सुन्दर बन्दै रानीपोखरी

maitrinews

 

काठमाडौ । भूकम्पपछि पुनर्निर्माणका लागि सुकाइएको रानीपोखरीमा करिब ५ वर्षपछि फेरि पानी भरिएको छ । एक समय कुरुप चौरमा परिणत भइसकेको रानी पोखरी फेरि लोभलाग्दो देखिएको छ ।
पोखरीको पानी जम्ने सतहसँगै वरिपरि पर्खाल परम्परागत शैलीमा बनाएर २ दिनदेखि केयूकेएल अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालयले यसमा करिब पौने ३ करोड लिटर पानी भरिसक्यो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर रमाजुमान मानन्धरका अनुसार भोलि साँझसम्म रानीपोखरीमा पानी पुरै भरिनेछ । भर्नका निम्ति करिब ३ करोड लिटर पानी हाल्नुपर्ने अनुमान छ ।

पोखरीको बीचमा बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बनिरहेको छ । मानन्धरका अनुसार मन्दिरको गजुर हाल्ने काम मात्रै बाँकी छ । वर्षाको पानी जम्मा हुन थाले पनि रानीपोखरी भरिन सकेको थिएन । यसमा डिप बोरिङ गरेर भर्न खोजिए पनि सम्पदा अभियान्ताको विरोधले रोकिएको थियो ।

२०७२ माघ २ गते भूकम्प दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले यसको पुनर्निर्माणको शिलान्यास गर्नुभएको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पोखरी तथा पुरतत्व विभागले मन्दिर पुनर्निर्माणको जिम्मा लिएका थिए । भक्तपुरका कालीगढ ल्याएर परम्परागत तवरले कालोमाटोको प्रयोग गरेर पोखरीलाई पानी अडिने बनाइयो ।

पानी कसरी भर्ने भन्ने अन्योलका बीच केयूकेएलले नै रानीपोखरी भर्ने पानी उपलब्ध गरायो, अब भोलि साँझसम्म रानीपोखरीमा टनाटन पानी भरिनेछ । र, संकटमा परिसकेको एउटा सम्पदाले पुनर्जीवन पनि पाउनेछ ।