चीन र भारत सीमाको तनाव कम गर्न सहमत

maitrinews

 

नयाँ दिल्ली । सीमामा कायम रहेको तनावलाई कम गर्न चीन र भारतबीच पाँच बुँदामा सहमति भएको छ। सीमामा तैनाथ सैनिकको गतिविधि घटाउन र स्थितिलाई सहज बनाउने विषयमा दुई देशबीच सहमति भएको हो।

मस्कोमा भारतीय विदेश मन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबीच करिव साढे २ घन्टा छलफल भएपछि यस्तो सहमति भएको हो। साङ्घाई कोअपरेसन अर्गनाइजेसनको कार्यक्रममा सहभागी हुन् भारत र चीन दुवै मुलुकका विदेश मन्त्री रसियामा छन्।

शुक्रवार बिहान संयुक्त वक्तव्य जारी गर्दै सहमतिलाई औपचारिकता दिएका छन्, दुवै मुलुकले।

भारत(चीन सम्बन्धमा राजनीतिक नेतृत्वबाट विकास हुने सहमतिको श्रृङ्खलालाई दुवै पक्षले अनुसरण गर्ने तथा मतभेदलाई विवादित बनाउन नदिने सहमति भएको वक्तव्यमा उल्लेख छ।

साथै वक्तव्यमा अहिले सीमामा जे भइरहेको छ त्यो दुवै देशको प्राथमिकताको विषय नभएको उल्लेख छ। साथै सीमामा रहेका सैनिकबीच वार्ता जारी राख्ने, सैनिक सक्रियतालाई कम गर्न, दुरी कायम गर्ने र स्थितिलाई सहजिकरण गर्ने विषयमा सहमति भएको उल्लेख छ।

साथै चीन(भारतबीको सीमासँग सम्बन्धित सबै सम्झौता र प्रोटोकलहरुको पालना गर्ने, सीमा क्षेत्रमा शान्ति कायम राख्ने र तनाव बढाउनसक्ने खालका गतिविधिलाई नियन्त्रणमा राख्ने सहमति भएको छ।

साथै दुवै मुलुकका विशेष प्रतिनिधिबीच छलफलका लागि संयन्त्र तयार गर्ने विषयमा पनि छलफल भएको थियो।

दुवै देशका मन्त्रीहरुले स्थितिलाई सहज बनाउन सहमति जनाएका छन्। सीमा क्षेत्रमा शान्तिपूर्ण अवस्था कायम गर्न र सम्बन्ध सुधारका लागि नयाँ सिराबाट समझदारी गर्ने विषयले छलफलमा स्थान पाएको थियो।

गलवान उपत्यकामा दुई देशका सैनिकबीच हिंसात्मक भिडन्त भएयता भारत र चीन सीमामा तनाव कायमै छ। दुवै मुलुकले एक अर्कालाई आक्षेप लगाउँदै आएका छन्। पछिल्लो समय चीनले भारतीय सेनाले घुसपेठ गरेको आरोप लगाएको थियो। अर्कातिर भारतले चिनियाँ सैनिकले उत्तेजित बनाउन खोजेको दोषारोपण गरेको थियो।