धनुषामा हात खुट्टा बाँधेर महिलाको हत्या

maitrinews

जनकपुरधाम । नेपाल–भारत सीमा नजिकै धनुषाको नगराइन नगरपालिकामा हात खुट्टा बाँधिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

अन्दाजी ३० वर्षीया महिलाको शव नगराइन नगरपालिका(२ जटहीस्थित सीमा नजिकैको दुर्गापट्टी धार नजिकै फेला परेको प्रहरीले जनाएको छ । हात र खुट्टा दुवै बाँधिएको अवस्थामा महिलाको शव फेला परेको सीमा प्रहरी चौकी जटहीले जनाएको छ ।

करिब १५ दिन अगाडि नै महिलाको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतक महिलाको शरीरको अधिकांश भाग गलिसकेको र कतिपय भाग जनावरले खाइसकेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ भने घटनाबारे अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।