काठमाडौँ महानगरले हटायो खुलामञ्चका टहरा

maitrinews

 

काठमाडौँ । काठमाडौं महानगरपालिकाले खुलामञ्च खाली गराउन सुरु गरेको छ । महानगरले बुधबार बिहान डोजर लगाएर खुलामञ्चका टहराहरू भत्काइदिएको हो ।उपमेयर हरिप्रभा खड्गीले तत्काललाई बसपार्क मात्र रहन दिने गरी खुलामञ्च खाली गर्न लागिएको बताइन् । उनका अनुसार दरबार हाइस्कुल पुनर्निर्माणमा खटिएका चिनियाँ ठेकेदार र वीर अस्पतालले बनाएका संरचना भत्काइएका हुन् ।

‘पत्राचारपछि साना सामग्री उनीहरूले नै लगेका छन्, ठूला संरचना मात्र हामीले भत्काएका हौं,’ उनले भनिन्, ‘चिनियाँ ठेकेदारका संरचना हामी आउनुअघि नै बनेका हुन् । वीर अस्पताललाई भने महानगरले नै निर्माण सामग्री राख्न अनुमति दिएको थियो ।’

अहिले दुवै भवन तयार भइसकेकाले संरचना हटाउन पत्राचार गरिएको खड्गीले बताइन् । उनका अनुसार काठमाडौं भ्युटावर बनिसकेपछि बसपार्क पनि पुरानै ठाउँमा सारेर खुलामञ्चलाई पहिलेकै स्वरूपमा ल्याइनेछ ।

दरबार हाइस्कुल निर्माणमा खटिएका चिनियाँ ठेकेदारले मजदुरहरू राख्न ती टहरा आवासका रूपमा प्रयोग गर्दै आएका थिए । यसबाहेक सवारी पार्किङका कारण पनि खुलामञ्च साँघुरिएको छ । त्यहीँ ब्याडमिन्टन कोर्टसमेत बनाइएको छ ।

पुरानो बसपार्कले पनि खुलामञ्चको आधी भाग ओगटेको छ । पुरानो बसपार्कमा टावर बनाउन बसपार्क खुलामञ्चमा सारिएको हो । खुलामञ्चमा ठाउँ नभएपछि राजनीतिक पार्टीका सभासम्मेलन सडकमा हुन थालेका छन् । यसले पछिल्ला दिन काठमाडौंको ट्राफिक व्यवस्थापनसमेत प्रभावित हुने गरेको छ ।
खुलामञ्च खाली गराउन ‘अकुपाई टुँडिखेल’ का अभियन्ताहरूले दबाब दिँदै आएका थिए ।