लगन बहालको मल्लकालिन इतिहास मेट्ने चलखेल, पुरातत्व विभागको उदासिनता

Mohan Bastola

काठमाडौँ । करीब ४ सय वर्ष पुरानो इतिहास बोकेको लगं बहाः (लगन बहाल) को पुरातात्विक महत्वलाई अस्तित्वविहीन बनाउने प्रयासको आरम्भ भएको भन्दै स्थानीयले असन्तुष्टी व्यक्त गरेका छन् ।  केही व्यक्तिहरुले  प्रताप मल्लकालिन इतिहासलाईनैअस्तित्वविहीन बनाउने गरी मुद्धामामिलाको थालनी भएकोे भन्दै लगनटोलबासीले ऐतिहासिक सम्पदा संरक्षणका लागि एकतावद्ध भई त्यस्ता चलखेललाई निष्क्रिय बनाइदिने चेतावनी दिएका छन् । शिलखाना नमास्न माग गर्दै त्यो भन्दा धेरै पुरानो इतिहास बोकेको लगन बहाललाई ओझेलमा पार्ने काम भएपछि स्थानीय थप आक्रोशित भएका हुन् ।

‘प्राचिनकालमा दक्षिण कोलिग्राम सभ्यताले परिचित काठमाडौँको तल्लो भेगको क्षेत्र (कोने)मा अवस्थित लगं बहाः ऐतिहासिक तथा पुरातात्विक महत्वको बिहार हो,’ स्थानीय शैलेश शाक्यले भन्नुभयो, ‘ती विहारमध्ये निर्माण गर्ने भनिएको लगं पार्क क्षेत्रमा प्रताप मल्लको पालामा नै बौद्ध विहार अस्तित्वमा रहेको इतिहास छ । उक्त क्षेत्रमा प्रताप मल्लका छोराहरु नृपेन्द्र मल्ल र चक्रबदेन्द्र मल्लका पालाका शिलालेखहरु तथा चैत्यहरु अहिलेसम्म पनि यत्रतत्र छरिएर रहेका छन् ।’ उहाँका अनुसार प्रताप मल्लको पालादेखि नै अस्तित्वमा रहेको उक्त ठाउँको विहार किर्तिपुण्य महाविहार लगं बहाको कचा बहा (शाखा विहार)को रुपमा अवस्थित थियो ।
तर, अहिले भीमसेन थापाको भाईको इतिहाससँग जोडेर प्रताप मल्लकालिन ऐतिहासिक महत्वलाई ओझेल पार्ने काम भैरहेको स्थानीयहरुको गुनासो छ । ‘भीमसेन थापाका भाई रणवीरसिंह थापा (स्वामी अभयानन्द) को घरको मात्रै इतिहास उल्लेख गरी त्यहाँ रहेको तबेलाको समेत कुरा उल्लेख नगरी  इतिहासलाई तोडमोड गर्ने काम भैरहेको छ,’ उहाँले भन्नुभयो, ‘नृपेन्द्रमल्लका पालाको चैत्य तथा अन्य विहार र वास्तुकला अनुसारका कलाकृति अहिले पनि त्यहाँ पाइन्छ । त्यसले पनि यो मल्लकालिन सम्पदा हो भन्ने प्रमाण हुन्छ ।’

अन्तिम मल्ल राजा जयप्रकाश मल्लले दोस्री महारानी लगं बहालको शाक्य कुलकी पुत्री रहेको र उनको छोरालाई दरबारमा राजकुमार बनाउने चाहना पूरा नभएपछि मावली टोलमै भएको बिहार लगं बहालमा बौद्ध परम्परा अनुसार चुडाकर्म (बरे छुयेगु) गरी विहार संघको सदस्य बनाएको इतिहास छ । शाक्यले छोराहरुलाई लगं बहालकोे बाहिर पट्टि रहेको अर्को विहार (जहाँ अहिले पार्क बनाउन लागिएको हो उक्त ठाउँमा) मा प्रतापमल्ल कालीन विहार जीर्णोद्वार गरी आफ्नो छोराहरुलाई बौद्ध विहारमा स्थापित गरेको इतिहास प्रमाण रहेको पनि जानकारी दिनुभयो ।

अहिले पनि त्यस स्थानमा ऐतिहासिक विहारका बौद्ध चैत्यका साथै विहारसँग सम्बन्धित अन्य मुर्ति र शिलापत्रसहितका भग्नावशेषहरु भेटिनुले पनि त्यहाँ बौद्ध विहार रहेको तथ्यलाई कसैले नकार्न नसकिने उहाँको तर्क छ । ‘जयप्रकाश मल्लले वि.सं. १८०१ मा उक्त विहारमा बज्रधातू मण्डल तगायत अन्य बौद्ध मूर्तिहरु स्थापना गरेको विभिन्न शिलालेखको अध्ययनबाट प्रमाणित हुन्छ । त्यसैले यो क्षेत्र पौराणिक ऐतिहासिक तथा पुरात्वात्विक दृष्टिले अति नै महत्वपूर्ण स्थान हो,’ शाक्यले भन्नुभयो, ‘भिमसेन थापाका भाइलाई निर्माण गरिएको निजी निवास र तबेला भन्दा मल्लकालिन बौद्ध विहार ऐतिहासिक तथा पुरात्वात्विक दृष्टिकोणले पनि महत्वपूर्ण रहेको छ । त्यहाँ निर्माण गरेका बौद्ध विहार यहीँका स्थानीय जनताको पुर्खौली सम्पत्ति पनि हो । तर, अहिले रणबीरसिंह थापाको मात्रै इतिहास जोडेर मल्लकालिन इतिहास मेटाउने काम भएको छ । त्यसमा हाम्रो ध्यानाकर्षण भएको छ ।’

उहाँले उक्त ऐतिहासिक स्थानमा काठमाडौँ महानगरपालिकाले पार्क निर्माण गर्ने जानकारी पाएपछि आफूहरुले २०७६ साल जेठमा काठमाडौँ महानगरपालिका सहरी योजना आयोगमा अस्तित्वमा रहेको बौद्ध विहार नै पुर्ननिर्माण गर्न माग गर्दै निवेदन दिएको पनि जानकारी दिनुभयो । काठमाडौँ माहानगरपालिकाले ऐतिहासिक र पुरात्वात्तिक महत्वलाई जिवित राख्दै पार्क निर्माण गर्न पटक–पटक छलफल गरेपछि आफूहरु सकारात्मक भएको स्थानीयहरुको भनाइ छ । काठमाडौँ महानगरपालिकाले पनि स्थानीय र थापाहरुसँगको पटक–पटकको छलफलपछि लगन विहार र शिलखाना दुबैको ऐतिहासिक महत्वलाई जिवित राख्दै खुला ठाउँको सदुपयोग गरी पार्क निर्माणको योजना अघि बढाएको जानकारी दिएको छ । घना बस्ती रहेको भित्रि सहरको यो ऐतिहासिक तथा अद्वितिय कलाकृति भएको स्थानमा पुरातात्विक महत्वलाई जगेर्ना गर्दै सर्वसाधारणलाई स्वच्छ हावा लिने वातावरण निर्माण होस भन्ने हेतुले पार्क निर्माणको कार्य अघि बढाएको पनि काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ ।

‘पार्कसँगै ऐतिहासिक दस्तावेज र पुरात्वात्विक महत्वका सामग्री राख्नका लागि संग्राहलय निर्माण गर्ने गरी काठमाडौँ महानगरपालिकाले डिजाइन तयार पारेपछि र नाम पनि इतिहास नमेटिने गरी लगंपार्क राख्ने भनेपछि हामी सकारात्मक भएका हौँ,’ स्थानीय रिपक शाक्यले भने, ‘लगन टोल ऐतिहासिक महत्वको स्थान हो । भित्रि सहरमा घना बस्ती रहेको र खुला ठाउँ पनि निकै कम रहेको अवस्थामा खुला ठाउँको संरक्षण गर्दै सर्वसाधारणलाई स्वच्छ हावा लिने वातावरण निर्माण गर्दै पार्क निर्माण गर्ने कुरामा हाम्रो समर्थन छ । तर, इतिहास नै मासेर संरचना निर्माण गर्ने काम हुन्छ भने कानुनी लडाईँको बाटो खोज्न बाध्य हुनेछौँ ।’

उहाँले लामो समय प्रधानमन्त्री बनेका भिमसेन थापाले उक्त क्षेत्र अतिक्रमण गर्दै शाक्यहरुलाई स्थानान्तरण गरी घर र तबेला बनाएको इतिहास रहेको पनि स्मरण गराउनुभयो । ‘उक्त घरमा प्रधानमन्त्री भिमसेन थापाका भाई रणवीर सिंह थापालाई बस्ने व्यवस्था मिलाएका थिए,’ शाक्यले भन्नुभयो, ‘भिमसेन थापाको पतनपछि थापा परिवारलाई सर्वस्व हरणसहित देश निकाला गरेपछि उनीहरु छिन्नभिन्न भएका थिए । धेरै जस्तो भारततिर पनि भागेको इतिहास छ ।’

पछि राजाराजेन्द्र वीरविक्रम शाहकी कान्छी रानी राज्यलक्ष्मीले आफ्ना तर्फका छोरा रणेन्द्र विरविक्रमलाई राजा बनाउनका लागि भिमसेन थापाका भान्जा माथवरसिंह थापालाई भारतको शिमलाबाट नेपाल बोलाएको इतिहास छ । ‘विं सं. १९०० पुस १२ मा नेपालका मुख्तियार बनेका माथवरसिंह थापालाई १९०१ असोज ७ गते प्रधानमन्त्री र कमाण्डर इन चीफ समेत नियुक्ति गरेको र उनी शक्तिमा आएपछि थापाले लंग बहालको बाहिर जयप्रकाश मल्लले स्थापना गरेको उक्त विहार समेत नष्ट गरी रणबीरसिंह थापा बस्ने गरेको घरलाई समेत विस्तार गरेका थिए,’ शाक्यले भन्नुभयो, ‘उक्त विहारमा बासोबास गर्ने लगं बहाःका शाक्य परिवारलाई त्यहाँ भन्दा अलिक पर ध्वाखासी नाय्पाःच्व भन्ने ठाउँमा स्थानान्तरण गरे ।’

स्थानीयहरुले काठमाडौँ महानगरपालिकालाई बुझाएको पत्रमा पनि सो ठाउँमा जयप्रकाश मल्लले जीर्णोदार गरेको विहार माथवरसिंह थापाले अतिक्रम गरी विहारको अस्तित्व समाप्त गरेको व्यहोरा जोन के.लकले आफ्नो पुस्तक ‘बुद्धिष्ट मोनास्ट्रिज अफ नेपालमा समावेश भएको उल्लेख गरेका छन् । अहिले भवनमा रहेको विश्वरुपको भित्तेचित्रमा उल्लेखित मिति अनुसार यो संरचना वि.सं. १८७६ मा निर्माण भएको देखिन्छ । त्यसलाई आधार मान्ने हो भने पनि त्यो भवनको भन्दा त्यहाँको विहारको इतिहास धेरै पुरानो हो भन्ने प्रमाण हुन्छ ।

पछिल्लो समय शिलखानाका रुपमा प्रयोग हुँदै आएको उक्त भवन २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको थियो । ‘शिलखाना रहेको पुरानो भवन लामो समयसम्म जीर्ण अवस्थामा थियो । बर्षात्को समयमा भवनको एउटा खण्ड करीब एक दशक अघि नै भत्किएको थियो,’ शाक्यले भन्नुभयो, ‘बाँकी खण्ड पनि ०७२ सालको भूकम्पले भत्केपछि पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका र नेपाली सेनाको सहभागितामा भग्नावशेषहरु सफा गरी खुला स्थान बनाइएको थियो  मुद्धा दायर गरेपछि अहिले पार्क निर्माणको काम रोकिएको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ । न्यायधीश हरिकृष्ण कार्की र पुरुषोतम भण्डारीको असोज ८ को संयुक्त इजलासले असोज १८ को पेसी तोकेको छ । सर्वोच्चले शिलखानाको जगलाई असर नपर्ने गरी संरचना निर्माण गरेको प्रमाणसहित उपस्थित हुन दुबै पक्षलाई उपस्थित हुन भनेको छ ।

काठमाडौँ महानगरपालिकाले भने सर्वोच्चमा मुद्धा चलिरहेको भन्दै यो विषयमा थप नबोल्ने बताएको छ । काठमाडौँ महानगरपालिका सहरी योजना अयोगले तयार पारेको डिजाइन अनुसार यो स्थानमा पहिलाको भवनको स्वरुपलाई मूर्तरुप दिनका लागि त्यही स्थानमा भवनको जगले नओगटेको स्थानमा असर नपर्ने गरी पुरात्वात्तिक महत्वका सामाग्रीहरु राख्न रेप्लिका (प्रतिरुप) संग्राहलय समेत निर्माण गरिने छ । सहरी योजना आयोगले डिजाइन तयार पार्दा पनि प्रतिष्ठानसँग पटक–पटक छलफल गरी अन्तिम रुप दिएको जानकारी दिएको छ । विपद्का बेलामा समेत मानवजीवन बचाउनका घनाबस्ती रहेको यस्तो स्थानमा दुबैको ऐतिहासिक महत्वलाई संरक्षण गर्दै सहमतिका साथ अघि बढेको पनि आयोगको भनाई छ ।

२०७७ साल माघ मसान्तासम्ममा सम्पन्न गर्ने गरी कंडेल–के.एण्ड केजी–रमिता जे.भीले निर्माणको जिम्मा पाएको छ । यो पार्क करीब ४ करोड लागतमा निर्माण हुन लागेको हो ।