बागमतीका प्रदेश सांसदहरुको एउटै आवाजः राष्ट्रपति र प्रधानमन्त्रीको कदममा समर्थन छ

Mohan Bastola

काठमाडौँ । बागमती प्रदेशका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी ताजा जनादेशका लागि मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको अवस्थाको स्वागत गरेका छन् । राष्ट्रपतिज्युले ताजा जनादेशका लागि मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको कदमको हार्दिकतापूर्वक स्वागत गर्दछौं,’ प्रदेश सांसद डाक्टर अजयक्रान्ति शाक्यले भन्नुभयो, ‘आम नेपालीलाई ताजा जनादेशका लागि मध्यावधि निर्वाचनमा सहभागी हुन हार्दिक अपिल गर्दछौँ ।’
सांसद शाक्यले जालझेलपूर्ण ढंगले प्रधानमन्त्रीलाई अल्पमतमा पारी अविश्वासको प्रस्ताव दर्ता गरी सो प्रक्रियाबाट पदच्यूत गर्ने र सम्मानीय राष्ट्रपतिलाई महाअभियोगसम्म लगाउने हर्कत गरेपछि प्रधानमन्त्री ओलीले संसद विघटनको कदम चाल्नुभएको हो भन्ने ठानेको बताउनु भएको छ ।

‘पार्टी एकता र स्थायी सरकारले पूरा कार्यकाल काम गर्न पाउनुपर्छ भन्ने पक्षमा हामी हिजो थियौँ, आज छौँ र भोलि पनि छौँ,’ अर्का प्रदेश सांसद राजेश शाक्यले भन्नुभयो, ‘तर, एकपछि अर्को गर्दै संसयपुर्ण हर्कत गरी देशलाई नै दुर्घटनाउन्मुख बनाउने प्रयासलाई असफल बनाउने गलत प्रयासलाई रोक्न प्रधानमन्त्री ओलीबाट भएको संसद विघटनको कदम र सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्युवाट संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम गरिएको कदमप्रति हाम्रो पूर्ण समर्थन छ ।’ शाक्यले २०७४ फागुन ३ मा संविधान जारी भएपछि नेपाली जनताको अभूतपूर्व सहभागितामा नेपालमा पहिलो पटक कम्युनिष्ट नेतृत्वको दुई–तिहाई नजिकको सरकार निर्माण भएको स्मरण गराउँदै जनताको अपार अपेक्षा अनुसार नै दुई–तिहाई नजिकको बामपन्थी सरकारको नेतृत्वको गहकिलो जिम्मेवारी नेकपाका तत्कालिन अध्यक्ष क. केपी शर्मा ओलीको काँधमा आएको बताउनुभयो ।

‘कम्युनिष्ट नेतृत्वको सरकार निर्माणसँगै आम नेपाली जनताले सुरुङको अन्तिम कुनामा प्रकाश पुगेको अनुभूति गरे अर्थात उत्पीडन र गरिबीको आगोमा पिल्सिएका आम नेपालीको मुहारमा सुख र समृद्धिको सपना नाच्न थाल्यो,’ उहाँले भन्नुभयो, ‘त्यहि सपनालाई मूर्तरुप प्रदान गर्न जिम्मेवारी सम्हालेदेखिनै सम्माननीय प्रधानमन्त्री ओलीले आफुलाई भन्दा पनि राष्ट्र र राष्ट्रियतालाई महत्व दिइ एकपछि अर्को गर्दै राष्ट्रवादी कामको थालनी गर्दै जानुभयो ।’

पटक–पटक नेपाली भूमिलाई आफ्नो दाबी गर्दै दशकौँदेखि मिचाहा प्रवृत्ति देखाउँदै आएको छिमेकी मुलुक भारतले जारी गरेको नयाँ नक्साको विरोधमा पहिलो पटक ‘कूटनीतिक नोटिस’ पठाएर प्रधानमन्त्री ओलीले अन्तराष्ट्रियस्तरमा समेत नेपालको छवि उच्चो बनाउने काम गरेको पनि उहाँले बताउनुभयो । ‘दशकौँदेखि भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामा रजगज गरिरहेको थियो । तर, प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गरिरहेकै बेला भारतलाई गतिलो धक्का दिएर पहिलो पटक औपचारिक रुपमा राष्ट्रियतालाई सगरमाथा जस्तै उच्चो बनाउने काम गर्नुभयो,’ डाक्टर शाक्यले भन्नुभयो, ‘तीन दशकदेखि काठमाडौँबासीका लागि मृगमरिचीको कथा बनेको मेलम्ची खानेपानीको सुरुङमार्ग प्रधानमन्त्री ओलीकै कार्यकालमा ब्रेकथ्रु भयो । नेपाल–भारत एकीकृत भन्सार जाँच चौकी स्थापना गर्ने, पाइपलाइनबाट इन्धन ल्याउने, तोकिएको समय भन्दा धेरै ढिला भइसकेको भेरी–बबई सिँचाइ आयोजनाको सुरुङ ब्रेकथ्रु गर्ने, नागढुंगा सुरुङ मार्गको प्रक्रिया अघि बढाउने जस्ता महत्वपूर्ण उपलब्धी पनि प्रधानमन्त्री ओलीकै कार्यकालमा सुरुवात भए ।’

तराई–मधेस दू्रर्तमार्ग, पोखरा, लुम्बिनी अन्तराष्ट्रिय विमानस्थल, रानीपोखरी लगायत अनेकन सम्पदा तथा राष्ट्रिय गौरवका योजनाहरु पनि उहाँकै कार्यकालमा पूर्णताको पर्खाइमा रहेको पनि उहाँले स्मरण गराउनुभयो । ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई मूर्तरुप दिन प्रधानमन्त्री ओली अहोरात्र खटिरहनुभएको थियो । त्यति मात्रै होइन जनतालाई समृद्धिको बाटोमा डोहर्याई रहनु भएका प्रधानमन्त्री ओलीकै कार्यकालमा नेपालले आफ्नै स्रोत, साधन र जनशक्तिले नापेर सगरमाथाको उचाइ सार्वजनिक गरेको पनि विदितै छ,’ शाक्यले भन्नुभयो, ‘चुनावी प्रतिवद्धता अनुरुप विकास र समृद्धिको दिशामा अघि बढी रहनु भएका प्रधानमन्त्री ओली पछिल्लो केही समयदेखि पार्टी भित्रकै किचलो र सत्तामोहका कारण सर्वाधिक अप्ठ्यारो मोडमा आइपुग्नु भएको पनि जगजाहेर नै छ । प्रधानमन्त्रीले गर्नुपर्ने नियमित कार्य भन्दा पनि पार्टी भित्रका केही बरीष्ठ नेताहरुको सत्तामोहले उब्जाएको समस्यालाई टालटुल गर्नमै उहाँको धेरै समय व्यथित हुँदै गयो ।’
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत सरकारको खुलेर आलोचना गर्न नसकी रहेका बेला आफ्नै दलका शीर्ष नेताले उहाँमाथि पटक–पटक अपमान गर्ने मात्रै प्रयासलाई जारी राखिरहे । अझ प्रधानमन्त्री ओलीलाई अपमानजनक ढंगले सत्ताच्युत गर्ने तानावानामा पूर्वप्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाली सकेका आफ्नै दलका सहयात्रीहरुको पटक–पटकको प्रयासलाई उहाँले कालकुट भनेर सहिरहनु भएको समेत उहाँले स्मरण गराउनुभयो ।
‘विचारमा कुनै पनि विमती नरहे पनि सत्तामोहमा लिप्त सहयात्रीले पटक–पटक उहाँलाई अपमान गर्ने, एक्ल्याउने र अविस्वासको प्रस्ताव नै ल्याएर हटाउनेसम्मका योजना बनाउँदा पनि प्रधानमन्त्री ओलीले आफु र पार्टी भन्दा पनि राष्ट्र र राष्ट्रियतालाई उच्चो ठानी पटक–पटक सहमतिका प्रयासहरु गर्नुभयो,’ उहाँले भन्नुभयो, ‘इतिहासमा कम्युनिष्टले प्राप्त गरेको अवसरलाई गुम्न दिनुहुँदैन भन्दै केही महिनापछि पार्टीको एकता महाधिवेशन गर्ने र आफु उक्त निर्वाचनसँगै नेतृत्वबाट बाहिनेसम्मको प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यति मात्रै होइन आगामी निर्वाचनपछि प्रधानमन्त्री पदका लागि समेत दाबी नगर्ने उहाँको प्रतिवद्धतालाई समेत ‘तातै खाऔँ जलि मरौँ’ भने झैँ दलभित्रकै केही नेता हाताहाती सत्ताप्राप्तिको घृणित लिलामा लिप्त भई जालझेलपूर्ण कार्यमा सक्रिय हुने हर्कतलाई छाड्नु भएन । यसैको परिणाम हो संसद विघटन ।’