मैले राजीनामा दिनुपर्ने कुनै कारण छैन : खरेल

 

काठमाडौँ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको प्रस्ट पार्नुभएको छ । मंगलबार बिहानैदेखि राजीनामा दिएको हल्ला आएपछि उहाँले आफूले राजीनामा नदिएको र दिनुपर्ने परिस्थिति पनि नरहेको बताउनुभयो ।

‘अहिले महान्यायाधिवक्ताले राजीनामा दिने परिस्थिति पनि होइन, राजीनामा दिएको पनि होइन,’ उहाँले भन्नुभयो, ‘राजीनामा दिने सोच पनि छैन ।’

महान्यायाधिवक्ताले राजीनामा गर्‍यो भन्ने विषय आउँदा मिडियाले आफूलाई एकपटक पनि नसोधी समाचार सम्प्रेषण गरेको भन्दै यसमा आफूलाई दुस्ख लागेको उहाँले बताउनुभयो । अहिलेको परिस्थितिलाई आफूअनुकूल बनाउन चाहनेहरूबाट यस्तो हल्ला आएको महान्यायाधिवक्ता खरेलले दाबी गर्नुभयो ।

आफूले अदालतमा गरेको बहसप्रति प्रधानमन्त्री सन्तुष्ट रहेको उल्लेख गर्दै मिडियामा आएका विभिन्न हल्ला निराधार रहेको पनि उहाँले स्पष्ट पार्नुभयो । ‘प्रधानमन्त्रीले मलाई बोलाएरै, करिब ६ ,७ दिनको बहसको कतिपय पाटापक्षलाई उहाँले सुनेर, तपाईंहरूले राम्रो गर्नुभएछ, धन्यवाद छ । परिणाम आफ्नो ठाउँमा छँदै छ तर जे भए पनि तपाईंहरूको तर्फबाट गरिने डिफेन्स राम्रो ढंगले भयो । हामीले आशा गरेकै परिणाम सकारात्मक हुन सक्छ भन्ने कुरा उहाँले मलाई भन्नुभएको थियो ।’, उहाँले भन्नुभयो । यही कुरालाई प्रधानमन्त्रीले असन्तुष्टि जाहेर गरेको भन्दै, कतै स्रोत नखुलेको भनेर मिडियामा आएको पाइएको खरेलले बताउनुभयो ।