नयाँदिल्लीमा नेपाल भारत संयुक्त आयोगको बैठक

maitrinews

 

काठमाडौं । नेपाल भारत संयुक्त आयोगको छैठौं बैठकमा भाग लिन आज परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत जानु भएको छ । बिहीबार र शुक्रबार नयाँ दिल्लीमा हुने दुई दिने बैठकमा भाग लिन उहाँ भारत जानु भएको हो ।

बिहीबार नै संयुक्त आयोगको बैठक सुरु भएको छ । शुक्रबार बैठक सम्पन्न भएपछि ज्ञवालीले राजनीतिक भेटघाट गर्ने कार्यक्रम तय भएको छ । उहाँ शनिबार स्वदेश फर्कनु हुनेछ ।
परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल भारत व्दिपक्षीय विविध आयामसहित व्यापार, उर्जा, सीमा, पारवहन, कोभिड १९, सहकार्य पूर्वाधार, कृषि, पर्यटनलगायत विषयमा छलफल हुनेछ ।

ज्ञवालीले बैठक पश्चात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ । भ्रमण दलमा परराष्ट्र सचिव, स्वास्थ्य सचिव, सहसचिव, भारतका लागि नेपालका राजदूतलगायत छन् । ज्ञवालीले शुक्रबार नेपाल–भारत सम्बन्धबारेको एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।