चितवन घटनाले नेतालाई सन्देशः कार्यकर्तामा विभक्त होइन एकढिक्का पार्टी चाहन्छन्

Mohan Bastola

काठमाडौँ । शनिबार अपराह्न नेकपा राप्ती नगर कमिटीको बैठकमा सम्बोधन गर्ने क्रममा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेविरुद्ध भएको नाराबाजीको विषयलाई लिएर विभिन्न कोणबाट चर्चा भैरहेको छ । नेकपामा पूर्व एमाले र त्यसमा पनि माधवकुमार नेपाल खेमाले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थक कार्यकर्ताहरूले सुनियोजित रुपमा पाण्डेमाथि अभद्र व्यवहार गरेको आरोप लगाएका छन् ।

यता ओली निकट समूहले भने मदन भण्डारी फाउण्डेसनमार्फत गुटबन्दी भएको भन्दै पाण्डेले ओली समूहको चर्को आलोचना गरेपछि उहाँविरुद्ध नाराबाजी गर्न बाध्य भएको बताएका छन् । तर, अहिले जुन समूहले जसरी चर्चा गरे पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद जिल्ला–जिल्लासम्म पुगेको संकेत गर्छ । यो घटनाले केन्द्रको विवादका कारण तत्लो तहका कार्यकर्ता पनि विभक्त भएको छन् भन्ने सन्देश पनि दिन्छ ।

त्यो सकारात्मक सन्देश होइन । पछिल्लो समय पार्टी भित्रको आन्तरिक कलहलाई केही मत्थर पार्न नेताहरु आन्तरिक तयारीमा जुटिरहेका मात्रै छैनन् छलफललाई पनि तिव्रता दिइरहेका छन् । यस्तो बेलामा विभिन्न नाममा गरिने गुट भेलालाई प्राथमिकता दिने कुरा त्यसै पनि उचित होइन । अझ नेता विशेषले जिल्ला दौडाहामा लागेर एक–अर्काप्रति आरोप लगाउने र अवस्थालाई भड्काउने कुरा त झन उचित हुँदै होइन । पछिल्लो समय शीर्ष नेताहरुले नै विभिन्न संस्थाका नाममा गरिने भेलालाई नै प्राथमिकता नदिने भनिरहेका बेला गरिने भेलाले पार्टीलाई बलियो भन्दा पनि लुलो बनाउन थप मद्त गर्छ भन्ने सन्देश चितवन घटनाले पनि प्रष्ट देखाएको छ ।

अहिलेको अवस्था भनेको आङ कन्याएर छारो झार्ने भन्दा पनि नजिकै आएको जटिल अवस्थालाई साम्य पारेर एकढिक्का पार्टी बनाउनु पर्ने बेला हो । तर, शक्ति प्रर्दनमा नेताहरु नै लायलित हुनु भनेको खराव सन्देश हो । यस्तो बेलामा चितवन घटनाबाट पाठ सिकेर आगामी दिनमा नेताहरुले मेलमिलापको नीति लिएर अघि बढ्नु नै श्रेयकर हुन्छ ।
तिल जत्रो कुरालाई पहाड बनाएर र आगोमा ध्यु थप्ने प्रयास कुनै पनि समूह वा नेताबाट हुनुहुँदैन । पार्टी भित्र देखिएको विवादलाई हल गर्ने उपाय भनेको शीर्ष नेताबीचको घनिभूत छलफल नै हो । तर, तल्लो तहमा पुगेर कार्यकर्ता बीच नै फाटो ल्याउने र हुलदंगा गराउने प्रतिस्पर्धा भयो भने पार्टी फुटको संघारमा नपुग्ला भन्न सकिन्न । त्यसैले नेताहरुले पनि बढी उत्तेजित भएर आरोप–प्रत्यारोपमा होइन जिल्ला दौडाहलाई स्थगन गरेर एकताका साथ अघि बढ्ने उपायहरु खोज्न जरुरी छ । जिल्ला–जिल्लमा आफ्नै कार्यकर्ताले आफ्नै नेतालाई लखेटे भनेका समाचार निश्चय पनि असल समाचार होइन । यस्ता समाचारको शीर्षक बनाउने काम नेताबाट हुनुहुन्न पनि ।