ओलीलाई पछार्छु भन्दा आफै पछारिएर सडकमा पुगे : मन्त्री रायमाझी

maitrinews

 

ललितपुर । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा नवनियुक्त ऊर्जा, जलश्रोत ताथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले केपी ओलीलाई पर्छाछु भनेर लागेकाहरू आफै पछारिएको बताउनुभएको छ ।

आज ललितपुर १ नं। निर्वाचन क्षेत्रमा भएको नेकपाको बृहत् भेलालाई संवोधन गर्नुहुँदै मन्त्री रायमाझीले आफ्नै सरकार ढालेर प्रधानमन्त्री र पार्टी अध्यक्ष हुन खोज्नेहरू आफै ढलेको बताउनुभयो । उहाँले भन्नुभयो,‘केपी ओलीलाई पछारेर प्रधानमन्त्री र पार्टी अध्यक्ष हुन खोज्नेहरू आफै पछारिएर सडकमा पुगे ।’
कार्यक्रममा बोल्दै उहाँले प्रतिपक्षीले पनि नगर्ने व्यवहार गरेर आफ्नै सरकार ढाल्न खोज्ने र हात खुट्टा बाँधेर काम गरेन भनेर चिच्याउनेहरू पराजित भएको बताउनुभयो ।

उहाँले आफ्नै सत्ता ढालेर पुस माघको जाडोमा सडकमा जाने बेला अहिले नभएको बताउनुभयो । उहाँले पुष्पकमल दाहाल र माधव नेपाल प्रतिलक्षित गर्दै अझै पनि केही नबिग्रिएको भन्दै पार्टीमा फर्कन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘तपाइहरूँ जस्तो नेता बनाउन धेरै लगानी परेको छ, चिसो सडकमा बस्न छोडेर फर्कनुहोस् तातो सोफामै राखौँला । ’

भूकम्प, नाकाबन्दी र महामारीमा ओलीको नेतृत्वमा भएका कामहरूको उहाँले प्रशंसा गर्नुभयो । विपत्तिमा पनि विकासका ठुला ठुला आयोजनाहरू बढाएर ओलीले जनताको विश्वास जित्नुभएको बताउनुभयो । ओलीको सफलतालाई डाह गर्नेहरूले नै ओलीलाई घेराबन्दी गरेको उहाँले बताउनुभयो ।

पार्टी एकता देश र जनताको लागि आवश्यकता भए पनि कसै कसैलाई बाध्यता भएको उहाँले बताउनुभयो । ‘पूर्व एमालेलाई आवश्यकता थियो, पूर्व माओवादीलाई बाध्यता उहाँले बताउनुभयो ।

ठुलो हुँदै गएको पार्टी एमालेलाई दुई तिहाइको सरकार बनाउनुपर्ने भएकाले आवश्यकता र सिधिदै गएको माओवादीलाई आफ्नो साख जोगाउन पार्टी एकता बाध्यता भएको उहाँले प्रष्ट पार्नुभयो ।

हामी पेरिस डाँडामा आँखा लगाउँदैनौ तपाई बल्खु, धुम्बाराहीमा आँखा नलगाउनुस् स् महेश बस्नेत

कार्यक्रममा बोल्दै नेकपाका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले प्रचण्ड समूहप्रति लक्षित गर्दै आफुहरु पेरिस डाँडामा आँखा नलगाउने भन्दै धुम्बाराही तिर आँखा नलगाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी पेरिस डाँडामा आँखा लगाउदैनौ,तपाई बल्खु, धुम्बाराहीमा आँखा नलगाउनुस ।’