अवस्था आफैमा डरलाग्दो र अशोभनीय बन्यो । यसले मुलुक झन् तहसनहस बनाउने र विदेशी चलखेल अरु बढेर जाने भन्दै चिन्ता व्यक्त गरिए ।
एघारौँ शताब्दीतिर अस्तित्वमा आएको भूपरिवेष्ठित यो मुलुक विभिन्न हन्डर र ठक्कर खाँदै सन् १९६० मा फ्रान्सको उपनिवेशबाट स्वतन्त्र भएको हो । स्वतन्त्र भएको आठ बर्ष नबित्दै लेफ्टिनेन्ट जनरल मायुसा ट्राओरले सैनिक विद्रोह गरी सत्ता हातमा लिए । सैनिक विद्रोह सँगसँगै टुरेग विद्रोहका रुपमा जातीय विद्रोहको विजारोपण पनि भयो । त्यहीँबाट मालीको दुर्दिन सुरु भयो र अहिले सो विद्रोह नै प्रमुख चुनौती बनेको छ ।
२३ वर्षे सैनिक सत्तापछि सन् १९९१ मा प्रजातन्त्र त आयो तर जातीय विद्रोह समाधान भएन । एक वर्षपछि भएको प्रजातान्त्रिक निर्वाचनमा अल्फा कोनार राष्ट्रपति निर्वाचित हुनुभयो । कोनारका पहलमा सन् १९९५ मा विद्रोही टुरेगसँग शान्ति सम्झौता गरी विद्रोह समाधान गर्ने प्रयास गरिए पनि शान्ति सम्झौता कार्यान्वयन हुन नसक्दा विद्रोह रोकिएन ।
सन् २००२ अमादु दुरानी टोर राष्ट्रपति बन्नुभयो । उहाँ सन् २००७ मा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभयो । उदारखाले उहाँले टुरेग विद्रोही नेताहरुलाई सहमतिमा ल्याउने अथक प्रयास गर्नुभयो । तर उहाँको उदारतालाई दक्षिणपन्थी र विद्रोही दुवैले कमजोरी ठाने । विद्रोहीलाई दमन नगरेको भन्दै सेनाले नै विद्रोह गरी उहाँलाई नजरबन्द गरेपछि अहिले विद्रोही समाप्त पार्ने नाममा मुलुक नै विदेशी सेनाको क्रिडास्थल बन्यो । यस घटनाले मालीको आन्तरिक सुरक्षामात्र होइन क्षेत्रीय सुरक्षासमेत खतरामा परेको भन्दै छिमेकी नेताहरुले समेत चिन्ता व्यक्त गरे । वाह्य सैन्य हस्तक्षेपबाट विद्रोही समाप्त पार्ने मालीको प्रयास सफल हुन सकेन ।
मालीमा अबको बाटो भनेको विद्रोहीसँग वार्ता गरी मुलुकलाई राजनीतिक निकास दिनु हो । सत्ता हातमा लिएको सेनाले सर्वपक्षीय वार्ता गरी सहमति जुटाएर चाँडै नागरिक सरकारलाई सत्ता हस्तान्तरण गर्नुपर्छ । सेनाले सत्ता चलाउने सोच बनाएर बस्यो भने मालीको अवस्था अरु खराब भएर जानेछ । अन्तर्राष्ट्रिय सहयोग र समर्थन प्राप्त हुने छैन । जसले गर्दा मुलुक झन् अप्ठेरो अवस्थामा जानेछ ।