नेपालमा ६८९ जातका बीउ सिफारिस

maitrinews

 

काठमाडौँ । नेपालमा ६० वर्षमा विभिन्न बालीका ६८९ जातका बीउ सिफारिस भएका छन् । हिमाल, पहाड र तराईमा लगाउन ७७ बालीका बीउ सिफारिस भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको बीउबिजन निर्देशनालयले जनाएको छ ।
निर्देशनालयको तथ्याङ्कअनुसार सरकारले २०१७ देखि विभिन्न बालीको बीउ उन्मोचन, सिफारिस र दर्ता भएको छ । सबैभन्दा पहिले मध्यपहाडी क्षेत्रका लागि २०१७ सालमा गहुँको लेर्मा ५२ नामक जातको बीउ उन्मोचन भएको हो । त्यो जातको बीउ अझै पनि किसानले प्रयोगमा ल्याइरहेका छन् ।

तरकारी बढी
२०१७ देखिको सिफारिस क्रममा २०७७ मा मात्रै धान, मकै, गहुँ, पालुङ्गोका विभिन्न १७ वटा जात सिफारिस भएका छन् । यसबीचमा सबभन्दा बढी तरकारी बालीको बीउ उन्मोचन भएको पाइएको छ । त्यसपछि वर्षे धान र सबभन्दा कम फापरको हालसम्म एउटा जात मात्र उन्मोचन भएको छ । तरकारीका २९८ र वर्षे धानको १२९ जात उन्मोचन भएको निर्देशनालयले जनाएको छ ।
धानमा पनि चैते धानको छ, मकैको ९४, गहुँको ३२, कोदोको पाँच, जौको छ, दलहन बालीको ४३, तेलहन बालीको २१, औद्योगिक बालीको १२, आलुको १६, घाँसे बालीको १७, फलफूल बालीको सात, सखरखण्डका दुईवटा जातका बीउ उन्मोचन भएका छन् ।

अधिकांश मधेसका लागि
उन्मोचन भएकामध्ये सबैभन्दा बढी तराई–मधेस र त्यसपछि मध्यपहाड र सबभन्दा कम उच्चपहाडी भेगका लागि सिफारिस भएका छन् । चैते धानका छवटा जात सिफारिस भएका छन् । ती सबै तराई–मधेसका लागि मात्र गरिएको छ । सिँचाइको व्यवस्था र खेतीयोग्य जमिन तराई–मधेसमा धेरै भएको हुनाले त्यसलाई ध्यानमा राखेर सिफारिस गरेको देखिन्छ । चैतेको धानका १२९ जातमध्ये सयभन्दा बढी तराई–मधेस तथा भित्री मधेसका लागि सिफारिस भएका छन् ।
ताइचुङ १७६, चाइनुङ २४२, ताइनान १, चाइनान २, खुमल २, ३, ४, ५, ६, ७, ८, १०, ११, १३, पालुङ, छोमरोङ, पोखरेली जेठोबूढो, लेकाली धान १, ३ लगायतका जात पहाडी तथा मध्यपहाडी क्षेत्रका लागि सिफारिस गरिएको छ । यी उब्जाउका लागि राम्रो मानिएका जात रहेको र प्रतिहेक्टर पाँच–आठ मेट्रिक टन उत्पादन हुने भनिएको छ ।
सबभन्दा राम्रो उत्पादन खुमलले दिने गरेका छन् । खुमल नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०ले सिफारिस गरेको जात हो । उच्चपहाडी क्षेत्रका लागि धानका चन्दननाथ १ र ३ सिफारिस गरिएको छ । लगभग यो धान प्रतिहेक्टर पाँच मेट्रिक टनले उत्पादन दिने भनिएको छ । २०६६ सालमा सिफारिस भएको तराईका लागि सबभन्दा बढी उत्पादन दिने डीवाई १८, २८ र ६९ नामको धानको जातले आठदेखि नौ मेट्रिक टन उत्पादन दिने भनिएको छ ।
गहुँका पनि ३२ जातमध्ये १७ वटा तराई–मधेसका लागि मात्र सिफारिस छन् । पावै गहुँ, खजुरा, ड्युम १ र २, च्याखुरा, मुनाल, स्वर्गद्वारी, डाँफे, धौलागिरि, गौरा, डब्लु के १२०४, कान्ति, पासाङल्हामु, अच्युत, अन्नपूर्ण १, ३, ४, लेर्मा ५२ नामका गहुँका बीउ पहाड तथा उच्चपहाडका लागि सिफारिस गरिएको छ । तराईका लागि यूपी २६२, नेपाल २९७, गौतम, भृकुटी, बीएल ११३५, रोहिणी, बीएल १४७३ लगायतका जात सिफारिस छन् ।

काठमाडौँ र जुम्लाका लागि एउटै
सिफारिस जातबाट प्रतिहेक्टर अढाइ मेट्रिक टनदेखि साढे छ मेट्रिक टनसम्म उत्पादन हुने भनिएको छ । २०५४ सालमा सिफारिस भएको पसाङल्हामु जातको गहुँको बीउले प्रतिहेक्टर ६।७ मेट्रिक टन उत्पादन हुने भनिएको छ । यो जात काठमाडौँ उपत्यका र जुम्लाजस्तो समान हावापानी भएको उच्च पहाडी क्षेत्रका लागि सिफारिस गरिएको छ ।
तराई–मधेसका लागि सिफारिस गरिएका जात प्रतिहेक्टर पाँच मेट्रिक टन र त्योभन्दा कम उत्पादन हुने उल्लेख छ । २०७५ सालमा दर्ता भएको पावै जातको गहुँको बीउ प्रतिहेक्टर २।१९ देखि २।७५ मेट्रिक टन उत्पादन हुने भनिएको छ । यो कर्णाली क्षेत्रको २३ सयदेखि ३३ सय मिटरसम्मको उचाइका लागि सो जात सिफारिस गरिएको छ । यो जातको गहुँ ३३० दिनमा पाक्नेछ । हालसम्म सिफारिस गरिएको जातमध्ये यो नै सबैभन्दा बढी समय लिएर पाक्ने जात हो । अरू जातका गहुँ १०५ देखि १८० दिनमै पाक्ने खालका छन् ।

९४ प्रकारका मकै
मकैको बीउ २०२२ देखि सिफारिस हुँदै आएकामा हालसम्म ९४ वटा जात सिफारिस छन् । सबैभन्दा पहिले खुमल पहेँलो जातको मकैको बीउ सिफारिस भएको थियो । त्यसपछि रामपुर कम्पोजिट, अरुण २, मनकामना १, गणेश २, रामपुर २, अरुण १, गणेश १, मनकामना ३, गौरव हाइब्रिड, देउती, सितला, मनकामना ४, पोसिलो मकै १, मनकामना ५, ६, बायो ९६८१, राजकुमार, नुतन ९केएच १०१०, अल राउन्ड, विस्को ९४०, सी १९२१, सीपी ८०८, सीपी ६६६, गोदावरी ९८९, अर्ली २, रामपुर हाइब्रिड २ लगायतका जात छन् । २०७७ मा आठवटा विभिन्न जातका मकै बीउ सिफारिस भएका छन् । २०६७ मा सिफारिस भएको डीकेसी ९०८१ एफआई जातले उच्च उत्पादन, प्रतिहेक्टर १० देखि १२ मेट्रिक टन उत्पादन दिने जनाइएको छ । मध्यतराईका लागि कात्तिकदेखि माघसम्ममा लगाउन मिल्ने यो मकै १२० देखि १६० दिनमा पाक्छ ।

कोदोका पाँच
२०३७ सालदेखि २०७२ सम्म कोदोका पाँचवटा जात सिफारिस भएका छन् । त्यसमध्ये ओख्ले १ र डल्ले १ २०३७ सालका लागि सिफारिस भएको थियो । काब्रे कोदो १ २०४७, शैलुङ कोदो १ र काब्रे कोदो २ २०७२ सालमा सिफारिस भएको थियो । त्यसमध्ये डल्ले १ जातको कोदो तराई तथा भित्री मधेसका लागि सिफारिस भएको छ भने बाँकी सबै मध्यपहाडी क्षेत्रका लागि सिफारिस भएका हुन् ।
२०३० देखि २०४७ सालसम्म जौका छवटा जात सिफारिस भएका छन् । त्यसमध्ये एचबीएल ५६, गाल्ट, सीआई केच तराई र भित्री मधेसका लागि र बोनस काठमाडौँ उपत्यका र सोलुउवा मुस्ताङ, मानङ र डोल्पाका लागि सिफारिस भएका छन् । २०७२ सालमा फापरका मीठे फापरका एक मात्र जात सिफारिस भएको छ । ७२ दिनमा पाक्ने सो फापर तराई र भित्री मधेसदेखि उच्च पहाडसम्मका लागि सिफारिस गरिएको छ ।
भटमासका लागि २०३५ सालदेखि २०६३ सालसम्म सातवटा जात सिफारिस भएका छन् । त्यसमा हार्डी, रान्सम, सेती, क्व, लुम्ले भटमास १, तरकारी भटमास १ र पूजा रहेका छन् । हार्डी, पूजा र क्व तराई–मधेसका लागि र बाँकी मध्यपहाडी क्षेत्रका लागि सिफारिस भएका हुन् ।
२०३६ देखि २०७७ सालसम्ममा मुसुरो दलका १४ वटा जात सिफारिस भएका छन् । तीमध्ये अधिकांश तराई, भित्री मधेस र पहाडका लागि सिफारिस गरिएको छ । त्यस्तै २०३६ देखि २०६४ सम्म चनाका सातवटा जात सिफारिस भएका छन् ।