भारतीय सेना प्रमुख नरावणे नेपाल आउने

maitrinews

 

काठमाडौं । नेपालबारे आपत्तिजनक अभिव्यक्ति दिएका भारतीय स्थल सेनाप्रमुख मनोज मुकुन्द नरावणे नेपाली सेनाको मानार्थ महारथीको सम्मान लिन कात्तिक तेस्रो साता काठमाडौं आउनुहुने भएको छ ।
नेपाल सरकारले गत माघमै नरावणेलाई मानार्थ महारथीको सम्मान दिने निर्णय गरे पनि कोरोना संकट र नेपाल–भारत सम्बन्ध चिसिएपछि उहाँको भ्रमण रोकिएको थियो।

गत जेठमा नेपालको अतिक्रमित भूभागमा भारतले गरेको सडक उद्घाटनको नेपालले विरोध गरेको थियो। त्यसबेला नरावणेले नेपालले चीनको इसारामा भारतको विरोध गरेको टिप्पणी गर्नुभएको थियो । जसको नेपाल र भारत दुवैतर्फ विरोध भएको थियो। मानार्थ महारथीको प्रचलन हटाउनुपर्ने आवाज समेत जनस्तरमा उठेको थियो।

नरावणेको नेपाल भ्रमण परम्परागत भए पनि त्यसले दुई देशको सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्लेषकहरुले बताएका छन्। कतिपयले यसलाई चीनसँग तनाव बढिरहेको बेला भारतले छिमेकीहरुसँगको सम्बन्ध सुधारका लागि गरेको सैन्य कूटनीतिक प्रयासका रुपमा पनि अर्थ्याएका छन्।

नेपाली सेनाका अवकाशप्राप्त रथी नेपालभूषण चन्दले नरवणेको भ्रमणले नेपाल र भारतबीच देखिएको गतिरोधलाई ‘आइसब्रेक’ गर्नसक्ने बताउनुभयो ।