सन् २०२० ट्रम्पले धम्क्याए कोरोनाले तर्सायो, रामप्रसाद आचार्य

maitrinews

 

सन् २०२० विश्वकै लागि कोरोना कहर वर्ष बन्यो । विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीले अकल्पनीय जनधनको क्षति भयो । यस शताब्दीकै विनासकारी यो महामारीमा करिब १७ लाख मानिसको मृत्यु भयो भने सात करोडभन्दा बढी सङ्क्रमित बने । आर्थिक गतिविधि ठप्प हुँदा करोडौँ मानिसको रोजगारी खोसियो । गरिबी बढ्यो । विश्व अर्थतन्त्र खुम्चियो । पर्यटन र हवाई क्षेत्र तहसनहस भयो । अथक प्रयाससँगै वर्षको अन्त्यमा कोरोना खोप बन्यो र लगाउन सुरु गरेपछि विश्वमै आशा सञ्चार भएको छ । तर कोरोना महामारी रोकिएको छैन । कोरानाबाट मर्ने र सङ्क्रमित हुने क्रम जारी छ । तेस्रो विश्वका गरिब देशमा कोरोना खोप पुग्न बाँकी छ ।
कोरोना भाइरस चीनको बुहान सहरमा सन् २०१९ को डिसेम्बर ३१ मा देखा परेको हो । चीन सरकारले सुरुदेखि नै यो भाइरस खतरनाक छ भन्दै उद्गम स्थलमा बन्दाबन्दी, सामाजिक दूरी कायम, माक्स र सेनिटाइजर प्रयोग गरी नियन्त्रण गर्ने प्रयास गरेकाले चीनका अन्य भूभागमा कम फैलियो । बुहान अहिले कोरोनामुक्त छ । तर एकपछि अर्को गर्दै यो भाइरस त्यहाँबाट संसारभर फैलियो । संसारका २०८ मुलुक प्रभावित बने । चीनले सचेत गराउँदा पनि बेवास्ता गरेकाले पहिलो चरणमै युरोपको इटाली र अमेरिका बढी प्रभावित बने । विश्व स्वास्थ्य सङ्गठनले विश्व सङ्कटकाल र महामारी घोषणा गर्दै सुरक्षात्मक उपाय अवलम्बन गर्न विश्व समुदायलाई आग्रह ग¥यो । विश्वव्यापीरूपमा कोरोनाबाट जोगिन विभिन्न सुरक्षात्मक कार्यक्रम सञ्चालन गरिए । कोरोनाभन्दा कोरोना त्रासले धेरै मानिस पीडित बने । चीन, रुस, जापान, भारत, बेलायत, अमेरिका, इजरायललगायत मुलुक कोरोना खोप बनाउन आआफ्नै किसिमले जुटे । अन्त्यमा खोप बन्यो, खोप लगाउन विभिन्न मुलुकले स्वीकृति दिएसँगै अब कोरोना महामारी नियन्त्रण हुने आशा र भरोसा सर्वत्र छ ।
कोरोना भाइरस पशुपक्षीबाट मानिसमा सरेको हो । यो भाइरस स्वासप्रस्वासबाट अर्कोमा सर्ने गर्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको प्रयोगशालाबाट कोरोना फैलाएको आरोप लगाउनुभयो । उहाँले भाषणमा चिनियाँ भाइरस भनी चीनलाई एक्ल्याउने प्रयाससमेत गर्नुभयो । विश्व स्वास्थ्य सङ्गठनले पनि चीनको पक्ष लिएको भन्दै उहाँ त्यसबाट अलग भएको घोषणा गर्नुभयो । चीनसँग व्यापार युद्ध गर्नुभयो । तर यो आरोपमा सत्यता थिएन । चीन सरकारले निरर्थक आरोपको खण्डन गर्दै कोरोना भाइरस महामारी नियन्त्रण गर्न सघाउने प्रतिबद्धता जनायो ।
कोरोना भाइरस धनी, गरिब, साना, ठूला सबै मानिसमा फैलियो । अमेरिकी राष्ट्रपति ट्रम्प, बेलायती राजकुमार चाल्र्स र प्रधानमन्त्री बोरिस जोनसन, ब्राजिलका राष्ट्रपति जायर बोल्सनारो, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, स्लोभाकियाका प्रधानमन्त्री इगोर माटोभिक, भारतीय अभिनेता अभिताभ बच्चनसम्म कोरोना सङ्क्रमित बन्नुभयो । कोरोनाले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी, लिवियाका पूर्वप्रधानमन्त्री मोहम्मद जिब्रिल, बुरुन्डीका पूर्वराष्टपति पिएरे बुयोया, विभिन्न मुलुकका वरिष्ठ चिकित्सकको समेत ज्यान लियो ।

अमेरिका–इरान तनाव
अमेरिकाका लागि खतरा ठानिएका इरानी विशेष सैन्य दस्ता प्रमुख कासिम सुलेमानीको इराकमा हत्या गरियो । अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशमा ड्रोन आक्रमण गरी बग्दाद विमानस्थलमा सुलेमानीको हत्यासँगै इरान र अमेरिका विवाद उत्कर्षमा पुग्यो । हत्याको बदला लिने भन्दै इरानले इराकस्थित अमेरिकी सैन्य शिविरमा क्षेप्यास्त्र अक्रामण गरी प्रतिक्रिया जनायो । इरानले आणविक सम्झौता नमान्ने घोषणा ग¥यो । अमेरिकाले इरानमाथि थप आर्थिक नाकाबन्दी लगायो । ट्रम्पले अमेरिकाको विरोध गर्नेको हालत सुलेमानीको जस्तो हुन्छ भनी विश्वलाई नै धम्क्याउनुभयो ।

पराजित ट्रम्पको अडान
अमेरिकामा नोभेम्बर ३ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति ट्रम्प पराजित हुनुभयो । उहाँ सत्तारुढ रिपब्लिकन पार्टीका तर्फबाट चुनाव लड्नु भएको हो । प्रमुख विपक्षी दल डेमाक्रेटिक पार्टीका तर्फबाट चुनाव लड्नु भएका नेता जोए बाइडेन राष्ट्रपतिमा र कमला ह्यारिस उपराष्ट्रपतिमा निर्वाचित हुनुभयो । अमेरिकाको इतिहासमा प्रथम अश्वेत उपराष्ट्रपति बन्नुभएकी कमला भारतीय मूलकी अमेरिकी नागरिक हुनुहुन्छ । आफैँले गराउनुभएको चुनाव हार्नुभएका ट्रम्पले धाँधली भएको आरोपसहित चुनावी परिणाम अस्वीकार गर्दै कानुनी चुनौती दिनुभयो । स्थानीय अदालतदेखि सर्वोच्चसम्म पुग्नुभयो । तर धाँधली भएको प्रमाणित भएन । अन्ततः उहाँलाई पद हस्तान्तरण गर्न बाध्य हुने अवस्था आएको छ । उहाँले निर्वाचित राष्ट्रपतिलाई बधाईसमेत दिनुभएको छैन ।
ट्रम्पले चुनाव हार्नुमा अश्वेत जर्ज फ्लोइडको वीभत्स हत्या पनि हो । हत्याको विरोधमा अमेरिकाभर हिंसात्मक प्रदर्शन भयो । १२ जना मारिए भने ५५ अर्ब डलरको भौतिक क्षति भयो । अश्वेतहरू ट्रम्पको विरोधमा उत्रे । पेरिस सम्झौतबाट अलग्गिनु पनि उहाँका लागि हारको अर्को कारण बन्यो ।

अफगानिस्तानमा शान्तिवार्र्ता
अफगानिस्तानको प्रमुख विद्रोही शक्ति तालिवानलाई राजनीतिको मूल धारमा नल्याएसम्म त्यहाँ शान्ति कायम हुन नसक्ने प्रष्ट भएपछि अमेरिकाले तालिवानसँग वार्ता ग¥यो । अमेरिका र तालिवानबीचको वार्ताले शान्तिवार्ताका लागि ढोका खोल्यो । अनि अफगान सरकार र तालिवानबीच विभिन्न चरणको शान्तिर्वार्ता भएको छ । तर पनि समस्या समाधान भएको छैन । दुई दशकसम्म स्वदेशी र विदेशी सेना परिचालन गरी तालिवान विद्रोह दबाउन प्रयास गरियो । यो झन् प्रत्युत्पादक बन्यो । एक लाखभन्दा बढी मानिस मारिए । तालिवान कमजोर भएन । अनि बाध्य भई मिलीजुली सरकार बनाउने र विदेशी सेना फिर्ता गर्ने सर्तमा वार्ता जारी छ ।

इजरायलसित कूटनीति
मध्यपूर्वको प्रमुख शक्तिका रूपमा रहे पनि एक्लोजस्तो बनाइएको इजरायलसित केही अरब मुलुकले कूटनीतिक सम्बन्ध स्थापना गरेका छन् । इजरायल र संयुक्त अरब इमिरेट्सबीच शान्ति सम्झौता भएसँगै कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै दुवै मुलुकबीच सीधा हवाई उडान सुरु भयो । त्यसैगरी बहराइनले पनि इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गरी सम्बन्ध सुुधार गरेको छ । यसले मध्यपूर्वमा शान्ति र स्थिरता हुने सम्भावना बढेको छ ।

थाइल्यान्डमा राजाको विरोध
थाइल्यान्डमा लोकप्रिय राजा भूमिबोल अदुल्यादेजको निधनपछि राजा बन्नुभएका महाभाजिरालोङ्कर्नले राम्रो काम गर्न नसकेको भन्दै देशव्यापीरूपमा विरोध भयो । प्रदर्शनकारीहरूले राजाको विरोधमा नारा लगाए । सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा राजाकाविरुद्ध टीकाटिप्पणी र चर्को आलोेचना भएपछि सरकारले सङ्कटकाल लगाएर त्यसलाई रोक्ने प्रयास गरेको छ । कोरोना महामारीका बेला पनि राजाले आफ्नोमात्र सुरक्षामा समय खर्चेको, देश र जनताको सुरक्षालाई बेवास्ता गरेको भन्दै जनता आन्दोलित बने । राजा आवश्यक छैन भन्ने बहसले राजसंस्थामाथि नै प्रश्नचिह्न खडा गरेको छ ।

भारत–चीन विवाद
आणविक शक्ति सम्पन्न दुई छिमेकी भारत र चीनको सीमा क्षेत्रमा विवादमात्र भएन दुवै देशका सेना भिडन्तमा उत्रे । लद्दाक सीमा क्षेत्रमा भएको भिडन्तमा कर्णेलसहित २० भारतीय सैनिक मारिए । विवाद चर्किंदै गएर थप भिडन्त हुने अवस्था देखिएपछि दुवै देशका उच्च सैनिक नेतृत्व तथा सरकारी तहमा विभिन्न चरणको वार्ता गरी विवाद मत्थर पार्ने प्रयास भयो । वार्ताद्वारा नै सीमा क्षेत्रको विवाद समाधान गर्न दुवै पक्ष सहमत भएका छन् ।

भ्रष्टाचारीलाई कारबाही
मलेसियाका पूर्वप्रधानमन्त्री नजिव राजकलाई अर्बौं डलर भ्रष्टाचार गरेको अभियोगमा १२ वर्ष जेल सजाय भयो । त्यसैगरी माल्दिभ्सका पूर्वउपराष्ट्रपति अहमद अदिवलाई भ्रष्टाचारको मुद्दामा २० वर्ष जेल हालियो । दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ वाकलाई भ्रष्टाचारको मुद्दामा पुनः १७ वर्ष जेल सजाय तोकियो । पेरुको संसद्ले राष्ट्रपति मार्टिन विजवाराविरुद्ध महाभियोग प्रस्ताव पारित ग¥यो । भ्रष्टाचारको आरोपमा मुछिएपछि स्पेनका पूर्वराजा ख्वान कार्लोस विदेश पलायन हुनुप¥यो ।

नयाँ सरकार
अफगानिस्तानमा भएको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति असरफ घानी पुनः निर्वाचित हुनुभयो । म्यानमारको संसदीय आमनिर्वाचनमा नेत्री आङ साङ सुकीको दल नेसनल लिग फर डेमोक्रेसीले अत्यधिक बहुमत ल्यायो । न्युजिल्यान्डमा प्रधानमन्त्री जसिन्डा आर्डर्नको लेबर पार्टीलाई संसदीय आमनिर्वाचनमा बहुमत प्राप्त भयो । जापानका प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा दिएपछि योसिहिदे सुगा नयाँ प्रधानमन्त्री बन्नुभयो । रुसमा जनमत सङ्ग्रहमार्फत संविधान संशोधन गरी राष्ट्रपतिलाई थप बलियो बनाउने काम भयो । श्रीलङ्काको संसदीय आमनिर्वाचनमा राष्ट्रपति गोटाबाय राजपाक्ष र प्रधानमन्त्री महिन्दा राजपाक्षलाई अत्यधिक बहुमत प्राप्त भयो । लेबनानमा विस्फोटक पदार्थ राखिएको गोदाममा विस्फोट हुँदा धेरै जनधनको क्षति भएपछि प्रधानमन्त्री हसन दियावले राजीनामा दिनुभयो । मलेसियाका ९४ वर्षीय प्रधानमन्त्री डा. महाथिर मोहम्मदले राजीनामा दिएपछि मुहिद्दिन यासिन नयाँ प्रधानमन्त्री बन्नुभयो ।

विज्ञान प्रविधिमा फड्को
अमेरिकी अन्तरिक्ष केन्द्र नासाले चन्द्र धरातलमा पानी भएको तथ्य सार्वजनिक ग¥यो । चीनले पठाएको यान चन्द्रमामा अवतरण गर्न सफल भयो । सो यानले चन्द्रमाबाट चट्टान र धुलो लिएर पृथ्वीमा फर्केको छ । यसले चन्द्र धरातलको थप रहस्य पत्ता लगाउने विश्वास गरिएको छ । त्यसैगरी चीनले बनाएको विश्वकै ठूलो रेडियो टेलिस्कोप सञ्चालनमा आयो । मङ्गल ग्रहको अध्ययनका लागि पनि चीनले यान पठायो । उता जापानी वैज्ञानिकहरूले १० करोड वर्षअघिदेखि निष्क्रिय सूक्ष्म जीवहरूलाई पुनर्जीवित पारेको घोषणा गरे ।

दुर्घटना
इरानमा युक्रेनको विमान दुर्घटना हुँदा १७६ जनाको मृत्यु भयो । सो विमानमा भुलबस इरानले क्षेप्यास्त्र प्रहार गरेको थियो । लेबनानमा विस्फोटक पदार्थ राखिएको गोदाममा विस्फोट हुँदा २०० जनाको मृत्यु भयो । टर्कीमा गएका ७ र ६.८ रेक्टर स्केलका भूकम्पमा ७० जनाको मृत्यु भयो भने १५ सय घाइते भए । पाकिस्तानमा भएको विमान दुर्घटनामा ९९ जना मारिए । भारतको केरलामा विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भयो भने १०० जना घाइते भए । सेनेगलको समुद्रमा डुङ्गा डुब्दा १४० जनाको मृत्यु भयो ।

१२ महिनाका १२ मुख्य घटना
जनबरी ३ : अमेरिकाद्वारा इराकको राजधानी बग्दादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण गरी इरानी विशेष सैन्य दस्ताका प्रमुख कासिम सुलेमानीको हत्या ।
फेब्रुअरी ६ : तल्लो सदनमा पारित भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव माथिल्लो सदन सिनेटद्वारा खारेज ।
मार्च ११ : विश्व स्वास्थ्य सङ्गठनद्वारा कोरोना विश्व महामारी घोषणा ।
अप्रिल ३० : चीनको प्रयोगशालाबाट कोरोना भाइरस फैलिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आरोप, चीनद्वारा अस्वीकार ।
मे २७ : युरोपेली सङ्घद्वारा कोरोना भाइरसविरुद्ध जुध्न १० खर्ब डलरको सहायता कोष स्थापना ।
जुन १ : अमेरिकामा अश्वेत जर्ज फ्लोइडको हत्याको विरोधमा भएका हिंसात्मक प्रदर्शनमा १२ जनाको मृत्यु, ५५ अर्ब डलरको भौतिक क्षति ।
जुलाई २६ : अस्ट्रेलियाको जङ्गलमा गत वर्ष लागेको भीषण डढेलोमा परी तीन अर्ब जीवजन्तु मरेको अध्ययन प्रतिवेदन सार्वजनिक ।
अगस्ट ४ : लेबनानमा विस्फोटक पदार्थ राखिएको गोदाममा विस्फोट हुँदा दुई सय मानिसको मृत्यु, चार हजार घाइते ।
सेप्टेम्बर १२ : अफगान सरकार र तालिवान विद्रोहीबीच कतारको दोहामा शान्तिावार्ता, विदेशी सेना फिर्ता गरी मिलिजुली सरकार बनाउने विषयमा छलफल ।
अक्टोबर १५ : थाइल्यान्डका राजा महाभाजिरालोङकर्नको विरोधमा देशव्यापी विरोध प्रदर्शन भएपछि सङ्कटकालको घोषणा ।
नोभेम्बर ३ : अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनमा सत्तारुढ राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित, विपक्षी उम्मेदवार जोए बाइडेन निर्वाचित, चुनावी परिणाम अस्वीकार गर्दै ट्रम्प अदालतमा ।
डिसेम्बर ८ : बेलायतमा अमेरिकी कम्पनी फाइजरले बनाएको कोरोना भाइरसविरुद्धको खोप दिन सुरु गरेसँगै विश्वभर आशाको सञ्चार ।