फिनसेन फाइल्सको विश्वव्यापी खुलासा, २१ खर्ब डलर कालोधन ओसारपसार

maitrinews

 

न्युयोर्क । अमेरिकाको फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क फिनसेनबाट प्राप्त शंकास्पद आर्थिक कारोबारका गोप्य कागजातले एशिया तथा युरोपका विभिन्न मुलुक र अमेरिकामा शंकास्पद धनको ओसारपसार तथा सम्पत्ति शुद्धीकरण गर्ने प्रयास भइरहेको देखाउँछ ।

अपराधीकरणलाई बढावा दिने गरी भइरहेका यी गतिविधिको असर भने सामान्य नागरिकहरूमा परेको छ । खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट ९आईसीआईजे०’ र अमेरिकी संचार संस्था बजफिड न्यूजसहित संसारभरका ४०० बढी पत्रकारको समूहले १६ महीना लगाएर गरेको अनुसन्धानले कालोधनको ओसारपसार र सम्पत्ति शुद्धीकरणका प्रयास सम्बन्धी खोज सार्वजनिक भएको हो । फिनसेनबाट प्राप्त गरेको गोप्य कागजातहरू अनुसार, अमेरिका, रूस, चीनलगायतका विश्वका शक्तिशाली राष्ट्रसहित नेपाल जस्ता विपन्न मुलुकहरूमा भइरहेका आर्थिक अपराधका घटना उजागर गरेको छ ।

विवरणहरूले, नेपाल र भारतबाट चोरिएका बौद्ध र हिन्दू धर्मसँग सम्बन्धित प्राचीन कलाकृतिहरू ९मूर्ति, पेन्टिङलगायत० अमेरिकाको न्यूयोर्क लगेर बेचेको देखिन्छ । मध्यपूर्वी मुलुकमा भने सुन प्रशोधन कम्पनीहरूले गरेका शंकास्पद आर्थिक कारोबार उजागर भएका छन् । ‘फिनसेन फाइल्स’ नाम दिएको उक्त गोप्य विवरणमा सन् १९९९ देखि २०१७ सम्म अमेरिकाका बैंक र वित्तीय संस्थामार्फत भएका शंकास्पद आर्थिक गतिविधि समेटिएका छन् ।

अमेरिकाका वित्तीय संस्थाहरूले फिनसेनलाई बुझाएका विवरणमा ठगी र कर छलीको आरोप लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका चुनावी अभियानका प्रमुख सहयोगी पल म्यानाफर्ट पनि मुछिएका छन् । अमेरिकाको जेपी मोर्गन चेज बैंकले आफ्नो बैंकमार्फत म्यानाफर्ट र उनका सहयोगीका ‘शेल कम्पनी’ ९शंकास्पद धनको ओसारपसारमा प्रयोग हुने निष्क्रिय कागजी कम्पनी० को बीच शंकास्पद कारोबार भएको उल्लेख गरेको छ । रूस र युक्रेनका उच्चपदस्थ राजनीतिकर्मीसँग सम्बन्ध रहेका म्यानाफर्ट र उनका सहयोगीका शेल कम्पनीको बीचमा सन् २०१७ सम्म शंकास्पद तरिकाले रकम आदानप्रदान हुँदै आएको चेज बैंकले फिनसेनलाई बताएको थियो ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको ‘निजी बैंक’ ९पिग्गी बैंक० भनेर चिनिने भीटीबी बैंकका कारोबारदेखि भेनेजुएलाका ठूला व्यापारी यो शंकास्पद लेनदेनमा मुछिएका छन् । विवरण अनुसार, विश्वमा नाम चलेका र धनीमध्येका बैंकहरू सम्पत्ति शुद्धीकरणको मामिलामा मुछिएका छन् । चेज, एचएसबीसी, बारक्लेज र डोइच बैंक लगायतले फिनसेनलाई बुझाएका दस्तावेजले प्रष्ट पार्छ– संसारका कुनाकुनासम्म अवैध धनको ओसारपसार भइरहेको छ ।

ती बैंकहरूमार्फत विश्वका विभिन्न देशहरूबाट सार्वजनिक जानकारीमा नभएका ‘कागजी’ र सीमापार खोलिएका ‘अफसोर कम्पनी’ का खातामा रकम पठाइएको छ । विभिन्न मुलुकका ‘ओलीगार्क’ ९राजनीतिक प्रभाव र पहुँच भएका धनी व्यापारी० र तानाशाह ९डेस्पट० हरूले अवैध कारोबार गर्दा पनि बैंकहरूले दबाब महसूस गरी त्यस्ता कारोबार रोक्न असफल भएको दस्तावेजहरूले देखाउँछन् ।

फिनसेनको ‘सस्पिसियस एक्टिभिटी रिपोर्टस््’ ९शंकास्पद गतिविधिहरूको प्रतिवेदन– सार० ले बैंकहरू अवैध धनको कारोबार रोक्न असफल भएको मात्र होइन, ती कारोबारले कसरी अपराधीकरणलाई बढावा दिइरहेको छ भन्ने पनि देखाएको छ । यी अवैध कारोबारको असर भने सामान्य नागरिकहरूमा परेको छ । “सामान्य मानिसलाई सम्पत्ति शुद्धीकरण र अफसोर कम्पनीबारे जानकारी नहुन सक्छ” कार्नेगी इन्डावमेन्ट फर इन्टरनेशनल पिसकी विज्ञ जोडी भिट्टोरीले भनिन्, “तर हरेक दिन उनीहरूले यसको मूल्य चुकाइरहेका हुन्छन् ।”

अमेरिकामा लागूऔषधको ओसारपसार र सम्पत्ति शुद्धीकरण

फिनसेनबाट प्राप्त आर्थिक कारोबार सम्बन्धी गोप्य कागजातले चीनदेखि अमेरिकामा लागूऔषध ९ओपीओइड० को कारोबार भइरहेको देखाउँछ । त्यस्तो कारोबारमा सम्पत्ति शुद्धीकरणको आरोप लागेका व्यक्तिहरू संलग्न छन् । सन् २०१७ मा एन्थनी गोम्स नाम गरेका व्यक्तिले चीनदेखि अमेरिकासम्म लागूऔषधको तस्करी र सम्पत्ति शुद्धीकरण गर्ने गरेको स्वीकारेका थिए । गोम्सले लुकीछिपी अमेरिकासम्म पुर्‍याउने ‘फेन्टनिल’ नामक लागूऔषधको प्रयोगबाट थुप्रै अमेरिकीहरूको मृत्यु समेत भएको थियो । ‘चाइना हृवाइट’ को नामले पनि चिनिने ‘फेन्टनिल’ संसारमा उपलब्ध एक घातक लागूऔषध हो ।

यति मात्र होइन, तस्करहरूले ‘मोर्फिन’ भन्दा पनि दशौं हजार गुणा बढी घातक लागूऔषधहरू चीनको वुहानस्थित रसायन प्रयोगशाला ९केमिस्ट ल्याब०बाट अमेरिकाका बस्ती–बस्तीसम्म पुर्‍याउने गरेका छन् । वुहानबाट ‘फेन्टनिल’को कारोबार गर्ने जिआओबिङ यान सहितका व्यक्तिलाई प्रतिबन्धित लागूऔषध कारोबार गरेको भन्दै अमेरिकाले खोजी गरिरहेको छ ।

लागूऔषध तस्करहरूले मनीग्राम इन्टरनेशनल, बैंक अफ अमेरिका र ‘अफसोर’ बैंक खातामार्फत सजिलै आर्थिक लेनदेन गर्ने गरेको भेटिएको छ । आफ्ना गतिविधिहरू अरूले थाहा नपाउन् भन्नको लागि उनीहरूले लुकाईछिपाई कुराकानी ९इन्क्रिप्टेड कम्युनिकेशन० गर्ने गरेको विवरणहरूमा उल्लेख छ ।

सम्पत्ति शुद्धीकरणको लागि सहयोग पुग्ने गरी आर्थिक कारोबार गरेको खुलेपछि मनीग्राम इन्टरनेशनलले सन् २०१८ मा अमेरिकी सरकारलाई १२५ मिलियन डलर जरिवाना तिरेको थियो । “हातमा मोबाइल भएपछि जो–कोही पनि तस्कर हुन सम्भव छ” अमेरिकाको लागूऔषध तस्करी विरुद्धको नियामक निकाय ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसनका डोनाल्ड आइएमले भने, “तस्करहरूले बैंकिङ प्रणालीका हरेक तरिकाहरू प्रयोग गर्न सक्छन् ।”

सन् २०१८ मा अमेरिकामा ३१ हजार भन्दा बढी व्यक्तिको ‘फेन्टनिल’ लगायतका ‘सिन्थेटिक ओपीओइड’ प्रयोगका कारण ज्यान गएको थियो । अमेरिकाको ट्रेजरी डिपार्टमेन्ट भन्छ– आर्थिक अपराधले लागूऔषध ओसारपसारलाई झन् सजिलो बनाइदिएको छ । विना रोकतोक भइरहेको कालोधनको ओसारपसार बन्द गर्नु नै आपराधिक क्रियाकलाप घटाउनको लागि पूर्वशर्त भएको नियमनकारी निकायका अधिकारीहरू बताउँछन् ।

राष्ट्रपतिको पकेट मनी अर्बौं डलर

सन् २०१६ तिर, मध्य एशियाली मुलुक तुर्कमेनिस्तानको अर्थतन्त्र ओरालो लागिरहेको थियो । स्थानीय मुद्रा ९मनेत०को मूल्य झन्झन् घटिरहेको थियो । आकाशिएको महँगीले मानिसहरू खान लाउनै नपुग्ने अवस्थामा पुगेका थिए । पसलहरू रित्ता देखिन्थे । तैपनि, खानेकुरा पाइन्छ कि भनेर सरकारी सुपरमार्केट बाहिर मानिसहरू पर्खिरहेका हुन्थे । तुर्कमेनिस्तानको राजधानी अस्गाबाद् ९जसको शाब्दिक अर्थ हुन्छ, प्रेमको सहर० मा सामान्य नागरिकले दिनको २३ डलरभन्दा धेरै रकम बैंकबाट निकाल्न पाउँदैनन् ।

तर यहाँका राजनीतिक र व्यापारिक घरानाका व्यक्तिले अर्बौं डलरको शंकास्पद धन ‘अफसोर कम्पनी’ र विश्वका विभिन्न बैंकहरूमा पुर्‍याएको खुलेको छ । फिनसेनबाट प्राप्त विवरण अनुसार, सन् २००१ पछिको डेढ दशकमा तुर्कमेनिस्तानमा १।४ बिलियन डलरको शंकास्पद कारोबार भएको छ ।

यहाँबाट यूके, स्कटल्याण्ड लगायतका देशमा शंकास्पद तरिकाले रकम पठाएको देखिन्छ । एउटा उदाहरण, तुर्कमेनिस्तानको व्यापार मन्त्रालयले स्कटल्याण्डस्थित इन्टरगोल्ड एलपीलाई पठाएको १।६ मिलियन डलर । जुन रकम अस्गाबाद्स्थित व्यापार मन्त्रालयको खाताबाट न्यूयोर्कस्थित डोइच बैंक हुँदै लाट्भियामा रहेको इन्टरगोल्ड एलपीको खातामा पुगेको छ । तर, यो कारोबार कुनै वैधानिक कामको लागि भएको हो भनेर खुल्दैन ।

भ्रष्टाचारको विरुद्ध काम गर्दै आएको समूह ग्लोबल विट्नेसका अनुसार, तुर्कमेनिस्तानको एकतिहाइ राजश्व डोइच बैंकमा छ, जसमा पूर्व राष्ट्रपति सपरमुरत नियाजोभको मात्र पहुँच थियो । बैंकमा भएको अर्बौं डलरलाई कतिपयले उनको ‘पकेट मनी’ भन्थे ।

भोकमरी, भ्रष्टाचार र राज्यको दमनका कारण तुर्कमेनिस्तानको अस्गाबाद्लाई आजभोलि कतिपयले ‘मृत शहर’ भन्छन् । फ्रिडम हाउस नामक गैरसरकारी संस्थाले तुर्कमेनिस्तानलाई उत्तरकोरिया भन्दा पनि बढी निरंकुश र विश्वका चार खराब मध्येको पनि खराब ९वर्स्ट अफ दि वर्स्ट० मुलुक मध्येको एक भनेको छ ।

अफ्रिकी खेलाडीलाई रूसको घूस, ओलम्पिक्समा घोटाला

पश्चिम अफ्रिकी मुलुक सेनेगलका पूर्व खेलाडी तथा इन्टरनेशनल एशोसिएसन अफ एथलेटिक्स फेडेरेसन ९आईएएएफ० का अध्यक्ष लमिन डियाकले अफ्रिका, युरोप र मध्यपूर्वका देशहरूमा शंकास्पद धन आदानप्रदान गरेको देखिन्छ । छोरा पापा मस्साटा डियाकसँग मिलेर उनले २०१६ मा १०० भन्दा बढी शंकास्पद कारोबार गरेका थिए । डियाक बाबुछोरा ती व्यक्ति हुन्, जसले सन् २०१२ को लण्डन ओलम्पिक्सको बेला रूसको खेलकुद मन्त्रालयबाट ३।८ मिलियन डलर घूस लिएका थिए ।

ओलम्पिक्समा सहभागी रूसका खेलाडीले खेल क्षमता बढाउने पदार्थ ९पर्फमेन्स इन्हृयान्सिङ सब्स्ट्यान्सेस० प्रयोग गरेको देखिने मेडिकल रिपोर्ट लुकाउनको लागि डियाकलाई रूसी खेलकुद मन्त्रालयले रकम दिएको थियो । ओलम्पिक्स लगत्तै सन् २०१३ मा सेनेगलको पमोदजी कन्सल्टिङ्गले डियाकसहित रूसको स्पोर्टस् फेडेरेसन र फ्रान्सका केही व्यापारीलाई १।२५ मिलियन डलर पठाएको थियो । डियाकले ओलम्पिक्स खेलकुदको बेला विभिन्न देशका खेलकुद प्रशिक्षक, चिकित्सक र मन्त्रीहरूलाई रकम पठाएको फिनसेन प्रतिवेदनमा देखिन्छ ।

विवरण अनुसार उनीहरूले धेरै वर्षदेखि सिटी बैंकमार्फत लण्डन, सिंगापुर, दोहा, मस्को, बेइजिङ, पेरिस लगायतका ठाउँहरूमा रकम पठाउँदै आएका थिए । तर त्यसको दुई वर्षपछि मात्र सिटी बैंकले थाहा पायो कि ती कारोबारहरू ओलम्पिक्स घोटाला प्रकरणकै अंश थिए ।

सन् २००७ देखि २०१५ मा डियाक पक्राउ पर्ने बेलासम्म सीटी बैंकले ५५।७ मिलियन डलरको शंकास्पद कारोबार भएको विवरण फिनसेनलाई बुझाएको छ । डियाक बाबुछोराको यो घोटाला प्रकरण बाहिर आएपछि बाबु डियाक विरुद्ध फ्रान्सको एक अदालतमा मुद्दा चलिरहेको छ । ओलम्पिक्समा पदक प्राप्त गरेका थुप्रै रूसी खेलाडीले पाएको मेडल खोसिएको छ ।

तर यसको असली मूल्य भने हार्ने खेलाडीहरूले चुकाउनु परेको छ । जस्तो, ‘स्टिपलचेज’ नामको एक दौड प्रतिस्पर्धामा सहभागी रूसकी एक खेलाडीले लागूऔषध प्रयोग गरेका कारण ट्यूनिसियाकी हाबिबा घ्रिबीले हारिन् । हारसँगै उनले लाखौं डलर र थुप्रै स्पन्सरसीप गुमाइन् । ‘च्याम्पियन र रनरअप एउटै चिज होइनन्,’ घ्रिबीले भनिन् ।

युक्रेनको कोइलाखानी लूटको केन्द्र

भ्रष्टाचार विरोधी अभियन्ता, कर्मचारी र अधिकारीका अनुसार, युक्रेनको बझानोभ कोइलाखानी ‘क्लेप्टोक्र्याट’ ९राजनीतिक शक्तिको आडमा मुलुकको स्रोतसाधन दोहन गर्ने व्यक्ति वा माफिया० हरूको लूटको स्रोत हो । युक्रेन सरकारको स्वामित्व रहेको यो कोइलाखानीको एक टावर भत्किंदा सन् २०११ मा ११ जनाले ज्यान गुमाएका थिए । यहाँ काम गर्ने कामदारलाई न्यूनतम सुरक्षाको प्रबन्ध छैन ।

तर यस कोइलाखानीलाई सामग्री उपलब्ध गराउने कम्पनी टोर्नाटोरी होल्डिङ्स लिमिटेड थुप्रै शंकास्पद आर्थिक कारोबारहरूमा संलग्न भएको भेटिएको छ । टोर्नाटोरीले न्यूयोर्कको डोइच र रूसकै ग्लोबेक्स बैंकमार्फत शंकास्पद तरिकाले रकम आदानप्रदान गर्ने गरेको देखिएको छ । सन् २०११ मा बझानोभ कोइलाखानीको लेखा परीक्षण गरेको एक एजेन्सीले २०५ मिलियन डलरको आर्थिक अपचलन भएको भेटेको थियो ।

साइप्रसको टोर्नाटोरी होल्डिङ्स युक्रेनका पूर्व राष्ट्रपति भिक्टर यानुकोभिचको निकट मानिने राजनीतिकर्मी यूरी इभानयूशचेन्कोको हो । इभानयूशचेन्को २०१४ मा युक्रेनमा भएको क्रान्तिपछि बेपत्ता छन् । ऊर्जाका विभिन्न परियोजनामार्फत अर्बौं डलर आर्थिक अपचलन गरेको भन्दै युक्रेन र स्वीट्जरल्याण्डका अधिकारीहरूले उनको खोजी गरिरहेका छन् ।

फिनसेन फाइल्स खुलाका अनुसार यो अवधिमा कुल २० खर्ब ९९ अर्ब ५८ करोड ५९ लाख २७ हजार २७५।४७ अमेरिकी डलरको शंकास्पद कारोबार भएको देखिन्छ । जुन इटालीको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० बराबरको रकम हो ।