टाट पल्टिए भारतीय धनाढ्य अनिल अम्बानी

maitrinews

 

नयाँदिल्ली । भारतीय धनाढ्य अनिल अम्बानी टाट पल्टिएका छन् । सन् २००८ मा फोर्ब्सले प्रकाशित गर्ने विश्वभरका धनाढ्यहरुको सूचीमा छैटौं स्थान ओगटेका थिए अनिलले । त्यसबेला उनीसँग ४२ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति थियो, जुन अब इतिहास भयो । १२ वर्षको अवधिमै उनी अकल्पनीयरुपले टाट पल्टिएका छन् ।

गत सोमबार लन्डनको अदालतमा अनिल आफूसँग सम्पत्तिको नाममा एउटा कार मात्रै भएको भनेर आफ्नो गरिबीको चित्र देखाइरहेका थिए । वकिलको शुल्क तिर्नका लागि आफूले श्रीमतीको गरगहनासमेत बेचेर सिध्याएको उनले सुनाए ।
अनिलले यो १२ वर्षमा आफ्नो सबै ब्यापार–व्यवसाय चौपट पारेकोचाहिँ सत्य हो ।

दाजु मुकेश अम्बानी अहिले सम्पत्तिमाथि सम्पत्ति थुपारिरहेका छन् । फोर्ब्सको पछिल्लो विश्व वरियतामा उनको सातौं स्थान छ । उनी भारतका नम्बर एक धनाढ्य हुन् । मुकेशसँग अहिले ७८ अर्ब डलरभन्दा बढीको खुद सम्पत्ति छ । जबकि अनिलचाहिँ आफूसँग एउटा कार मात्रै बाँकी भएको बताइरहेका छन् ।

मुकेश र अनिलबीच १५ वर्षअघि सम्पत्तिको बराबर बाँडफाँट भएको थियो । तर, अहिले यी दुईको आर्थिक स्थितिमा कुनै तुलना छैन । दुई वर्षको अन्तरालमा जन्मेका दुई छोराबीच यस्तो असन्तुलनको कल्पना उनीहरुका पिता धिरुभाइ अम्बानीले जीवित छँदा सायदै गरेका थिए ।