कात्तिक ७ गतेदेखि क्लीनफीड लागू गर्ने सम्पूर्ण तयारी पूरा

maitrinews

 

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलहरूमा विज्ञापनिरहित क्लीनफीड लागू गर्नका लागि तयारी पूरा भएको जानकारी दिनुभएको छ । कात्तिक ७ गतेदेखि क्लीनफीड लागू गर्नेगरी तयारी कानुनी तथा संस्थागत तयारी पूरा भएको मन्त्री गुरुङले स्पष्ट पार्नुभयो ।

मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले विज्ञापन नियमन गर्ने ऐन, २०७६ ले २०७७ कात्तिक ७ गतेदेखि क्लीनफीड लागू गर्ने व्यवस्था गरेअनुसार नै तयारी पूरा भएको बताउनुभयो । उक्त ऐनको दफा ६ मा नेपालमा प्रशारण हुने विदेशी च्यानलहरूमा विज्ञापनरहित सामग्री प्रशारण गर्ने र नेपाली च्यानलहरूले विदेशी विज्ञापन प्रसारण गर्दा डबिङ गरेको सामग्री प्रयोग गर्न नसक्ने उल्लेख गरिएको छ ।

क्लीनफिड लागू गर्नका लागि विज्ञापन बोर्डको गठन गरिएको र त्यसको अध्यक्षमा मन्त्रालयका सहसचिव डिल्लीराज शर्मालाई नियुक्ति दिइएको मन्त्री गुरुङले बताउनुभयो । बोर्डले अनुगमनको लागि संस्थागत तयारी गरिसकेको र कात्तिक ८ गतेदेखि निरन्तर अनुगमन गर्ने उहाँले जानकारी दिनुभयो ।