‘हिउँचितुवा आङरिता शेर्पाको निधन

 

काठमाडौँ । बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको निधन भएको छ । सोमबार बिहान १० बजे उनको आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको उनका आफन्त नुरछेपाल शेर्पाले जानकारी दिए ।

सोलुखुम्बुको थामेमा जन्मिएका ७२ वर्षीय ‘हिउँचितुवा’ का नामले चिनिने आङरिताको पार्थिव शरीर अहिले शेर्पा गुम्बामा लैजाने तयारी भइरहेको छ । बुधबार बौद्ध परम्पराअनुसार दाहसंस्कार गर्ने तयारी गरिएको छ । उनले सन् १९८३ देखि सगरमाथाको आरोहण सुरु गरेका थिए ।

सन् १९९६ मा बिनाअक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थियो । सर्वोच्च शिखर सगरमाथा मात्रै नभई बिनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उनले पटक(पटक आरोहण गरेका छन् ।