१ हजार मेगावाट बिजुली आयात निर्यात गर्नसक्ने सबस्टेसन तयार

maitrinews

काठमाडौं । मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि धनुषामा ४०० केभी ढल्केबर सबस्टेसन चार्ज भएको छ । तर, ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइन ४ सय केभीमा चार्ज हुन भने केही समय लाग्ने भएको छ ।

जीआइएस प्रविधियुक्त स्वचालित सबस्टेसनको काम सकेर परीक्षणका रुपमा चार्ज गरिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता मदन तिमल्सिनाले जानकारी दिए ।

मुलुकभित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँग विद्युत व्यापारका लागि अब ढल्कबेर सबस्टेसन ठूलो हब बन्ने छ ।

योसँगै नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात(निर्यातका लागि पूर्वाधार तयार भएको छ । साथै ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रुपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने छ ।

सबस्टेसनमा रहने ट्रान्सर्फमहरको क्षमता ९४५ केभी छ, २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनमा आएको विद्युतलाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिन्छ ।

वर्षायाममा बढी भएको खण्डमा ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतमा सिधै निर्यात गर्न सकिन्छ । हिउँदमा आवश्यक परेमा न्यूनतम ६०० मेगावाट आयात गर्न सकिन्छ भने दुई मुलुकबीच ठूलो परिमाणमा विद्युत ब्यापार गर्न बाटो खुलेको छ ।

ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइन अहिले २२० केभीमा सञ्चालनमा छ । ढल्केबरमा ४०० केभीको सबस्टेसन निर्माण सम्पन्न भएपछि यो लाइन ४०० केभीमा सञ्चालन हुने भनिएपनि भारततर्फकाए एउटा टावरको काम नसकिएकाले केही ढिला हुने भएको प्रवक्ता तिमिल्सनाले बताए ।

‘भारततर्फ विधानसभाको चुनावका कारण पनि ४ सय केभीमा लाइन चार्ज गर्न केही प्राविधिक काम बाँकी छन्,’ उनले भने,‘कात्तिकभरिमा चार्ज गर्ने योजनामा छन् ।’

माथिल्लो तामकोसीबाट पुसभित्रमा विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । आयोजनाबाट उत्पादित विद्युतलाई दोलखाको गोंगरबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत खिम्ति हुँदै ढल्केबर ल्याइने छ । यसका लागि आयोजनाले गोंगर–खिम्ती प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुर्याएको छ । खिम्ती–ढल्केबर प्रसारण लाइन यसअघि नै सञ्चालनमा आइसकेको छ ।

सबस्टेसनमा ३१५एमभीएका तीन वटा गरी ९४५एमभीए क्षमताको ट्रान्सर्फमर छन् । जसले करिब नौ सय मेगावाट विद्युतलाई सहजै प्रसारण गर्न सक्दछन् ।

नेपाल सरकार र विद्युत् प्राधिकरणको करिब चार अर्ब रुपैयाँ लगानीमा बनेको ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो । ग्याँस इन्सुलेटेड सबस्टेसन ९जिआईएस० प्रविधियुक्त यो सबस्टेसन स्वचालित भएकोले काठमाडौको स्यूचाटारमा रहेको प्राधिकरणको भारप्रेषण केन्द्रबाटै सञ्चालन र अनुगमन गर्न सकिन्छ । यसले माग र आपूर्तिको सन्तुलन कायम गर्न वैज्ञानिक प्रणाली निर्माण भएको छ ।

करिब १९ विघा जमिनमा फैलिएको यो सबस्टेसनमा संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेश्रो र प्राधिकरणले खोटाङमा निर्माण गर्न लागेको ६३५ मेगावाट दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको प्रसारण लाइन पनि आएर जोडिने छ ।

४००÷२२० केभी सबस्टेसन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण र भारतीय कम्पनी एबीबी लिमिटेडबीच १० फागुन २०७४मा ठेक्का सम्झौता भएको थियो । आयोजनाको परामर्शदाताको काम नेपाली कम्पनी एनईए इन्जिनियिरिङले गरेको थियो । नेपालको वाइबा इन्फ्राटेकले पनि आयोजनामा एबीबीसाग सहकार्य गरेको थियो ।

प्राधिकरणले २२०÷१३२ केभीको सबस्टेसन बनाउन सेन्ट्रल चाइनापावर ग्रिड ९सिसिपिजी०सँग १२ जुन २०१४मा हेटौडा, ढल्केबर र इनरुवामा सबस्टेसन बनाउन ठेक्का सम्झौता गरेको थियो । तर, सन्तोषजक रुपमा काम नभएपछि सीसीपिजीसँगको ठेक्का २२ सेप्टेम्बर २०१७ मा तोड्न प्राधिकरण बाध्य भएको थियो । त्यसपछि ढल्केबर सबस्टेसनको बाँकी रहेको काम गराउन टेण्डर गरी जनबरी २०१८मा ठेक्का सम्झौता गरेको थियो ।

विश्व बैकको नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत २२०÷१३२ केभीको सबस्टेसन निर्माण गरिएको थियो भने ४००÷२२० केभी नेपाल सरकारकै स्रोतबाट निर्माण गरिएको हो ।

आयोजना निर्माण सुरु भएको दुई वर्षमै सकिएकोमा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन् ।