सेयर कारोबारमा नयाँ कीर्तिमान

maitrinews

 

काठमाडौँ । सेयर बजारमा बिहीबार झन्डै सवा ६ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो दैनिक रूपमा हालसम्मकै उच्च कारोबार हो । यसअघि २०७६ फागुन ११ मा ४ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बिहीबार ५६ हजार ३ सय ४१ कारोबारबाट १ सय ९८ कम्पनीका १ करोड ४० लाख ६२ हजार ५ सय ७ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट ६ अर्ब ११ करोड ६७ लाख ३० हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो । अघिल्लो दिनको तुलनामा बिहीबार नेप्से परिसूचक ३६।३२ अंकले बढेको छ । यो वृद्धिसँगै नेप्से परिसूचक १ हजार ७ सय ७८।१२ विन्दुमा उक्लेको छ । यो नेप्से परिसूचकको हालसम्मको उच्च विन्दुको तुलनामा १ सय ३ अंक कम हो ।

०७३ साउनमा नेप्से हालसम्मकै उच्च १ हजार ८ सय ८१ विन्दुमा पुगेको थियो । सो दिन कारोबारमा आएका सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो । कोभिड–१९ महामारीको विषम परिस्थितिमा पनि आधुनिक प्रविधिमार्फत लगानीकर्ताले घरबाटै सहज तथा सुरक्षित तबरले सेयरको कारोबार, रकम भुक्तानी तथा सेयर हस्तान्तरण गर्न सक्ने भएकाले कारोबार रकमलगायत सेयर बजारका अन्य परिसूचकमा सकारात्मक प्रभाव परेको नेप्सेले जनाएको छ ।

नेप्सेले दोस्रो बजार कारोबार सेवालाई सहज, सुरक्षित, विश्वसनीय तथा पारदर्शी बनाउन पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली स्थापना गरेपछि कारोबारको आकार क्रमिक रूपमा सुधारोन्मुख रहेको नेप्सेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हालसम्म अनलाइनमार्फत कारोबार गर्न १ लाख ७५ हजारभन्दा बढी लगानीकर्ताले युजरनेम र पासवर्ड लिएका छन् । बिहीबारको कारोबारमा ३० हजार लगानीकर्ता सहभागी थिए । सो दिन भएको कारोबारमध्ये ८६।२४ प्रतिशत कारोबार अनलाइनमार्फत भएको नेप्सेले जनाएको छ ।