भारतले अनुदानमा उपलब्ध गरायो १० लाख डोज कोरोना खोप, बिहीबार काठमाडौं आइपुग्‍ने

 

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतले १० लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने बताएका छन् ।
बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले भारतले अनुदानमा १० लाख डोज कोरोना खोप उपलब्ध गराउन लागेको जानकारी दिए ।

मन्त्री त्रिपाठीले भारतले उपलब्ध गराएको खोप बिहीबार नै काठमाडौं आइपुग्ने जानकारी दिएका छन् । बुधबार भारतले उपलब्ध गराउने खोपबारे जानकारी दिन स्वास्थ्यमन्त्री त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।

भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया९एसआईआई० ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरेको ुएजेडडी१२२२ु नामक खोपलाई भारतको एसआईआईले ‘कोभिसिल्ड’को नाममा उत्पादन गरेको हो ।

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार पहिलो चरणमा आउने खोप कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलगायत सुरक्षाकर्मीहरुलाई दिइने छ । ‘हामीले अग्रपंक्तिमा कार्यरत समूहलाई खोप दिनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा गरिसकेका छौं,’ बुधबार  उनले भने ।

औषधि व्यवस्था विभाग ९डीडीए०ले ‘कोभिसिल्ड’लाई गत शुक्रबार नै आपत्कालीन प्रयोगका लागि ससर्त अनुमति प्रदान गरिसकेको छ । भारतबाट प्राप्त हुन लागेको यो खोपलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म भण्डारण गर्न सकिन्छ ।