परराष्ट्र सचिवमा पौड्याल नियुक्त

 

काठमाडौं । सरकारले परराष्ट्र सचिवमा भरतराज पौड्याललाई नियुक्त गरेको छ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले सहसचिव पौड्याललाई सचिवमा बढुवा गरेको हो।

यसअघि मन्त्रालयका प्रवक्ता रहेका पौड्याल राष्ट्र संघ डिभिजनको प्रमुख रहिसकेका छन्। त्यसअघि उनी पाकिस्तानका लागि नेपाली राजदूत थिए।

गतसाता परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्य सचिवमा नियुक्त गरेपछि रिक्त पदमा पौड्याललाई बढुवा गरिएको हो।

उनले सचिवको रुपमा शुक्रबारै कार्यभार सम्हालिसकेका छन्।

सचिव पद रिक्त भएसँगै प्रवक्ता पौडेललाई निमित्त सचिव बनाइएको थियो।

स्याङ्जाको चिलाउनेबासमा २०२३ सालमा जन्मिएका पौड्याल २०४४ मा सरकारी सेवामा प्रवेश गरेका थिए।

२०४९ मा शाखा अधिकृत बनेका उनी एक दशकपछि खुला प्रतिस्पर्धाबाट परराष्ट्र सेवाको उपसचिव बनेका हुन्।

पौड्यालले जेनेभास्थित नेपाली स्थायी नियोगको मिसन उपप्रमुखको जिम्मेवारी सम्हालेका थिए।

२०६६ को अन्त्यतिर उनी पुन प्रतिस्पर्धाबाट सहसचिव बनेका हुन्।

योसँगै परराष्ट्र मन्त्रालयले सहसचिव सेवा लम्साललाई मन्त्रालयको प्रवक्ता तोकेको छ।
उनी पाकिस्तानका लागि नेपाली राजदूतको कार्यकाल सकी हालै फिर्ता भएकी हुन्।