कतारको नयाँ श्रम कानुनबाट नेपाल उत्साहित

maitrinews

 

कतार । आप्रवासी कामदारले आफूखुशी रोजगारी परिवर्तन गर्न पाउने व्यवस्था गर्दै कतार सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक ३२,००० रुपैयाँ १,००० रियाल तोकेपछि नेपाली कामदारलाई फाइदा हुने अधिकारीले बताएका छन्।

नेपाली श्रमको प्रमुख गन्तव्य कतारमा रहेका नेपाली राजदूतले नयाँ कानुनी व्यवस्थालाई कतारी सरकारको अग्रगामी कदम भनेका छन्।

राजधानी दोहा नजिकै औद्योगिक क्षेत्रमा कार्यरत नेपाली श्रमिकले त्यहाँका धेरै नेपालीलाई नयाँ कानुनी व्यवस्थाबारे जानकारी नरहेको जनाएका छन्।

एउटा अधिकारवादी संस्थाले कतारको कदम सही दिशातर्फ उन्मुख भएको प्रतिक्रिया दिदैँ अझै पनि कामदारको अधिकार सुनिश्चित गर्न कडा अनुगमनका व्यवस्था कार्यान्वयन गरिनुपर्ने बताएको छ।

राजदूत नारद भारद्वाजले पछिल्लो कानुनी व्यवस्था कामदारहरूको हितमा रहेको बताए।

उनले भने, “न्यूनतम पारिश्रमिक वृद्धि हुनुपर्छ भन्ने माग लामो समयदेखिको माग हो।

पछिल्लो निर्णयले कामदारलाई आकर्षण र प्रोत्साहन दुवै गर्छ। यसले कतारमा काम गर्ने सबै कामदारलाई उत्साहित बनाएकाले सकारात्मक र अग्रगामी कदम नै भन्नुपर्छ।”

उनले सुरुको रोजगारदाताको पूर्वस्वीकृति नलिई अन्यत्र काम गर्न जान नपाउने व्यवस्थाको खारेजीले पनि धेरै नेपालीलाई फाइदा पुर्‍याउन सक्ने बताए।

भारव्दाज भन्छन्, “पूर्वस्वीकृतिको व्यवस्था हटाएपछि कामदारहरूले आफ्नो छनौटको कम्पनीमा काम गर्न पाउने भए र आफ्नो योग्यताअनुसार श्रमको मूल्य माग गर्न पाउने भए।ू

ूयो सकारात्मक कुरा हो तर कार्यान्वयन पक्ष कस्तो हुन्छ त्यो हेर्नुपर्छ।”