माछा पोखरीमा डुबेर आमा र दुई छोरीको मृत्यु

maitrinews

 

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–४ मोतीपुरमा माछा पोखरीमा डुबेर एकै परिवारका तीनजनाको मृत्यु भएको छ । ग्रामथान–४ बनसखण्डीका बस्दै आएकी ३५ वर्षीया सीता कटवाल अधिकारी, उनकी १३ वर्षीया छोरी पवित्रा र ९ वर्षीया छोरी कृतिकाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार आइतबार दिउँसो माछा पाल्ने पोखरीमा सीताका दुई छोरी पसेर फसेपछि उद्धारका लागि गएकी आमासहित तीनैजनाको मृत्यु भएको आशंका गरिएको छ ।
पोखरीमा दुई छोरी डुबेपछि सीता उद्धार गर्न गएको हुनसक्ने प्रहरीले अनुमान गरेको हो । आमाको शव कपडा लगाएकै अवस्थामा फेला परेको थियो भने ९ वर्षीया कृतिका नाङ्गै र १३ वर्षीया पवित्रा भित्री बस्त्र लगाएको अवस्थामा मृत भेटिएको प्रहरी निरीक्षक ढकालले जानकारी दिनुभयो ।
घटनाको प्रकृति हेर्दा दुई छोरी पौडी खेल्न पसेको र आमा उद्धार गर्न पोखरीमा पसेको देखिन्छ, प्रहरी निरीक्षक ढकालले भन्नुभयो–घटनाको थप अनुसन्धान जारी छ । प्रहरीका अनुसार सीताका श्रीमान नौ वर्षयता सम्पर्क बिहीन छन् । कान्छी छोरी दुई महिनाकी हुँदा श्रीमान बेपत्ता भएपछि सीता दुई छोरीसहित माइतमा बस्दै आउनु् भएको थियो ।
माइती घरमा माछा पाल्नका लागि पोखरी बनाइएको थियो । त्यहि पोखरीको रेखदेख गर्ने जिम्मा सीतालाई रहेको परिवारमार्फत प्रहरीले सूचना पाएका हो । उनीहरु पोखरीमा डुबेको जानकारी परिवारले समेत साँझमा मात्रै थाहा पाएका थिए । त्यसपछि प्रहरीलाई खबर गरेर बेलुका पोखरीबाट शव निकालिएको थियो ।
प्रहरीले बेलुका ८ बजे शव पोखरीबाट निकालेर पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगरमा ल्याइएको थियो । प्रहरीले मृतकमध्ये कान्छी छोरीले कपडा नलगाएको र १३ वर्षीय छोरीले भित्री बस्त्र लगाएको अवस्था देखिनु र आमा कपडामै भेटिनुले डुबेरै मृत्यु भएको प्रारम्भिक अनुमान गरेको छ ।
बेलबारीका प्रहरी निरीक्षक ढकालले घटनाको थप अनु्सन्धान सुरु गरिएको जानकारी दिनुभयो ।