६ महिनापछि सामुदायिक विद्यालय खुल्दा विद्यार्थी फुरुङ्ग

 

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७, महादेवस्थानस्थित प्रभात माध्यमिक विद्यालयले गत असारमा अनलाइन कक्षा सञ्चालनका लागि विद्यार्थीहरूको लगत संकलन गर्‍यो । इन्टरनेट र मोवाइल(ल्यापटप भएका विद्यार्थी संख्या एउटा कक्षामा ६र७ जना भन्दा बढी भएनन् ।

‘हाम्रा विद्यार्थीसँग पनि इन्टरनेट र डिभाइस भएन, हामीले किनेर दिन पनि सकेनौं’ विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद रुपाखेती भन्छन्, ‘कुनै विकल्प नभएपछि चाहेर पनि विद्यार्थीलाई पढाउन सकेनौं ।’

निरन्तरको लकडाउन र निषेधाज्ञा कारण हात बाँधेर बस्नुको विकल्प थिएन । सरकारले निषेधाज्ञा खुकुलो बनाएसँगै चन्द्रागिरि नगरपालिकाले सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन अनुमति दियो । त्यतिमात्रै होइन, नगरपालिकाले शिक्षक(विद्यार्थीमा संक्रमण देखिइहाले उपचार गर्छौं भनेर आडभरोसा समेत दियो ।

असोज १ गतेदेखि विद्यालय सञ्चालनमा आयो । प्रधानाध्यापक भन्छन्, ‘६ महिनापछि विद्यार्थीहरू उफ्रेको देख्दा मन पनि चंगा हुँदोरहेछ ।’

८५० मध्ये ५५० विद्यार्थी भर्ना भइसकेका छन् । उनीहरू पालैपालो विद्यालय जान्छन् । बिहान १० बजे र १२ बजे गरी दुई सिफ्ट सञ्चालन भएको छ ।

विद्यार्थीलाई एक हप्ताभरिलाई पुग्ने गृहकार्य दिएर पठाउने गरिएको प्रधानाध्यापक रुपाखेतीले जानकारी दिए ।