पाञ्चालको यःमरी बेलायतसम्म

maitrinews

 

ललितपुर  । कोरोना महामारीका कारण यस वर्षको यःमरी पूर्णिमा घरमै मनाइने भएको छ । ज्यापू समाज पाटनका अध्यक्ष चन्द्र महर्जनका अनुसार ४० टोलका ज्यापू समुदायले यःमरी तयार गर्ने तर सभा ¥याली आयोजना नगर्ने भएका छन् ।
परम्पराअनुसार गुठीले गर्नुपर्ने पूजा घरघरै सम्पन्न गरेर यो पर्व मनाइँदै छ । सोही दिन पर्ने ज्यापू दिवस पनि भीडभाड र औपचारिक कार्यक्रम नगरी मनाइने समाजले जनाएको छ । ज्यापू समाज काठमाडौँ नगर कमिटी कोषका संयोजक शान्तराज महर्जनका अनुसार टोलका वाद्य गुरु, संयोजक र समाजका स्थानीय अध्यक्षबीच मात्र भेटघाट हुन्छ ।
भक्तपुरमा धनेश्वरमा यःमरी चढाएर यो पर्व मनाइने भएको छ । महाकाली नाचका मूल नाइके तुल्सीनारायण दण्डेख्याका अनुसार यो दिन गरिबलाई यःमरी दान दिँदा जति दिएको हो अर्को वर्ष दोब्बर प्राप्त हुन्छ भन्ने कथनअनुसार यःमरी वितरण हुन्छ ।

भाइचाराको पर्व
संस्कृतिविद् सत्यमोहन जोशीले यःमरी पर्व भाइचारा बढाउने र अर्कासँग रोटी साटासाट गर्ने पर्व भएको बताउनुभयो । यसैगरी संस्कृतिविद् ओम धौभडेलका अनुसार यःमरी किनबेच गर्ने वस्तु नभई दान गर्ने खानेकुरा हो । यःमरीलाई व्यावसायिक बनाए पनि त्यसको मौलिकता कायम हुनुपर्ने उहाँको तर्क छ ।
धौभडेलले भन्नुभयो, ‘‘यःमरी बनाउनु भनेको लक्ष्मी भिœयाउनु हो । खेती गरेर आएको चामलको पहिलो पीठोबाट यःमरी बनाउनु भनेको लक्ष्मीको आगमन गराउनु हो ।’’ नेवार समुदायमा यःमरीको विशेष महìव रहेको र जन्मदिन लगायतका विशेष शुभकार्यमा यःमरी नभई नहुने पकवानमध्ये एक भएको उहाँले बताउनुभयो ।
यःमरी नेवार समुदाय र संस्कृतिको पहिचान भएको चर्चा गर्दै संस्कृतिविद् जोशीले थप्नुभयो, ‘‘पहिला रोटीका नाममा सुक्खा रोटी मात्रै बन्थ्यो, अहिले जस्तो विभिन्न प्रकारका रोटी थिएनन्, पछि आफँैसँग भएका खाद्यान्नको उपयोग गरी नेवारले यःमरीको विकास गरेको हो । त्यसबेला तिलको धुलो, चाकुको झोललाई मिसाएर चामलको पीठोमा राखेर आधुनिक रोटीको विकास भएको हो ।’’ यसरी नयाँ प्रकारको रोटी बनाउँदा सबैलाई मीठो लागेको र सबैलाई मनपर्ने भएकाले यसको नाम ‘यगु मरी’ हुँदै हाल ‘यःमरी’ रहन गएको जोशीले जानकारी दिनुभयो ।

लोकप्रियता बढ्दै
नेवार समुदायको परिचय बनेको यःमरी व्यावसायिक हुँदै गएको छ । विशेष अवसर र समयमा मात्रै बनाइने यःमरी अहिले बाह्रै महिना पाउन सकिन्छ । राजधानीको इन्द्रचोकको गल्लीमा विगत १२ वर्षदेखि यःमरीको व्यापार गर्दै आउनुभएकी सन्तमाया महर्जनले भन्नुभयो, ‘‘पहिला पहिला यःमरीको व्यापारमा अलिक कम भए पनि अहिले भने राम्रो छ । दैनिक पाँच सयवटासम्म यःमरी बिक्री हुन थालेको छ ।

स्वादको विदेशमा चर्चा
नेपाली सेफ सन्तोष साहले बेलायतको चर्चित पाककलासम्बन्धी टेलिभिजन प्रतियोगिता मास्टर सेफमा यःमरी चखाएर चर्चा बटुल्नुभएको थियो । साहले नेपालको यःमरी परिकारभित्र चकलेट र काजु हालिएको थियो भने सुन्तला र दालचिनीले सजाइएको थियो । निकै प्रभावित देखिएका निर्णायकहरूले त्यो दिनको उत्कृष्ट परिकार भन्दै साहलाई सोझै फाइनल चरणमा प्रवेश दिएको थियो । उहाँ सो प्रतियोगितामा उपविजेता हुनुभयो ।

ऐतिहासिक कथन
यःमरी पूर्णिमाबारे धार्मिक कथनअनुसार तत्कालीन पाञ्चाल ९पनौती० देशमा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा दम्पती भगवान् विष्णुका परम भक्त थिए । उनीहरूको दयालु स्वभावको जाँच गर्न एक दिन धनपति कुवेर गरिब ब्राह्मणको भेषमा भीक्षा माग्न सुचन्द्रका घरमा पुगे । सुचन्द्रका श्रीमतीले ब्राह्माणरूपी कुवेरलाई श्रदापूर्वक आफूले तयार पारी राखेको यःमरी खुवाए । उनको सत्कारदेखि प्रसन्न भई कुवेरले आफ्नो असली रूप देखाई यःमरीको गुण र धानको भकारीमा गणेश, कुवेर, लक्ष्मीको पूजा गरी यःमरी चढाउने विधि बताएर जानुभयो ।