दशैँसम्म तयार हुने बञ्चरेडाँडा ‘ल्याण्डफिल साइट’

maitrinews

 

काठमाडौँ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बञ्चरे डाँडा ‘ल्याण्डफिल साइट’ निर्माणको काम दशैं अगाडि नै सम्पन्न हुने बताउनुभएको छ ।

काठमाडौं र ललितपुरको फोहोर व्यवस्थापनका लागि नुवाकोट–धादिङको सीमा क्षेत्रस्थित बन्चरेडाँडामा निर्माणाधीन साइट निर्माणको काम दशैंअगाडि नै सम्पन्न हुने राज्यमन्त्री मानन्धरले बताउनुभयो ।

निर्माणस्थलको अनुगमनपछि राज्यमन्त्री मानन्धरले करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

ल्याण्डफिल साइट निर्माण आयोजनाका सुपरभाइजर कमल पोखरेलले बर्खाको समय र लकडाउनका कारण केही ढिला भएपनि अहिले काम तीव्र गतिमा अगाडि बढिरहेको बताउनुभयो ।

बन्चरे डाँडामा काठमाडौं, ललितपुर महानगरपालिका र १६ नगरपालिकाको फोहोर व्यवस्थापन हुनेछ। बन्चरेडाडाँमा ल्याण्डफिल साइट निर्माणका लागि संघीय सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

नुवाकोटकै सिसडोलमा २ वर्षका लागि अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने भनिए पनि वर्षौसम्म फोहोर व्यवस्थापन गरिँदा साइट भरिएको छ।

बञ्चरे डाँडामा सामान्य अवस्थामा फोहर विसर्जन गर्दा २५ वर्ष र स्यानेटरी ल्याण्ड फिल्ड गर्दा कम्तीमा ५० वर्षका लागि उपत्यकाको फोहर व्यवस्थापन हुन सक्ने मन्त्री मानन्धरले जानकारी दिनुभयो ।