अर्जेन्टिना । आर्जेन्टीनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही भएको थियो कि भनेर अधिकारीहरूले छानबिन थालेका छन्।
उनका छोरीहरूले उनको उपचारबारे प्रस्ट जानकारी माग गरेका छन्।
केही समय अगाडि मस्तिष्कको सफल शल्यक्रिया गराएका म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातबाट गत बुधवार निधन भएको थियो।
म्याराडोनाका छोरीहरूले आफ्ना पिताको उपचारबारे प्रश्न उठाउँदै बयान दिएका थिए।
त्यसपछि आर्जेन्टीनाको राजधानी ब्यूनस एरिजको प्रहरीले म्याराडोनाका चिकित्सक लियोपोल्डो लुकको घर तथा निजी क्लिनिकमा छापा मारेर प्रमाण बटुल्ने प्रयास गरेको छ।
करिब ३० जना प्रहरी अधिकारीहरू आइतवार बिहान लुकको घर पुगेका थिए भने २० जना उनको क्लिनिकमा पुगेका थिए।
म्याराडोनाका अन्तिम दिनहरूबारे प्रस्टता खोजिरहेका अभियोजनकर्ताहरूले उक्त छापा मार्न निर्देशन दिएका थिए।
ती अधिकारीहरूले कम्प्युटर, मोबाइल फोन तथा मेडिकल नोटहरू बरामद गरेका छन्।