सेना राष्ट्र रक्षाका लागि सक्षम : प्रधानसेनापति

maitrinews

 

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल राष्ट्रको रक्षाका लागि सक्षम तथा समर्पित रहेको बताएका छन् । सेनाद्वारा आयोजित ‘सांगठनिक परिवर्तनको सुदृढीकरण तथा दिगोपनासम्बन्धी’ चारदिने सेमिनारको समापन गर्दै प्रधानसेनापति थापाले भने, ‘नेपाल विश्वकै पुरानो राष्ट्र रहेको र नेपाली सेना एसियाकै सबैभन्दा पुरानो भएको इतिहास छ । नेपाली सेना राष्ट्र रक्षाका लागि सक्षम तथा समर्पित छ ।’

उनले परिवर्तन सुरुआत गर्न आज जत्तिको उपयुक्त समय कहिल्यै नहुने वास्तविकता सबैले आत्मसात् गरेमा आ–आफ्नो क्षेत्र वा संगठनमा परिवर्तनको वाहकको भूमिका निर्वाह गर्न सक्षम हुने बताए ।

उनले परिवर्तन संस्कृतिको निर्माण गर्ने सम्पूर्ण जिम्मेवारी नेतृत्वको नभए पनि परिवर्तनको अंकुरण गराउने तथा परिवर्तनलाई सुदृढ बनाउँदै संगठनको भविष्य कोर्ने जिम्मेवारी वर्तमान नेतृत्व वर्गको रहेको बताए ।

परिवर्तन प्रबन्ध गर्ने रणनीति सफलताका लागि नेतृत्व वर्ग आफैंमा स्पष्टता, शुद्धता, इमानदारिता, निष्ठा, नैतिकता र पारदर्शिता हुनुपर्ने धारणा उनले राखेका थिए ।