चर्चामा गोकर्णको हनुभैरव

maitrinews

 

काठमाडौँ । सतरुद्र संहिताअनुसार हनुमानलाई एकादश रुद्रमध्ये एघारौँ रुद्रका रूपमा पुजिन्छ । विभिन्न ग्रन्थले एकादश रुद्रका नाम कपाली, भव, अपराजित आदि फरक बताएको पाइन्छ । एउटा कथाअनुसार पुत्र प्राप्तिका लागि अञ्जना भगवान् शिवको आराधना गरिरहेकी थिइ्न् । त्यहीँ पुगेर शिवले ‘तिमीले एकादश रुद्र समान पुत्र पाउने छ्यौ’ भनी अन्तध्र्यान भए । अञ्जना हात फैलाएर त्यहीँ बसेकी थिइन्, वायुले उनको हातमा एक फल पारिदिए । त्यो फल तत्काल खाँदा उनको गर्भ रह्यो र त्यसैबाट हनुमानको जन्म भयो । यो कुरा वायुपुराणमा उल्लेख गरिएको छ ।
राजा दशरथको यज्ञमा कैकेयीको हातबाट एउटा चिलले यज्ञभाग चोरेर लग्यो तर विशाल आँधीबेहरीका कारण उसको चुच्चोबाट त्यो भाग खस्यो । त्यसलाई वायुले सम्हालेर अञ्जनाको हातसम्म पु¥याइदिए । मास पूरा भएपछि चैत्र शुक्ल पूर्णिमा, मङ्गलबारका दिन हनुमानको जन्म भएको मानिन्छ । त्यसैले हनुमानलाई एकादश रुद्रका रूपमा पनि मानिन्छ ।
हनुमानको सबैभन्दा धेरै वर्णन रामायणमा गरिएको पाइन्छ । हनुमानलाई रामभक्त, रामायणको महŒवपूर्ण पात्रका रूपमा चित्रित गरिएको छ । बज्र समान बलिष्ठ शरीर भएकाले उनलाई बजरङ्गबली पनि भनिन्छ । त्यसैगरी पवनले ९वायु० नै पालनपोषण गरेकाले पवनपुत्र भनिन्छ । शैव र वैष्णव दुवै सम्प्रदायको समान आस्थाको केन्द्रबिन्दु एवम् साम्प्रदायिक समागमको केन्द्र हुनमान हुन् । दुवै सम्प्रदायका मानिसले समान रूपमा हनुमानलाई पुज्छन् । रामायणकालभन्दा रूद्रकाल प्राचीन हो । शुक्ल यजुर्वेदको रुद्रसंहिता नै रूद्रका बारेमा बयान गरिएको प्राचीन ग्रन्थ हो । तर, पछिल्लो कालमा आउँदा शैवभन्दा हनुमान विष्णुभक्त बढी देखिन्छन् । पौराणिक कथाहरूमा पनि रामको सबैभन्दा ठूलो सहयोगी हनुमानलाई नै देखाइएको छ ।
प्रतिमाशास्त्रमा हनुमानलाई एकमुख, पञ्चमुख, सप्तमुख र एकादशमुख स्वरूपमा देखाइने कुरा हनुमत् रशस्यम्मा उल्लेख गरिएको छ । अनुहार बाँदरको जस्तो भएको लामा–लामा दुई, चार, आठ, दश वा बाइस भुजा भएको किरीटकुण्डल, वाजु, बाला लगाएको, ज्वालावलीयुक्त प्रभामण्डल भएको कतै गरुडमाथि चढेको त कतै एक गोडा खुम्च्याएको स्थानक र घुँडा मारेको अर्धवज्रासन मुद्रामा देखाइएको पाइन्छ ।
हनुमानको मूर्ति स्थापना तथा पूजनको सुरुवात पाँचौँ शताब्दीदेखि भएको कुरा लैनसिंह वाङ्देलले बताउनुभएको छ । शेषनारायणमा रहेको अष्टबाहु हुनुमानको मूर्ति नै नेपालको प्राचीन हनुमान मूर्ति मानिएको छ । प्रायः नेपालमा हनुमानका धेरै मूर्ति १७औँ शताब्दीदेखिका भेटिएका छन् । अनिष्टबाट बच्न मल्ल राजाहरूले दरबारको ढोकामा हनुमानका मूर्ति स्थापना गर्न थाले । भक्तपुरका राजा जगज्योति मल्लको समयमा लेखिएको ‘नरपतिजयचर्यास्वरोदयटीका’ नामक ग्रन्थमा हनुमानको मूर्ति कस्तो–कस्तो निर्माण गर्ने भन्ने कुरा उल्लेख गरिएको छ । गोरखाका राजा पृथ्वीपतिले पनि गोरखामा हनुमानको मूर्ति स्थापना गराएका थिए । उत्तरमध्यकालमा हनुमानका मूर्तिमा पनि तान्त्रिक प्रभाव परेको देखिन्छ । भक्तपुरका राजा भूपतिन्द्र मल्लले बनाउन लगाएको पञ्चमुखी हनुमानको मूर्ति एउटा उदाहरण हो । दरबारको प्रवेशद्वारमा गणेश, हनुमान र नृसिंहका मूर्ति राखिन्थ्यो । मल्ल र शाहकालमा धेरैजसो हनुमानको मूर्ति स्थापना गर्दा राम मन्दिर र नारायण मन्दिरमा गरिएको पाइन्छ । तर, केही हनुमानको मूर्ति स्वतन्त्र स्थापना गरिएका छन् । गोकर्ण, उत्तरबाहिनी गुफामा रहेको पञ्चमुखी हनुभैरव मूर्ति एक भयङ्कर अद्भुत मूर्ति हो । यस्तो प्रकारको हनुमानको मूर्ति दोस्रो छैन ।
पञ्चमुखी शब्दको अर्थ पाँचमुख भएको हो । हनुमानको पाँचमुख भएको मूर्ति साह्रै दुर्लभ मूर्तिभित्र पर्छ । हुनुमानको पाँचमुख उत्साह, बल, कीर्ति, आरोग्यता र निर्भीकताको प्रतीक मानिन्छ । रामायणमा वर्णित एउटा कथाका अनुसार रावणले जब कालीशक्तिको बलले श्रीराम र लक्ष्मणलाई पाताल पठाए, तब हनुमानले पञ्चमुखी स्वरूप धारण गरी राम र लक्ष्मणको उद्धार गरेका थिए । तन्त्रशास्त्रका अनुसार आठप्रकारका यौगिक शक्तिहरू ‘अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्य, इशित्व र वशित्व’ प्राप्तिका लागि हनुमान पूजन गरिन्छ । साथै हनुमानलाई परब्रह्म र रौद्र रूपमा पनि स्मरण गरिन्छ ।

स्थापना
गोकर्ण उत्तरबाहिनी गुफाभित्र रहेको हनुमानलाई स्थानीयको पहलमा गुफाकै प्राङ्गणमा सानो मन्दिर निर्माण गरी सर्वसाधारणलाई दर्शनार्थ राखिएको छ ९यसअघि यो मूर्ति गोकर्ण निकुञ्जभित्र परेको र सर्वसाधारणलाई त्यहाँ पस्न अनुमति थिएन० । मूर्तिको चारतिर चार मुख र बीचको टाउकोमाथि अर्को टाउको खापिएको छ । एउटै ढुङ्गामा कुँदिएको यो पञ्चमुखी हनुमान शवाशनमा स्थानक मुद्रामा रहेको छ । अन्य प्रतिमामा चामुण्डालाई शवमाथि उभ्याइएको हुन्छ । भैरव वा भैरवी, काली, चामुण्डा आदि तान्त्रिक देवदेवीलाई पनि शवाशन गराइएको हुन्छ । तर, यहाँ हनुमानलाई शवाशनमा स्थानक मुद्रामा राखिएको छ । त्यसैले पनि यस पञ्चमुखी हनुमानलाई हनुभैरव मूर्ति हो भन्न सकिन्छ । शवाशन तलपट्टि हनुमानको पादपीठमा लेखिएको अभिलेखमा ‘श्री सम्वत् १८९८ साल गुरु पञ्चमुखी हनुमान् श्री श्री श्री महाराज राजेन्द्र विक्रम शाहदेवको अटल क्षेत्र ।।।।।।।।।’ लेखिएको छ । दुई हरफ अक्षर खिइएर पढ्न सकिँदैन । यसबाट स्पष्ट हुन्छ, यो मूर्तिको स्थापना राजा राजेन्दविक्रम शाहका पालामा भएको थियो । प्रा।डा। ऋषिराम पोखरेलका अनुसार यो मूर्ति त्यसै गुफामा साधना गरी बसेका योगी अमरनाथ गिरीले स्थापना गराएका हुन् । यो मूर्ति २०६७ सालसम्म पनि गोकर्ण उत्तरबाहिनी प्राचीन साधकहरूको अमर गुफा द्वारको दक्षिणपट्टि भित्तामा थियो । त्यही गुफामा बसी तान्त्रिक साधना गर्ने उनै अमरनाथ गिरीकोे प्रेरणा र चाहनामा राजेन्द्रविक्रमका पालामा यस हनुभैरवको स्थापना भएको प्रस्ट हुन्छ ।

मूर्तिलक्षण
पञ्चमुखी हनुभैरवलाई पश्चिमाभिमुख बनाएर एउटा सानो मन्दिर बनाई गोकर्ण उत्तरबाहिनी गुफाको प्राङ्गणमा राखिएको छ । भारतमा पञ्चमुखी हनुमानका मूर्तिहरू पूर्वाभिमुख हुनुपर्छ भन्ने मान्यता रहे पनि हनुभैरवको मूर्ति मन्दिरभित्र पश्चिमाभिमुख गरेर राखिएको छ । हुन त यो मूर्ति गुफाको ढोका अगाडि पूर्वाभिमुख नै पारेर राखिएको थियो । तर, २०६७ सालमा मन्दिर निर्माण गरी प्रतिस्थापनका क्रममा पश्चिमाभिमुख पारिएको हो । हाल पश्चिमाभिमुख मुख्य अनुहार वानरमुख रहेको छ । मुख बाएको अवस्थामा दायाँ हात वरद मुद्रा र बायाँ हात अभय मुद्रामा रहेको छ । पुष्पमुकुट लगाएको र मुकुटमाथि पश्चिम नै फर्किएको भैरवको शिर पाँचौँ शिरका रूपमा रहेको छ । प्रतिमाशास्त्रमा पञ्चमुखी हनुमानको मूर्तिमा पाँचौँ शिर आकाशतिर हेरेको हयग्रीव ९घोडा० मुखाकृति भएको बनाउने चलन छ । चलनचल्तीको परम्पराविपरीत यही एउटा हनुमानको मूर्ति हो, जसको पाँचौँ शिर भैरव मुखाकृतिमा रहेको छ । कान्तिपुर नामकरणका द्योतक श्रीकान्तिभैरव पीठसँगै बागमती नदीकिनार प्राचीन गुफामा रहेको यस मूर्तिमा पूर्णरूपेण तन्त्रको प्रभाव परेको देखिन्छ । अर्को महŒवपूर्ण कुरा हनुमान एक साŒिवक देवता मानिन्छ र प्रतिमाशास्त्रमा हनुमानको मूर्तिमा पुष्पमाला र वनमाला लगाएको भनेर उल्लेख गरिएको पाइन्छ । तर, शास्त्रीय परम्पराविपरीत मुण्डमाला लगाएको हनुमानको मूर्ति विश्वमै पहिलो हो यो । अन्यत्र कतै पनि मुण्डमाला लगाएको हनुमानको मूर्ति भेटिएको छैन । प्रायः हनुमानको मूर्तिमा मणिहार, पुष्पमाला, लगाएको देखिन्छ । तर, यस हनुभैरव मूर्तिमा मुण्डमाला लगाइनुले पनि साधारण हनुमानको मूर्तिभन्दा फरक देखिन्छ । महाकाली र भैरवका मूर्तिमा मात्र प्रतिमाशास्त्रले मुण्डमाला लगाइने कुरा बताएको छ । प्रतिमाशास्त्रअनुसार मूर्तिहरू निर्माण गरिएका हुन्छन् । तर, हनुमानको मूर्तिमा मुण्डमाला लगाइएको यो नै पहिलो मूर्ति हो । त्यसैले पनि यस हनुमानलाई हनुभैरव भन्न सकिन्छ ।
यस हनुभैरवको माथिपट्टिको टाउको भैरवाकृतिको हुनु शैव र वैष्णव सम्प्रदायको उत्कृष्ट धार्मिक समायोजन पनि हो । ठाउँ–ठाउँमा हरिहर, उमामहेश्वर, शिवपार्वती, अर्धनारीश्वरका आधा अङ्ग एउटा देवताको र आधा अर्कै देवताको मूर्ति निर्माण भएका छन् । त्यसैले हनुभैरवको यो मूर्ति पनि अस्वाभाविक होइन । शिरमा करण्ड मुकुट लगाएको, मुकुटको बीचमा मणिजडित देखाइएको छ भने कानमा ठूला लर्केका पुष्पकुण्डल लगाइएको छ । गलामा हार, छातीमा मोतीजडित कुचबन्ध धारण गरेजस्तो देखिन्छ ।

बाहु तथा आयुधहरू
उत्तरबाहिनी, गोकर्णमा अवस्थित पञ्चमुखी हनुभैरवको दायाँ भागमा पाँच हात र बायाँ भागमा पाँच हात रहेका छन् । बायाँ भागका हातहरूमा क्रमशः त्रिशूल, खड्ग, अङ्कुश, खट्वाङ्ग र वरद मुद्रामा रहेको छ । अगाडिपट्टिको हात पिँडुलासम्म लत्रिएको र वरद मुद्रामा देखाइएको छ । अन्य चार हातहरूले आयुधहरू समाएका छन् । त्यसैगरी, दायाँ अङ्गमा पनि पाँचै हात रहेका छन् । ती बाहुमा पहिलो हातले गन्धमादन पर्वत उचालेको छ भने दोस्रो हातले कपाल समाएको छ । त्यसैगरी तेस्रो हातले पास, चौथोले वज्र समाएको छ । एक हात छातीसम्म उठाई अभय मुद्रामा देखाइएको छ । आचार्य शिवदत्त शास्त्रीका अनुसार पञ्चमुखी हनुमानका आयुधहरू खड्ग, त्रिशूल, खट्वाङ्ग, पाश, अङ्कुश, पर्वत, मुष्टि, कौमोदकी गदा, वृक्ष वा कमण्डलु र भिन्दिपाल हुने कुरा हनुमद्रहस्यम्मा उल्लेख गरिएको छ । तर, यस पञ्चमुखी हनुभैरवका दुईहात वरद र अभय मुद्रामा छन् भने आठ हातहरूमा त्रिशूल, खड्ग, अङ्कुश, खट्वाङ्ग, गन्धमादन पर्वत, कपाल, पास र वज्र लिएको अवस्थामा छ । त्यसैले यो मूर्ति भारतीय मूर्तिकलाशैलीभन्दा फरक कलाशैलीमा निर्माण भएको प्रस्ट हुन्छ । यो मूर्ति प्रस्ट रूपमा पहाडी कलाशैलीमा निर्माण भएको मान्न सकिन्छ । जसमा तन्त्रको प्रभाव प्रशस्त परेको छ । हनुमानको गलामा मुण्डमाला र हातमा कपाल, पास हुनु आफैँमा अद्वितीय नमुना मान्न सकिन्छ । हनुभैरव मूर्तिको उचाइ २८ इन्च र चौडाइ २४ इन्च रहेको छ । पादपीठदेखि यसको उचाइ ३४ इन्चको छ । मूर्तिको गोडा १६ इन्च फाट्टाइको छ । मूर्तिको एक मुख नृसिंह आकृतिमा पछाडिपट्टि देखाइएको छ । लामो पुच्छर पनि त्यतैपट्टि देखाइएको छ । पुष्प मुकुटमा चत्रलजडित देखिन्छ । धोतीको मुजाले तल पादपीठलाई छुनेगरी लत्रिएको छ ।
गुफामा तपस्या गरेर बस्ने अमर गिरीले यो मूर्ति राजा राजेन्द्रविक्रमका पालामा विसं १८९८ मा स्थापना गराएको कुरा त त्यसै मूर्तिको पादपीठमा लेखिएको अभिलेखले स्पष्ट हुन्छ । अमरनाथ गिरी रामभक्त भएका भए किन उनले रामचन्द्रको मूर्ति स्थापना नगरी हनुभैरवको मूर्ति स्थापना गरे भन्ने प्रश्न उठ्न सक्छ । उनी त्यस गुफामा बसेर तपस्या गर्दा किन भगवान् शङ्करकै मूर्ति स्थापना गरेनन् र यस्तो अद्भुत हनुभैरवको मूर्ति स्थापना गरे भन्ने प्रश्न धेरै उठ्न सक्छन् । हुन त यो रहस्य खोजीकै विषय पनि हो । प्राचीन र मध्यकालीन तŒव खासगरी उपत्यका तन्त्रशास्त्रको उद्गम र बलियो आधारभूमि हो । यहाँका १६ हाते गणेश, कालभैरव, आकाश भैरव, पचली भैरवको घ्याम्पो, गुह्येश्वरी पीठलाई उदाहरणका रूपमा लिन सकिन्छ । तन्त्रको प्रभावमा नेपालमण्डलमा यस्ता धेरै मूर्ति बनेका छन् । गोकर्ण उत्तरबाहिनीको यो हनुमान मूर्ति हनुभैरव मूर्ति हो । पञ्चमुखी हुन भैरवले सबै प्रकारको आर्थिक, मानसिक र शारीरिक सुख प्रदान गर्छन् । हनुमानको पूजाले मात्रै सबै देवताको पूजा गरेको फल प्राप्त हुनेछ । हनुमानको तीन आँखाले आध्यात्मिक, आदिदैविक तथा आदिभौतिकि ताप छुटाउँछन् । अहिलेसम्म रहस्यमा रहेको हनुभैरवको मूर्ति नेपाली मूर्तिकलाको उत्कृष्ट नमुना हो भन्न सकिन्छ भने यस क्षेत्रका अनुसन्धातालाई एउटा रहस्यको विषय पनि हो । यस क्षेत्रमा अझै बढी अनुसन्धान हुँदै जाने विश्वास छ ।